ad ad

राजनीति


महाकालीको पहिरो तत्काल नहटाउने भारतको संकेत, पत्रको जवाफ समेत दिएन

महाकालीको पहिरो तत्काल नहटाउने भारतको संकेत, पत्रको जवाफ समेत दिएन

उजिर कार्की
जेठ ३१, २०७८ सोमबार १०:२३,

महाकाली नदीमा भारततर्फबाट गएको पहिरोले नेपालतर्फको बाटो अवरुद्ध गरे पनि भारतले तत्काल पहिरो नहटाउने देखिएको छ। पहिरोका कारण एक हप्तादेखि बाटो अवरुद्ध हुँदा पनि भारतले कुनै चासो दिएको छैन।

भारतले धारचुला–लिपुलेक सडक निर्माणका क्रममा खसेको चट्टानले गत मंगलबारदेखि नदी थुनिएको छ भने नेपालतर्फको बाटो भत्किएको छ। दार्चुलाको व्यास गाउँपालिका–२ स्थित महाकाली किनारको घोडेटो बाटो भत्किएको हो।

उक्त अवरोध हटाउन बिहीबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भारतको पिथौरागढस्थित धारचुलाका जिल्ला अधिकारी आनन्द स्वरूपलाई पत्र पठाएका थिए। तर सोमबार दिउँसोसम्म भारतीय प्रशासनबाट कुनै जवाफ नआएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए।

Kalapani road pahiro 2

‘गत बिहीबार पहिरोका कारण हाम्रो बाटो अवरोध भयो भनेर पत्र पठाएका थियौं तर अहिलेसम्म कुनै जवाफ आएको छैन। यसबारेमा हामीले मन्त्रालयमा पनि जानकारी गराइसकेका छौं’, प्रजीअ जोशीले भने।

भारतले बाटो विस्तार गर्ने क्रममा पहिरो गएको र नेपालको बाटो अवरुद्ध भएकोले पहिरो हटाइदिन नेपालले पत्रमा आग्रह गरेको छ। तर अहिलेसम्म पनि भारतले पहिरो हटाएको छैन भने पत्रको पनि जवाफ दिएको छैन।

चट्टान रहेको क्षेत्रमा एक–डेढ किलोमिटर माथिबाट पहिरो खसेको हो। त्यहाँ जान सहज छैन। जोशीका अनुसार दार्चुला प्रशासनले तत्कालका लागि वैकल्पिक बाटो निर्माण गरेको छ।

‘पत्र पठाइसकेपछि उता पनि प्रक्रिया हुँदै होला, छलफलकै क्रममा होला भन्ने लाग्छ मलाई’, जोशीले सोमबार दिउँसो नेपालखबरसँग भने, ‘यसअघि कतिपय समस्या आउँदा पत्रको जवाफ नआए पनि टेलिफोनबाट पनि कुरा भएपछि काम हुन्थ्यो।’

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले यस विषयमा थप पहल गरिदिन भन्दै परराष्ट्र मन्त्रालयमा आइतबार पत्र पठाइसकेको जानकारी दिए।

‘प्रमुख जिल्ला अधिकारीले त्यहाँको अवस्था जानकारी गराएपछि हामीले पनि पहल गरिरहेका छौं, आवश्यक सहजिकरण गरिदिन भन्दै हिजो पत्र पठाएका हौं’, दाहालले भने।

Kalapani road pahiro 3

भारतले सडक निर्माण गरिरहेको स्थान भारतीय भूमि नै हो। तर विष्फोट गराएर बाटो बनाउँदा ठूलो पहिरो खसेर नेपालतर्फ अवरोध भएको हो।

महाकाली नदीमा पहिरो खस्दा नदी किनारमा रहेको बाटोमा क्षति पुगेको छ। पानी परिरहेकाले तत्कालै समाधान हुने अवस्था पनि नरहेको प्रजिअको भनाइ छ।

Kalapani road pahiro 6

सो क्षेत्रमा भारतले सडक निर्माण तीव्र पार्ने क्रममा नेपाली भूमि समेत अतिक्रमण गरेपछि अहिले दुई देशबीच विवाद चर्केको छ। गतवर्ष भारतले तिब्बतको मानसरोवर जाने सडक निर्माण गर्दा नेपाली भूमिबाट सडक बनाएको थियो।

नेपालले त्यसको औपचारिक रुपमै विरोध गर्‍यो। पछि लिपुलेक, लिम्पियाधुरा र कालापानी रहेको सो क्षेत्र समेतलाई समेटेर नेपालले नक्सा जारी गरेको छ। त्यसप्रति भारतले असहमति जनाएको छ।

Kalapani road pahiro 8

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .