ad ad

राजनीति


जुम्लाका सांसद महतकाे खुलासा: न्याय माग्न जनता विप्लवकहाँ जान थाले

जुम्लाका सांसद महतकाे खुलासा: न्याय माग्न जनता विप्लवकहाँ जान थाले

नेपालखबर
असार २, २०७६ सोमबार ११:३७,

सत्तारुढ दल नेकपाकै सांसदले गृहमन्त्रालयलाई अजिंगरको संज्ञा दिएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजित विधेयक २०७६ माथिको छलफलमा सहभागी हुँदै नेकपाका सांसद गजेन्द्र बहादुर महतले अधिकार धेरै भएपनि गृहमन्त्रालयले त्यसको उपयोग गर्न नसकेको बताएका हुन्। उनले गृहमन्त्रालयलाई ‘अजिंगरको’ संज्ञा दिए। उनले भने, ‘म त गृहमन्त्रालय कस्तो देख्छु भने ‘अजिंगर’ जस्तो। नजिक आए खाईदिने टाढा गएर शिकार नगर्ने। अहिले हाम्रो गृहमन्त्रालय यस्तो छ।’

प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयले राम्रोसँग काम नगर्दा सर्वसाधारण सरकारले नै प्रतिबन्ध लगाएको विप्लव समुहसँग न्याय खोज्न जाने गरेको खुलासा समेत उनले गरे।उनले भने, ‘७७ वटै जिल्लाका सिडियो छन्। प्रहरी प्रमुखहरु छन्। उनीहरुलाई निर्देशन दिने हो धेरै काम हुन्छ। भ्रष्टाचार आधा कम हुन्छ। जनताको आधा समस्या हल हुन्छ। मान्छेहरुले विप्लवकोमा ‘ओइ मेरो मुद्दा हेरि दे’ भन्न जानु पर्दैन।’

भ्रष्टाचार नियन्त्रणमा अहिले पनि कमि नआएको भन्दै उनले जनताको र देशको पक्षमा काम गर्ने सिडिओ पठाउने व्यवस्था गर्न गृहमन्त्रालयको ध्यानाकर्षण गराए।

उनले भने, ‘गृहमन्त्रालयले चाह्यो भने दुईतिहाईको सरकारलाई चाँडो भन्दा चाँडो रिजल्ट दिन सक्छ। यो त न जनतासँग जोडिएको छ न जनप्रतिनिधिसँग जोडिएको छ। कसरी चलिरहेको छ?

उनले क्षमतावान व्यक्तिहरुलाई जिल्ला पठाउन पनि सुझाए। उनले भन, ‘सिडीओ अलि छानेर पठाउनुपर्यो नि। नेकपाको प्रतिनिधि पठाउनु भन्या होइन। अलि क्यापेबल पठाउनुहोस्। त्यहाँ गएर खाली चिया खाएर गफ गर्ने, गाई चराउन जाने सिडिओ हामीलाई चाहिएको छैन। हामीसँगै टक्कर दिने सिडिओ चाहियो के।’

सांसद महतले नेपाल टेलिकमका कर्मचारीले एनसेलसँगको मिलेमतोमा आफ्नो सेवाको गुणस्तरमा कमि ल्याउने काम गरेको उल्लेख गर्दै त्यसतर्फ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .