ad ad

राजनीति


कति टिक्ला चीन र रुसबीचको ‘अटुट’ मित्रता?

कति टिक्ला चीन र रुसबीचको ‘अटुट’ मित्रता?

नेपालखबर
असार २, २०७८ बुधबार ११:१९,

जेनेभामा अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीचको शिखर वार्ताअघि दुवै पक्षले आफूलाई शक्तिशाली मुलुकका रुपमा उभ्याउने कोसिस गरेका छन्।

बाइडेनले जी ७ मुलुक र नेटोको बैठक गरेर आफूलाई पश्चिमा गठबन्धनको बलियो समर्थन रहेको सन्देश दिए। ती बैठकमा खासगरी चीन र रुसकै विषयले प्रमुखता पाए।

अर्कोतिर पुटिनले चीनसँग आफ्नो सम्बन्ध अटुट रहेको बताएका छन्।

‘मस्को र बेइजिङबीचको सम्बन्ध अभूतपूर्व रुपमा उच्च तहमा छ,’ पुटिनले अमेरिकी टेलिभिजन एनबीसीसँगको अन्तर्वार्तामा भनेका छन्।

आफूले चीनलाई खतरा नमान्ने उनको भनाइ थियो।

‘चीन एक मित्र राष्ट्र हो। अमेरिकाले जस्तो उसले हामीलाई शत्रु घोषणा गरेको छैन,’ उनले भने।

त्यसको प्रतिक्रियामा मंगलबार चीनले द्विपक्षीय सम्बन्धको विस्तार असिमित रहेको बताएको छ।

‘चीन र रुस हिमालजसरी एक छन्। हाम्रो मित्रता अटुट छ,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिच्यनले भने।

पश्चिमा मुलुकहरुले एक्ल्याउने प्रयास गरिरहँदा चीन र रुस पछिल्ला वर्षहरुमा एकअर्काकाको निकट हुँदै गएका छन्। सन् २०१४ मा क्रिमिया टुक्र्याएपछि रुसमाथि पश्चिमले नाकाबन्दी लगायो। त्यसपछिको आर्थिक समस्या समाधानका लागि विश्वको दोस्रो ठूलो अर्थतन्त्रसँग नजिक हुनु रुसका लागि स्वाभाविक थियो। अर्कोतिर अमेरिकासँग हरेक क्षेत्रमा तनाब बढिरहँदा उत्तरी छिमेकीसँग राम्रो सम्बन्ध कायम गर्नु चीनका लागि पनि आवश्यक थियो।

चीन र रुसको रणनीतिक साझेदारीको केन्द्रमा आर्थिक सम्बन्ध छ। सन् २०१८ मा द्विपक्षीय व्यापार १०० अर्ब डलर नाघेको थियो। जसलाई २०२४ सम्म दोब्बर पार्ने लक्ष्य राखिएको छ।

उर्जामा पनि उनीहरुबीच साझेदारी छ। चीनले रुसबाट ४०० अर्ब डलरको प्राकृतिक ग्यास किन्ने र चीनका विभिन्न स्थानमा संयुक्त आणविक भट्टी निर्माण गर्ने सम्झौता छ।

मस्को बेइजिङको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता पनि हो। २०१४ देखि २०१८ को बीचमा चीनले किनेका हतियारमध्ये ७० प्रतिशत रुसबाटै प्राप्त गरेको थियो।

कूटनीतिक क्षेत्रमा पनि बेइजिङ र मस्को एकै स्थानमा उभिँदै आएका छन्।

२०१९ को रुस भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङले पुटिनलाई ‘सबैभन्दा मिल्ने साथी’ भनेका थिए।

बाइडेन सत्तामा आएपछि रुस र चीन एकै ठाउँमा उभिनुपर्ने आवश्यकता झनै बढ्दै गएको छ। किनभने विश्व मञ्चमा अमेरिका यी दुई मुलुकलाई एक्ल्याउने दाउमा छ। अमेरिकाले उनीहरुलाई बारम्बार विश्व व्यवस्थाका लागि खतराको रुपमा प्रस्तुत गर्ने गरेको छ। जी ७ र नेटोको शिखर बैठक दुवैमा अमेरिकाले यही प्रयास गरेको थियो।

यसको प्रतिक्रियास्वरुप रुस र चीनले पनि एकीकृत अडान व्यक्त गरेका छन्।

‘चीन र रुसको बीचमा दरार पैदा गर्न प्रयास गर्नेहरुलाई हामीले भन्नैपर्ने हुन्छ– त्यस्तो प्रयास असफल हुन अभिशप्त छ,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओले भने।

एकताको अभूतपूर्व प्रदर्शन भइरहे पनि चीन र रुसबीच फाटो ल्याउनसक्ने अनेकौँ मुद्दाहरु छन्। व्यापार असन्तुलित छ। रुसका लागि चीन सबैभन्दा ठूलो व्यापारिक साझेदार भए पनि चीनका लागि रुस सानो साझेदार हो। रुसले प्रायः कच्चा पदार्थ निर्यात गरेर चीनबाट तयारी वस्तु किन्ने गर्छ।

उनीहरुबीच भूराजनीतिक चासो पनि छ। चीनले बेल्ट एन्ड रोड इनिसियटिभमार्फत मध्य एसियामा आफ्नो प्रभाव विस्तार गरेको छ। त्यो पहिले रुसको प्रभावक्षेत्र थियो।

१९५० को दशकमा मस्को र बेइजिङबीचको सम्बन्ध तिक्त बनेको थियो। त्यसपछि वैचारिक रुपमा पनि उनीहरु टाढिएका थिए।

चीन र रुसको अहिलेको साझेदारी भूराजनीति र आर्थिक स्वार्थको मेलबाट प्रेरित छ। तर, साझा विचारधारा र औपचारिक सैन्य गठबन्धन नहुँदा उनीहरुको यो मित्रता कति लामो समय जान्छ, यसै भन्न सकिन्न। सीएनएन

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .