ad ad

राजनीति


उपेन्द्र–बाबुरामको निष्कर्षः महन्थसँग मिल्ने सम्भावना सकियो

उपेन्द्र–बाबुरामको निष्कर्षः महन्थसँग मिल्ने सम्भावना सकियो

सागर न्यौपाने
असार १, २०७८ मंगलबार १४:३५,

जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले महन्थ ठाकुर पक्षसँग मिल्ने सम्भावना अन्त्य भएको निष्कर्ष निकालेको छ।

जसपाका दुवै पक्षले एकअर्कालाई कारबाही गरेका थिए। निर्वाचन आयोगले दुवैको कारबाहीलाई मान्यता नदिई पार्टी पूर्ववत् अवस्थामै रहेको निर्णय गरेपछि जसपा फेरि एक हुनसक्ने चर्चा चलेको थियो। तर, महन्थलगायतसँग अब फेरि मिलेर जाने सम्भावना सकिएको उपेन्द्रपक्षका नेता नवराज सुवेदीले बताए।

‘महन्थ ठाकुरलगायत केहीले आफ्नो खुट्टामै टेक्न सक्नुभएन,’ सुवेदीले भने, ‘आफ्नो खुट्टामा टेक्न नसक्नेसँग सँगै रहने कुरै आउँदैन। त्यस्तो मान्छेले कसरी पार्टी चलाउनुहुन्छ र? यस्ता मानिससँगको लामो संगत हामीलाई आवश्यक पनि छैन।’

‘उहाँहरुले पार्टी चलाउन सक्नुहुन्न,’ सुवेदीले ठोकुवा गरे, ‘तीनचार वर्ष अधिवेशन नगरी पार्टी चलाउनेले कसरी पार्टी हाँक्नुहुन्छ?’

उपेन्द्र यादव पक्षकी नेतृ रेनुकुमारी यादवले पनि महन्थ ठाकुर लगायतका ४ नेताहरुलाई पार्टीमा मिलाउने कुनै सम्भावना नभएको बताइन्।

‘उहाँहरुलाई जसपामा स्थान दिने कुनै सम्भावना छैन,’ यादवले भनिन्, ‘ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरुलाई बहुमतको निर्णयले निष्कासन गरेका छौँ। उहाँहरुसँग फेरि मिल्नुको कुनै अर्थ छैन, सम्भावना पनि छैन।’

पार्टी निर्णयविपरीत प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गरी सरकारमा सहभागी भएपछि यादवले ठाकुर, महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई कारबाही गरेका थिए।

यादवले कारबाहीबारे निर्वाचन आयोगलाई जानकारी गराउँदै चार जनाको नाम जसपाको रेकर्डबाट हटाएर विवरण अद्यावधिक गर्न आग्रह गरेका थिए।

तर, आयोगले बहुमत केन्द्रीय कार्यकारिणी समितिको निर्णयसहित पेस गरिएको सो पत्रलाई अस्वीकार गर्दै पुरानै पदाधिकारी कायम रहने निर्णय सुनाएको छ।

सो निर्णयबाट उपेन्द्र–बाबुराम पक्ष असन्तुष्ट छ। उनीहरुले मंगलबार कानुनविद्सँग छलफल पनि गरेका छन्।

‘राजनीतिक र कानुनी लडाइँ पनि लड्ने भनेका छौँ, आज त्यही विषयमा कानुनविद्सँग परामर्श गरेका थियौं,’ सुवेदीले भने, ‘पार्टीको बहुमत नै हामीसँग रहेकोले आधिकारिकता हामीले नै पाउनुपर्ने विषयमा निर्वाचन आयोगमा फेरि एकपटक बल गर्ने कि भन्ने सुझाव पनि आएको छ।’

ठाकुर पक्षबाट ओली सरकारमा महतोसहित ११ जना सहभागी छन्।

उनीहरुले दोस्रो पटक प्रतिनिधि सभा विघटन गर्ने ओली कदमलाई साथ दिएपछि उपेन्द्रले चार नेतालाई कारबाही गरेका हुन्।

त्यसो त उपेन्द्र यादवलाई पनि ठाकुरले कारबाही गरेका थिए। आयोगको पछिल्लो निर्णयपछि कसरी अघि बढ्ने विषयमा ठाकुर पक्ष पनि छलफलमै छ। उनीहरुबीच पूर्व राजपा ब्युँताएर जाने कि भन्नेबारे छलफल भइरहेको छ।

ठाकुरसहितका नेताहरु जहाँ गएपनि आफूहरुलाई कुनै मतलब नभएको रेनु यादवले बताइन्।

‘उहाँहरुको बारेमा हामीलाई टाउको दुखाइ छैन,’ यादवले थपिन्, ‘हाम्रो पार्टीको हामीलाई आधिकारिकता चाहियो, पार्टीको विधान र पार्टीको निर्णय निर्वाचन आयोगले कार्यान्वयन गर्नुपर्‍यो।’

कानुनी हिसाबले आफूहरुले आधिकारिकता पाउनुपर्ने सुवेदीको दाबी छ।

‘हामीले आधिकारिकता र वैधानिकता पाउँछौ, हामीसँग बहुमत छ, अहिलेको कानुनले बहुमत हुनेलाई आधिकारिक पार्टी हुने भनिदिएको छ,’ नवराज सुवेदीले थपे, ‘पाएनौँ भने के गर्ने हामी त्यतिखेरै गर्छौँ।’

बिहीबार डाकिएको बैठकले पार्टीभित्रको विषय, निर्वाचन आयोगको निर्णय र सर्वाेच्च अदालत जाने कि नजाने निर्णय गर्नुको साथै ५ दलको गठबन्धनसँग जोडिएको विषयमा पनि निर्णय गर्ने तयारी छ।

५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षमा ३१ जना रहेको उनीहरुको दाबी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .