राजनीति


राष्ट्रपति भण्डारीले राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्ने

राष्ट्रपति भण्डारीले राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्ने

नेपालखबर
असार १७, २०७८ बिहिबार ७:५७,

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्ने भएकी छिन्।

स्रोतका अनुसार भण्डारीले आगामी आइतबार वा सोमबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्न लागेकी हुन्।

बिहीबार बसेको राष्ट्रियसभा कार्यव्यवस्था समितिको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले त्यसबारे संकेत गरेका थिए।

‘अध्यक्ष ज्यू,ले आजको बैठकमा राष्ट्रपतिले सम्बोधन गर्न लागेको संकेत गर्नुभयो,’ माओवादी केन्द्रका राष्ट्रिय सभा सांसद दिनानाथ शर्माले तिमल्सिनाको भनाई उधृत गर्दै नेपालखबरसँग भने, ‘तपाईहरुलाई पत्र एक, दुई दिनमै आउँछ।’

नेपालको इतिहासमा राष्ट्रपतिबाट राष्ट्रिय सभाको मात्रै बैठकलाई सम्बोधन गर्न लागेको यो पहिलो पटक हो।

यसअघि राष्ट्रपतिले प्रतिनिधि सभा र राष्ट्रिय सभाको दुबै संयुक्त बैठकलाई सम्बोधन गर्ने परम्परा थियो।

‘अहिलेसम्म राष्ट्रपतिबाट संयुक्त सदनलाई सम्बोधन गर्ने गरिएको छ,’ एक राष्ट्रिय सभा सदस्यले भने, ‘एकल सदनलाई मात्र सम्बोधन गर्न लागेको यो पहिलो अभ्यास हो।’

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ७ गते प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेपछि जेठ ८ गते भण्डारीले विघटन गरेकी थिइन्।

प्रतिनिधि सभा नभएकोले राष्ट्रिय सभामा राष्ट्रपतिले सम्बोधन गर्न लागेको बताइएको छ।

यद्यपि यो अभ्यास भने पहिलो पटक भएकोले दलहरुले पत्र प्राप्त भएपछि मात्र प्रतिक्रिया दिने बताएका छन्।

संविधानको धारा ९५ को उपधारा १ ले राष्ट्रपतिलाई राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्ने ईच्छा भएमा पाउने व्यवस्था गरेको छ।

धारा ९५ (१) भनिएको छ,‘राष्ट्रपतिले संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्ने छ।’

तर, धारा ९५ को उपधारा २ लाई हेर्ने हो भने राष्ट्रपतिले प्रतिनिधिसभाको अधिवेशनलाई र संयुक्त सदनको बैठकलाई सम्बोधन गर्ने किटेर लेखिएको छ।

संविधानको धारा ९५ (२) मा भनिएको छ,‘राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय सदनको दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad