ad ad

राजनीति


तीन नेताको ‘लन्च मिटिङ’- सभापतिमा सहमति कि पदाधिकारीको बार्गेनिङ?

तीन नेताको ‘लन्च मिटिङ’- सभापतिमा सहमति कि पदाधिकारीको बार्गेनिङ?

सागर न्यौपाने
असार १५, २०७८ मंगलबार १३:९,

महाधिवेशन नजिकिँदै गर्दा नेपाली कांग्रेसको सभापति पदका आकांक्षी नेताबीचको भेटघाट बाक्लिँदै गएको छ।

उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र नेता प्रकाशमान सिंहले सभापति देउवाको विकल्प खोज्ने भन्दै आपसी छलफललाई तीव्रता दिएका छन्। गएको ११ दिनको अवधिमा उनीहरुले पालैपालो तीनै नेताको घरमा ‘लन्च मिटिङ’ गरे।

उनीहरुले असार ४ गते पार्टी कार्यालय सानेपाबाट भेटघाट सुरु गरेका थिए। यी तीनै जना कांग्रेसको अघिल्लो पुस्ताका नेताका सन्तान हुन्।

तीनै जनाको घरमा एकएक पटक छलफल सकेपछि उनीहरुले दोस्रो चरणको रणनीति बनाउन फेरि जुट्ने समझदारी गरेका छन्।

उनीहरुबीच गत महाधिवेशनमा सभापति उम्मेदवार बनेका बाहेकसँग र केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने समझदारी बनेको छ। कांग्रेसमा आमन्त्रितसहित अहिले १ सय २५ केन्द्रीय सदस्य छन्।

सभापति शेरबहादुर देउवालको विकल्प खोज्नेगरी तीन नेताले सुरु गरेको यस्तो छलफल अहिले कांग्रेसका अन्य समूहले पनि गरिरहेका छन्।

असार १४ गते नेतृ सुजाता कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासँग आफ्नै निवास मण्डिखाटारमा डेढ घण्टा छलफल गरिन्।

असार ११ गते वरिष्ठ नेता रामचन्द्र पौडेलले थुप्रै युवासहित पार्टीका नेताहरुलाई दियालो फुडल्यान्डमा भेला गराए। लामो भनाइ राखेपछि उनले नेताहरुको प्रतिक्रिया पनि सुने।

‘सभापति शेरबहादुरको विकल्प खोज्ने सुरुवात तीन जनाबाट भयो,’ एक नेताले भने, ‘यो पटक पार्टीमा नेतृत्वको विषय नयाँ ढंगबाट अगाडि बढिरहेको छ।’

कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै नेतृत्वका आकांक्षीहरुले भेटघाट र छलफललाई तीव्रता दिएका छन्। आगामी भदौ १६ देखि १९ सम्म काठमाडौंमा महाधिवेशन भय भएको छ।

तर, कांग्रेसको अहिलेसम्म क्रियाशील सदस्यताको टुंगो लाग्न सकेको छैन। अझै २४ जिल्लामा सदस्यताको विवाद कायमै छ। सदस्यता टुंगो लगाउन असार मसान्त सम्मको समय दिइएको छ।

नेताहरु भने पदमा दाबी प्रस्तुत गर्न र समीकरण बनाउन सक्रिय भएका छन्।

समूह–समूहमा भएका यस्ता छलफल र बैठकको राजनीतिक अर्थ के हो त?

कांग्रेसका युवा नेता गुरु घिमिरेले महाधिवेशनको संघारमा नेताहरुबीच भेटघाट हुनु सामान्य भएपनि अहिले भइरहेका बैठक रणनीतिक रहेको बताए।

‘नेतृत्वमा आउन खोज्ने व्यक्तिले कुन बाटोबाट पुग्न सकिन्छ भनेर बाटो खोज्छ,’ घिमिरेले नेपालखबरसँग भने, ‘त्यसमध्ये कतिपय विरासत जोगाउन लागेका छन्। कोही विगतमा पदाधिकारी भएकाहरु अब नेतृत्वमा पुग्ने योजनासहित छलफलमा छन्। कोही समयसापेक्ष, कार्यकर्ताको भावना र राष्ट्रिय आवश्यकता अनुसार नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने पनि छन्। यी विभिन्न फ्याक्टरहरुको बीचमा विभिन्न थरीका नेताहरुसँग विभिन्न चरणमा छलफलहरु भइरहेका छन्।’

निधि, कोइराला र सिंहबीचको भेटघाट सोही योजनासहित भएको घिमिरेले बताए।

‘नेता पुत्रहरुबीच भइराखेको छलफल त्यही नेतृत्व हात पार्ने योजना हो,’ घिमिरेले थपे, ‘उपसभापति विमलेन्द्र दाइले आफ्नै गुट बनाएर त्यहाँभित्र छलफल गरिराख्नुभएको थियो अहिले बाहिरै नेताहरुसँग गर्नुभएको छ।’

फेरि सभापति बन्न शेरबहादुर देउवाले पनि छलफललाई तीव्र पारेका छन्। उनले आफ्नो गुटमा मात्र होइन, वरिष्ठ नेता रामचन्द्र पौडेललाई समेत सन्तुलनमा लिने योजना अनुसार काम गरिरहेको एक नेताले जानकारी दिए।

कतिपयले भने पदको बार्गेनिङका लागि मात्रै पनि उम्मेदारी घोषणा गरिरहेको कांग्रेसका नेताहरु बताउँछन्।

‘महाधिवेशनमा आफ्नो स्थान सुरक्षित गर्ने योजनामा केही नेताहरु हुनुहुन्छ,’ एक नेताले भने, ‘सभापति हुने वा अन्य पदमा सुरक्षित गर्न पनि यस्ता छलफलहरु भइरहेका छन्।’

कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले महाधिवेशन नजिकिएसँगै कोठे बैठक बढ्न थालेको बताए। आ–आफ्ना योजनालाई सफल बनाउने प्रयासमा नेताहरु लाग्नुभएको छ, कतिले बाहिर चर्चा चलाएका छन्, कतिले छैनन्,’ देउवा पक्षीय नेता डा. महतले नेपालखबरसँग भने,‘नेताका छोराहरुको नाममा भएका छलफलले ती भन्दा राम्रा नेताहरु छन् भन्ने कुरा ओझेल पार्नु हुँदैन।’

अहिलेसम्म सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह, शेखर कोइराला, सुजाता कोइराला र कल्याण गुरुङ लगायतले कांग्रेसको सभापतिमा दावी पेश गरेका छन्।

यी नेताहरुले नेतृत्वमा आफूलाई कसरी सुरक्षित गर्ने भनेरै गृहकार्य गरिरहेको उनीहरुनिकट नेताहरु बताउँछन्।

कांग्रेसको १३ औँ महाधिवेशनमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण सिटौलाबीच प्रतिस्पर्धा भएको थियो। पहिलो चरणमा कसैले पनि पचास प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदानमा गएको थियो।

कांग्रेसको विधानअनुसार सो पार्टीको सभापति बन्न लागि पचास प्रतिशत भन्दा बढी मत ल्याउनै पर्छ।

उम्मेदवार कसैले पनि आवश्यक मत प्राप्त गर्न नसकेको अवस्थामा सबैभन्दा बढी मत ल्याउने दुई जना प्रतिस्पर्धीबीच दोस्रो चरणमा मतदान हुन्छ र सभापति छानिन्छ।

तीनै जनाको एकमतः देउवाको विकल्प खोज्नै पर्छ
निधि, कोइराला र सिंहबीच अहिलेसम्म सभापति कसलाई बनाउने भन्ने विषयमा सहमति भइसकेको छैन। तर उनीहरु यस पटक शेरबहादुर देउवालाई सभापति बनाउन नहुने भन्दै लबिङ गरिरहेका छन्।

उनीहरुको एउटै बुझाइ छ– ‘देउवाबाट पार्टी चल्दैन। उनको विकल्प खोज्ने उपयुक्त समय यही हो।’

निधिका प्रेस संयोजक रामजी दाहालका अनुसार निधि, कोइराला र सिंहको भेटको आधार नै देउवाको विकल्प खोज्ने सहमति हो।

‘शेरबहादुर देउवाबाट पार्टी चलेन, उहाँलाई अगाडि बढाउन हुँदैन, विकल्पको रुपमा आउनुपर्‍यो भनेर तीन नेताबीच भेटघाट सुरु गरिएको हो,’ उनले भने, ‘तर, छलफलमा रहेका तीनै जनाबीच नेतृत्वका विषयमा सहमति जुट्छ भन्ने चैँ छैन। खालि तल्लो तहमा सन्देश दिनको लागि उम्मेदवारी घोषणा गर्नुभएको हो। यसको सन्देश भनेको अब नेतृत्व हस्तान्तरण हुनुपर्छ र आगामी नेतृत्व हामीले लिनुपर्छ भन्ने हो।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .