ad ad

राजनीति


‘रोजगारमा जाने नेपालीलाई आतंकवादीले प्रयोग गर्न सक्छन्’

‘रोजगारमा जाने नेपालीलाई आतंकवादीले प्रयोग गर्न सक्छन्’

दीपक खरेल
असार २, २०७६ सोमबार १५:३७,

श्रीलंकाको राजधानी कोलम्बोमा बैशाख पहिलो साता भएको श्रृंखलावद्व आक्रमणले नेपालपनि आतंकबादीको ‘सफ्ट टारगेट’ हुनसक्ने बिश्लेषण सुरक्षा निकायले गरेका छन्।

श्रीलंकाको राजधानी कोलम्बोमा इस्टर सन्डेका दिन भएको श्रृंखलावद्व बम आक्रमणको बिस्तृत अध्ययन गरेका प्रध्यापकको सहभागितामा सम्पन्न बैठकको प्रमुख बिषय ‘नेपालको सुरक्षा प्रवन्ध कति मजबुत’ भन्नेमा केन्द्रित थियो।

बैठकमा आतंकवाद विश्वको कुनै एक देशको समस्या नभएकाले सहकार्य, समन्वय र सहयोग आदानप्रदानलाई निरन्तरता दिँदै अघि बढ्न समेत सहमति जनाए।

काठमाडौंमा आइतबार कोलम्बो आक्रमणसँगै राष्ट्रिय सुरक्षामा प्रतिआतंकवादका विषयमा समिक्षा गर्न भेला भएका नेपालस्थित विभिन्न देशका राजदूत, प्रतिनिधी, सुरक्षा निकायका प्रतिनिधी र सुरक्षा बिश्लेषकले आतंकवाद र आतंकवादीको परिभाषा फेरिएको बताएका हुन्।

नेपाली सेनाले पहिलो पटक आयोजना गरेको डायलग अन नेशनल सेक्युरिटी काउन्टर टेरोरिजम सम्बन्धी अन्तरक्रियामा सहभागी पश्चिमा देशका प्रतिनिधीले ‘मध्यपूर्व’ बाट फर्कने नेपाली कामदारलाई निगरानीमा राख्दै उनीहरुका गतिविधीको अध्ययन जरुरी रहेको टिप्पणी गरेका थिए।

विशेषगरी पश्चिमा देशका प्रतिनिधीहरुले नेपालबाट वैदेशिक रोजगारका लागि खाडी तथा मध्यपूर्व देशमा जाने कामदारलाई निगरानीमा राख्नुपर्ने उनीहरुको धारणा थियो।

‘मध्यपूर्व आतंकबादको केन्द्र बन्दै गएको छ,’ फ्रान्सका प्रतिनिधीको भनाई उदृत्त गर्दै बैठकमा सहभागी एकजना सैन्य अधिकारीले भने ‘रोजगारमा जाने कामदारलाई आतंकवादीले प्रयोग गर्न सक्छन, यसमा नेपाल विशेष चनाखो हुनुपर्छ।’ उनले फ्रान्समा चार वर्षअघि भएको आतंकवादी आक्रमणको बिश्लेषण गर्दै आफ्नो धारणा राखेका थिए।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शुभारम्भ गरेको एकदिने अन्तरक्रियामा श्रीलंकका सुरक्षा विशेषज्ञ प्रोफेसर डाक्टर रोहन गुणरत्नेले कोलम्बो आक्रमणको अन्तर्य खोतलेका थिए।

उनले कोलम्बो आक्रमण अघिसम्मको आतंकवादी आक्रमणमा संलग्नहरु गरिब, अशिक्षित र कट्टरपन्थी हुन्छन् भन्ने विश्व मान्यता मिथ्या भएको बताए। उनले कोलम्बो आक्रमणमा संलग्नहरुको परिचय खुलेसँगै विश्वले प्रतिआतंकवादलाई नयाँ ढंगले बुझ्न र सोही अनुसारको सुरक्षा प्रवन्ध गर्न सुझाए।

कोलम्बो आक्रमणमा त्यहाँका धनाढ्य मसला ब्यापारीको संलग्नता खुलेको थियो।

‘हाम्रो तयारी विश्व परिवेशसँग मिल्दो भएको छ कि छैन भन्ने बिषयमा अन्तरक्रिया केन्द्रित थियो,’ नेपाली सेनाका अवकाश प्राप्त रथी बालानन्द शर्माले नेपालखबरसँग भने ‘हामी पनि अछुतो छैनौं, सेनाले आतंकवादबाट प्रभावित देशका प्रतिनिधीलाई एकैठाँउमा भेला गरेर अनुभव साटासाट गरेको हो।’ उनले घटनापछि भन्दा घटना पूर्व नै तयारी र अन्तरक्रिया गर्नु आवश्यक रहेको औँल्याए।

‘मान्छे मरिसकेपछि शहिद भन्नु अघि त्यो घटना रोक्नु सबैको दायित्व हो,’ रथी शर्माले भने ‘सेनाले केही ढिलो भएपछि राम्रो कार्यक्रमको आयोजना गरेको थियो।
कार्यक्रममा ईजरायलका राजदूत बेन अमरले आफ्नो देशमा आतंकवादले खडा गरेको चुनौति र त्यसको निराकरणको लागि चालिएका कदमहरुबारे जानकारी गराएका थिए। उनले आतंकवाद बिरुद्धको तयारीमा इजरायली सेना चौबिसै घण्टा तयार रहने बताएका थिए।

‘श्रीलंका भएको आतंकवादी आक्रमणपछि विश्वलाई ध्यान केन्द्रित गर्न आतंककारी संगठनको निशानामा जुनकुनै देश रहेछ भन्ने देखियो,’ सुरक्षा बिश्लेषक तथा सांसद दिपकप्रकाश भट्टले नेपालखबरसँग भने ‘नेपालले गरेको तयारीलाई सच्चाउने र थप्ने अवसर अन्तरक्रियाले दिएको छ।’

अमेरिकी प्रतिनिधीले न्यूयोर्कको ब्यापारिक केन्द्रमा भएको आतंकबादी आक्रमणको सम्झनागर्दै आतंकबाद बिरुद्धको संकेत र सानो सूचना समेत पच्छयाउन चुक्न नहुने धारणा राखेका थिए। अन्र्तक्रियामा सहभागी नेपालस्थित विभिन्न देशका राजदूतहरुले उनीहरुको देशमा आतंकबाद बिरुद्धको तयारीका लागि गरिएका ब्यवस्थाका बिषयमा जानकारी गराएका थिए।

‘तीनवटा ‘स’(सहकार्य, समन्वय र सहयोग) का साथ अघि बढेमात्र आतंकबाद बिरुद्धको अभियान सफल हुने निचोडमा अन्तरक्रिया सम्पन्न भएको छ,’ सैनिक प्रवक्ता सहायक रथी बिज्ञानदेब पाण्डेले भने ‘हामीले राष्ट्रिय, क्षेत्रिय र अन्तर्राट्रिय तहमा कस्तो तयारी गरेका छौं भन्ने बिश्लेषण भएको हो।’

प्रवक्ता पाण्डेले प्रतिआतंकबाद बिरुद्ध आन्तरिक र बाह्य सुरक्षा प्रवन्ध र त्यसमा भएका कमि कमजोरीका बिषयमा समेत समिक्षा भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .