ad ad

राजनीति


अपोलो अस्पतालमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार सुरु

अपोलो अस्पतालमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार सुरु

नेपालखबर
असार २, २०७८ बुधबार २३:५२,

पूर्वप्रधानमन्त्री झलनाथ खनालको भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचार सुरु भएको छ । एमाले वरिष्ठ नेतासमेत रहेका खनालको स्वास्थ्य अवस्था जटिल बनेपछि बुधबार दिउँसो दिल्ली लगिएको थियो। खनालका साथमा श्रीमती रविलक्ष्मी चित्रकार पनि दिल्ली गएकी छन्।

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले अस्पतालमै पुगेर खनाललाई भेटेका छन्। खनालको उपचारको नेतृत्व गरिरहेका चिकित्सकसँग पनि राजदूत आचार्यले उनको स्वास्थ्यस्थितिबारे छलफल गरेका छन्। भेटपछि राजदूत आचार्यले खनालको उपचार बुधबारबाटै सुरु भएको जानकारी दिएका छन्।

आचार्यले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यूको उपचार प्रक्रिया दिल्लीको अपोलो अस्पतालमा आजैबाट शुरू भएकोछ। उहाँसंग र उहाँको उपचारको नेतृत्व गरिरहेका डाक्टरसित भेटघाट र स्वास्थ्यस्थितिबारे कुराकानी भयो। उहाँको शीघ्र सफल उपचारको विश्वास छ र पूर्ण स्वास्थ्यलाभको हार्दिक कामना छ।’

स्वास्थ्यमा समस्या देखिएपछि खनाल तीन दिनअघि नर्भिक अस्पताल थापाथलीमा भर्ना भएका थिए। खनालको स्वास्थ्यमा थप जटिलता थपिन सक्ने देखिएपछि चिकित्सकको परामर्शमा उनलाई दिल्ली लगिएको हो। खनालमा लगातार ज्वरो र खोकीको समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।

खनालमा मिर्गौलाले राम्रोसँग काम नगर्दा हुने स्वास्थ्य जटिलतासमेत देखिएको उनको पचारमा संलग्न चेस्ट फिजिसियन डा.ब्रजेन्द्र श्रीवास्तवले बताए। खनालको रगत र पिसाबमा समेत संक्रमण देखिएको छ। खनाललाई के भएको हो चिकित्सकले किटानका साथ भनेका छैनन् ।

नर्भिक अस्पतालका चिकित्सकले खनालको फोक्सोमा पानी जमेको बताएका छन्। खनालको अक्सिजन लेभल तलमाथि भइरहेको छ।

यसअघि गत ३० माघमा पनि स्वास्थ्यमा समस्या देखिएपछि खनालले अपोलो अस्पतालमै उपचार गराएका थिए ।पारिवारिक स्रोतका अनुसार त्यतिबेलै अपोलकोका चिकित्सकले मिर्गौलामा खराबी देखिएको भन्दै तीन महिनापछि ट्रान्सप्लान्ट वा डायलाइसिसको विकल्पमा जानुपर्ने हुन सक्ने बताएका थिए।

कोभिड संक्रमणका कारण खनाल गत १८ वैशाखमा नर्भिककै भिआइपी वार्डमा भर्ना भएका थिए । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई हाई फ्लो अक्सिजनको सपोर्ट दिइएको थियो । करिब दुई सातापछि डिस्चार्ज भएपछि बेडरेस्टमा रहेका खनाल पार्टीको आन्तरिक बैठकमा जुम मिटिङमार्फत पुनः सक्रिय भएका थिए।

खनाल शरीर काँप्ने रोगबाट पीडित छन्। यसअघि उनले अमेरिका र चीनमासमेत उपचार गराएका थिए।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .