ad ad

राजनीति


सिन्धुपाल्चोक बाढी : बेपत्ता खोजी गर्न ३ सय ५० सुरक्षाकर्मी परिचालन

सिन्धुपाल्चोक बाढी : बेपत्ता खोजी गर्न ३ सय ५० सुरक्षाकर्मी परिचालन

उजिर कार्की
असार ३, २०७८ बिहिबार १२:११,

सिन्धुपाल्चोकको बाढी पहिरोमा बेपत्ता भएकाहरुको खोजीका लागि ३५० जना सुरक्षाकर्मी परिचालन गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार अझै तीन विदेशीसहित १७ जना बेपत्ता छन्।

खोजी तथा उद्धारका लागि १३७ जना नेपाली सेना, ७८ जना नेपाल प्रहरी र १३५ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ। उनीहरु बाढी पहिरोले ठूलो क्षति गरेको हेलम्बु र मेलम्ची क्षेत्रमा खटिएका छन्।

नेपाली सेनाको २६ नं बाहिनीपतिको कमाण्डमा सेना खटिएको छ। कालीजंग गणको खोज तथा उद्धार टोली चनौटेमा ३८ जना, गोरख बक्स गण चौताराबाट तिम्बुमा २९ जना, कालीजंग गणको ३४ जनाको टोली मेलम्चीमा र नेपाल आर्मी हेली चनौटे र हेलम्बुमा ७ जनाको टोली खटिएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपीको कमाण्डमा ७८ जना प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालयबाट २० जना, इप्रका मेलम्चीबाट १५ जना, इलाका प्रहरी कार्यालय हेलम्बुबाट ८ जना, प्रहरी चौकी तालामाराङबाट ५ जना र विपद व्यवस्थापन गुल्म हेटौंडाबाट २५ जनाको टोली खटिएको छ।

मेलम्ची र हेलम्बुमा सशस्त्र प्रहरीका ५ वटा टोली परिचालन गरिएको छ। १६ नम्बर गण बन्देउबाट एसपीको कमाण्डमा ६१ जना मेलम्चीमा खटिएको छ भने, खानेपानी सुरक्षा वेस मेलम्चीबाट २९ जना र अर्को १५ जनाको टोली मेलम्चीमा परिचालन गरिएको छ। सशस्त्र प्रहरी सईको कमाण्डमा १५/१५ जनाको दुई वटा टोली हेलम्बुमा खटिएको प्रशासनले जनाएको छ।

बिहीबार दिउँसो ४ बजे सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले दिएको जानकारी अनुसार तीन जनाको मात्रै शव फेला परेको छ। उनीहरु दुई जना चिनियाँ र एक जना भारतीय नागरिक हुन्। चिनियाँ नागरिक गोङ टियान छियो र युचि झु र भारतीय नागरिक कमल लोचन महतोको शव फेला परेको हो।

महतोको शव सिन्धुलीको सुनकोशी गाउँपाहिलका ७ कानढुङ्ग्रीस्थित सुनकोशी नदी किनारमा फेला परेको हो। झुको शव सिन्धुलीको मुलकोटस्थित नदी किनारमा भेटिएको हो। छियोको भने घटनास्थलमै बुधबार फेला परेको थियो। तर सनाखत हुन सकेको थिएन।

दुई भारतीय र एक चिनियाँ नागरिक अझै बेपत्ता छन्। बेपत्ता हुनेमा भारतीय नागरिक विजय बासुमन्तरी, जिनडाओ बासुमन्तरी र चिनियाँ नागरिक सन यु चुवान रहेका छन्। उनीहरु सबै मेलम्ची खानेपानी आयोजनामा कार्यरत थिए। आफ्ना ६ जना कर्मचारी बेपत्ता भएको आयोजनाले जानकारी दिएको सहायक प्रमुख जिल्ला अधिकारी खनालले बताए।

बेपत्ता भएकाहरूमा हेलम्बु गाउँपालिका–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, ६६ वर्षीया टीकामाया खड्का, ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, हेलम्बु–३ की ५० वर्षीया साइली तामाङ, ६ का ५० वर्षीया च्याङा तामाङ, ४२ वर्षीया काली तामाङ रहेका छन्।

यसैगरी चौतारा साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल, रेसमलाल सार्की र हेमराज घिमिरे बेपत्ता छन्। थप चार जना पनि बेपत्ता भएको सूचना बिहीबार आएको छ।

हेलम्बु गाउँपालिका १ का ४५ वर्षीय सुनिल तामाङ, ३५ वर्षीय पूर्ण तामाङ, ५० वर्षीय कामी तामाङ र उनकी ७० वर्षीया आमा पनि बेपत्ता भएको जानकारी आएको प्रशासनले जनाएको छ।

यसअघि बेपत्ता भनिएका १९ वर्षीय बिमल खत्री भन्ने देव खत्री, १७ वर्षीय राम थापा, १६ वर्षीय सुवास जिरेल र १६ वर्षीय कमल खत्री सम्पर्कमा आएका छन्।

बाढी पहिरोमा परी एक चिनियाँसहित ५ जना घाइते भएका छन्। ८० जनाको उद्धार गरिएको छ।

प्रभावित क्षेत्रका बासिन्दा र सुरक्षाकर्मीलाई सुरक्षित स्थलमा सारिएको छ। हेलम्बुका २५० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

इप्रका हेलम्बु मेगा बैंकको भवनमा सरेको छ। मेलम्चीका तालामाराङका २५ परिवारलाई पनि सुरक्षित स्थानमा सारिएको छ। प्रहरीचौकी तालामाराङमा कार्यरतलाई तेर्से माविको होस्टलमा सारिएको छ। सशस्त्र प्रहरीको खानेपानी अस्थायी सुरक्षा पोष्ट बाढीले बगाएपछि गोल्मादेवी माविको भवनमा सारिएको छ।

बाढी पहिरो प्रभावितका लागि गृह मन्त्रालयले १०० वटा टेन्ट, २५० वटा त्रिपाल र ५० वटा स्लिपिङ ब्याग पठाएको छ।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालयबाट ४८ बोरा चामल, २ बोरा नुन, ५५ कार्टुन चाउचाउ, २३ बोरा चिउरा, १० कार्टुन तेल र ५ बोरा दाल पठाएको छ।

राहत सामग्री लिएर नेपाली सेनाका तीन, सिम्रिक एयर, कैलाश एयरका एक एक वटा हेलिकप्टर त्यहाँ पुगेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .