ad ad

राजनीति


भुटान अझै बीबीआइएन विपक्षमा, चीनसँग कुटनीतिक सम्बन्ध नजोड्ने

भुटान अझै बीबीआइएन विपक्षमा, चीनसँग कुटनीतिक सम्बन्ध नजोड्ने

नेपालखबर
असार २, २०७६ सोमबार ९:१३,

भुटानले दक्षिण एशियाका चार देशलाई जोड्ने बीबीआइएन (भुटान, बंगलादेश, भारत र नेपाल) मोटर भेइकल सम्झौता तत्काल अघि नबढाउने भएको छ।

भारतको अगुवाइमा दुई वर्षअघि आएको यो सम्झौता भुटानका कारण कार्यान्वयनमा आउन सकेको छैन। भुटानी प्रधानमन्त्री लोटे छिरिङले सम्झौता भुटानी संसदबाट पारित हुन कठिन रहेको बताए छन्।

‘म मुखले जे भन्न वा प्रतिवद्धता व्यक्त गर्नुसक्छु तर यो एउटा यस्तो विषय हो जसमा हामी चाँडै अघि बढ्न सक्दैनौं,’ भारतीय पत्रिका द हिन्दुलाई अन्तर्वार्ता दिँदै उनले भनेका छन्।

२०७४ मंसिरमा काठमाडौमा भएको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलनमा पूरै क्षेत्रमा मोटर भेइकल सम्झौता गर्न भारतले चाहेको थियो। पाकिस्तानले विरोध गरेपछि त्यो रोकिएको थियो। त्यसलगत्तै भारतको अगुवाइमा भुटान, बंगलादेश, भारत र नेपालबीच उप क्षेत्रीय रुपमा यो सम्झौता भएको थियो। सम्झौतालाई भुटानको संसदले अस्वीकृत गरिदिएको थियो।

नेपाल, भारत र बंगलादेशले अनुमोदन गरेको सम्झौता भुटानबाट अनुमोदन नहुँदा अलपत्र अवस्थामा छ। सवारी साधनको अनियन्त्रित प्रवेशले वातावरणमा नकारात्मक असर गर्ने निष्कर्षसहित भुटानी संसदले सम्झौता अस्वीकृत गरेको थियो।

युनाइटेड पार्टीका तर्फबाट नोभेम्बरमा सत्तामा आएका प्रधानमन्त्री लोटे छिरिङले दुई वर्षपछि पनि सो सम्झौता भुटानी संसदबाट पारित गर्ने अवस्था नरहेको स्पष्ट पारेका हुन्। ‘म जे भन्न वा प्रतिवद्धता व्यक्त गर्नु सक्छु तर यो यस्तो विषय हो यसमा हामी चाँडै अघि बढ्न सक्दैनौं,’ उनले भनेका छन्।

नेसनल एसेम्बलीमा सम्झौताविपक्षमा मत राख्ने पिपल्स डेमोक्रेटिक दल अहिले अझ बलियो भएको छ। नोभेम्बरको निर्वाचनपछि सो दल विपक्षमा छ।

प्रधानमन्त्री लोटे स्वयलें पनि यो मुद्दा उठाउँदै आएका छन्। ‘हाम्रो आर्थिक विकासका लागि कनेक्टिभिटी आवश्यक छ भन्नेमा विश्वास गर्दछौं तर यो समझदारी गर्नेमध्ये भुटान सबैभन्दा सानो देश हो। हामी वातावरणमा संरक्षणमा धेरै प्रवितद्ध छौं,’ उनले भनेका छन्। आर्थिक फाइदा तथा पर्यावरण, परम्परा र संस्कृति संरक्षण गर्ने चाहनाबीच सन्तुलन हुनुपर्ने उनको तर्क छ।

सार्कको सान्दर्भिकता बाँकी छ
प्रधानमन्त्री लोटेले अहिले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सान्दर्भिकता सकियो भनेर भन्न चाँडो हुने बताए। ‘सार्कसँग हाम्रो लामो इतिहास र भावना गाँसिएको छ। दक्षिण एशिया क्षेत्रको रुपमा विकास गर्न हामी मिलेर काम गर्नुपर्छ भन्नेमा विश्वास गर्छु,’ उनले भने, ‘भूगोलको रुपमा यो समूह एकै स्थानमा छ तर आर्थिक क्षेत्र मिलेर राम्रो गर्न सकिरहेको छैन।’

भारत–पाकिस्तान विवादका कारण पछिल्लो समय सार्क निस्क्रिय छ। भारतले बहिस्कार गर्ने घोषणा गरेपछि पाकिस्तानमा तीन वषअघि हुनुपर्ने सम्मेलनमा हुन सकिरहेको छैन। भारतले सार्कको साटो आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)लाई अघि बढाउन चाहेको छ। लोटेले भारत र पाकिस्तान मिलेर अघि नबढुञ्जेलसम्म यो क्षेत्र अघि बढ्न नसक्ने उल्लेख गरे।

भुटान र चीनबीच विवाद भएको दोक्लम क्षेत्रमा कसैले पनि एक पक्षीय रुपमा भौतिक संरचना निर्माणदेखि अन्य कुनै गतिविधि गर्न नहुने उनको धारणा छ।

 

चीनसँग कुटनीतिक सम्बन्ध स्थापना हुँदैन
‘चीनसँगको वार्तामा सीमाको अहिलेको अवस्थालाई यथावत रहनु दिनुपर्छ भन्ने हाम्रो अडान रहँदै आएको छ। कुनै पनि पक्षले सीमा तर्फको अर्को पक्षलाई जानकारी नगराई केही पनि गर्नु हुँदैन। एकलौटी रुपमा अघि बढे र एकलौटी एजेण्डा हिँडे समस्या आइहाल्छ,’ उनले भनेका छन्, ‘सीमा विवादबारे चीनसँग चौबीसौं चरणमा वार्ता भएको छ। जबसम्म अहिलेको यथास्थिति कायम रहन्छ यो क्षेत्रमा शान्ति र अमन हुन्छ।’

भुटान र चीन दुवैले आफ्नो भएको दाबी गर्ने विवादित भूभाग दोक्लममा चीनले सडक निर्माण गर्न खोजेपछि दुई वर्षअघि विवाद भएको थियो भुटानलाई सघाउन भारतीय सेना दोक्लम गएको थियो। सो घटनापछि चीन र भारतबीच तनाब चुलिएको थियो। ७३ दिनमा सहमति भएपछि भारतीय सेना पछि हटेको थियो।

भुटानी प्रधानमन्त्रीले चीनसँग जारी २४ औं चरणका वार्तामा धेरै प्रगति भएको र एकअर्कालाई बुझ्न सहयोगी भएको उल्लेख गरेका छन्। उनले चीनसँग कुटनीतिक सम्बन्ध स्थापना नीति नभएको स्पष्ट पारे। चीनसँग कुटनीतिक सम्बन्ध स्थापना गर्ने विषय अघि बढेको हो भन्ने प्रश्नमा उनले भनेका छन्, ‘होइन, भुटानको पी फाइभ (राष्ट्र संघीय सुरक्षा परिषदमा पाँच स्थायीय सदस्य राष्ट्र) सँग कुटनीतिक सम्बन्ध नराख्ने नीतिमा छ। चीन अन्य पी फाइभ देशभन्दा फरक हो किन भने उसँग हाम्रो भौगोलिक सीमा जोडिएको छ तर हामीजस्तो सानो तथा अल्पविकसित देशले ठूलो देशसँगका सम्बन्धमा खर्च गर्न सक्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .