ad ad

राजनीति


संसद जोगाउने औषधि नै म हुँ : दीपक मनाङे

संसद जोगाउने औषधि नै म हुँ : दीपक मनाङे

वाशुदेव मिश्र
जेठ २७, २०७८ बिहिबार १४:१९,

सत्तापक्षलाई विश्वासको मत नदिएका गण्डकीका सभासद दीपक मनाङेले संसद जोगाउने औषधि नै आफू भएकाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिएको प्रष्टोक्ति दिएका छन्।

‘कोरोना त खोप छ तर संसद जोगाउने औषधि नै छैन, संसद जोगाउने औषधि नै मै रहेछु, त्यसैले म मतदानमा सरिक भइन’, नेपालखबरसँग कुराकानी गर्दै उनले भने, ‘ हिजो (सत्ता पक्ष) का ३ जना सांसदहरु मलाई भेट्न आए, मैले तिमीहरुको बहुमत पुग्छ भने मतदान गर्छु भनेँ तर उनीहरुले विपक्षी गठबन्धनलाई पनि बहुमत पुर्‍याउन नदिनको लागि मतदान गर्नुपर्ने बताएपछि म पछि हटेँ।’

आफू कुनै पार्टीको नभएर मनाङबासीको सभासद भएको बताउँदै उनले संसद विघटन गरेर ६० जना सभासदको विचल्ली बनाउने काम नै गलत भएको पटक–पटक दोहोर्‍याए।

‘मैले पृथ्वीसुब्बा दाईलाई दुईपटक सघाएकै हो, मलाई अहिलेको भन्दा ठूलो मन्त्रालय दिने लोभ पनि देखाए’, उनले भने, संसद जोगाउन पो लाग्नुपर्छ, विघटन गर्ने काम त अपराध नै हो नि।’

सदन विघटनको लागि सत्तापक्षले एक महिनादेखि षड्यन्त्र गरिरहेको जिकिर गर्दै उनले विघटन गर्नु अपराध नै भएको ठोकुवा पनि गरे।

विघटनका मतियारहरुलाई कारवाही गर्नुपर्ने बताउँदै उनले भने,‘ विघटनको पक्षमा लाग्नेहरुलाई कारबाही गरिनुपर्छ कुन कानूनले भन्ने कुरा छुट्टै हो।’

उनले विघटनको पक्षमा उभिने सांसदहरुलाई हजार भोट हैन, एक भोट पनि दिन नहुने तर्क पनि गरे।

विपक्षी गठबन्धनले बहुमत पुर्‍याउने अवस्था आएकाले आफू विपक्षीको पक्षमा नै लागेको बताउँदै उनले आफू स्वतन्त्र नै रहने प्रष्ट पारे।

आज बिहान ११ बजेतिर नै प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीलाई मतदान प्रक्रियामा सहभागी नहुने जानकारी गराएपनि सत्तापक्षले प्रहरी प्रयोग गरी आफूलाई खोजतलास गर्नु आपत्ति जनक भएको उनको भनाई थियो।

 सरकारको पक्षमा मत हाल्नु पर्यो भनेर तीन जना सत्ता पक्षका सांसद आफूलाई भेट्न आएको उनले बताए। राजीव पहारी, एक जना मुस्ताङका इन्द्रधारा विष्ट र महेन्द्र थकालीले आफूलाई यस्तो आग्रह गरेको उनले बताए।

'मेरो त एक सिट हो,मैले हालेर के गर्ने भनेँ। अनि मैले बहुमत पुग्छ त भनेर सोधेँ', उनले भने, 'संसद भंग हुन्छ, चुनावी सरकार बन्छ। तपाईँ त मन्त्री भइसक्नुभयो, मोज हुन्छ भने। म मोज गर्न मन्त्री हुन आएको हैन। पृथ्वीसुब्बा मेरो अहिलेपनि मेरो दाइ जस्तो हो।'

 एमालेकै ३० प्रतिशत सांसदले आफूलाई संसद जोगाउन भनेको उनले बताए।

'मैले संसद बचाउने हो, केद्रको यो रोग प्रदेशमा आउँदैछ। कोरोनाभन्दा पनि ठूलो रोग हो यो,' उनले भने, 'कोरोना के हो र? भ्याक्सिन लगाए सकिन्छ यो बिमारको त भ्याक्सिन पनि छैन। भ्याक्सिन भनेको त राजीव गुरुङ रहेछ। डाइरेक्ट संसद भंग गर्छु भन्छ भने त्यो मान्छे राजनीतिज्ञ होइन।'

'जसले संसद भंग गर्छु भनेर डिजाइन गर्छ त्यसले कुन आधारमा विश्वासको मत लिन्छु भन्ने?' उनले प्रश्न गरे।

संसद विघटन गर्ने खोज्नेलाई मुद्दा लगाउनु पर्ने उनको भनाई छ। 'आँपको बोटमा आँप नै फल्छ। बोट केपी ओली भयो। फल यिनीहरु भयो। हामीले आँपको बोटमा अम्बा खोजिरहेका थियौँ। यस्तो कुरामा मुख्यमन्त्री बोल्नु पर्दैन?', उनले भने, 'आज जाने भएपछि अलिकति बोल्नु भएको छ (मुख्यमन्त्री) ले खुलेर बोल्नुपर्यो नि।'

यो पनिः

‘मधु कोडा पथ’मा दीपक मनाङे !

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .