ad ad

राजनीति


मधेसमा महतो र निधिलाई सन्तुलन गर्न सरकारमा महासेठको ‘सरप्राइज इन्ट्री’

मधेसमा महतो र निधिलाई सन्तुलन गर्न सरकारमा महासेठको ‘सरप्राइज इन्ट्री’

मणि दाहाल
जेठ २१, २०७८ शुक्रबार १६:५१,

प्रधानमन्त्री केपी शर्मा ओलीको चुनावी सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्रीको रुपमा रघुवीर महासेठको ‘सरप्राइज इन्ट्री’ भएको छ।

कार्यसम्पादन कमजोर रहेको भन्दै २०७६ मंसिरको पहिलो साता भएको मन्त्रिपरिषद् पुनर्गठनमा फालिएका महासेठ बढुवासहित महत्वपूर्ण मन्त्रालयमा फर्किएका हुन्।

२०७४ सालमा ओली प्रधानमन्त्री बन्दा महासेठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको थियो।

प्रधानमन्त्री ओलीले गएको पुसमा मन्त्रिपरिषद् पुनर्गठन गर्दा महासेठकी पत्नी जुली महतो महिला, बालबालिका तथा समाजकल्याणमन्त्री बनेकी थिइन्। महासेठको आगमनसँगै महतो बाहिरिएकी छिन्।

नेकपा विभाजनको समयमा कता लाग्ने भनेर धर्मराएका महासेठ पछि ओलीतर्फ खुलेका थिए। तत्कालीन नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले आयोजना गरेको केन्द्रीय कमिटीको एउटा बैठकमा महासेठ पनि सहभागी भएका थिए।

RaghubirMahaseth FM

महासेठले ओलीका विश्वासपात्रका रुपमा चिनिएका प्रदीप ज्ञवालीलाई विस्थापित गरेका छन्। आफैँले कार्यक्षमतामाथि प्रश्न उठाएर हटाएको मन्त्रीलाई ओलीले परराष्ट्रजस्तो संवेदनशील मन्त्रालयको जिम्मेवारी सुम्पेका छन्।

तर, पछिल्लो समय परराष्ट्र मन्त्रालयको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री ओलीले नै हेर्दै आएकोले जो मन्त्री भएपनि केही फरक नपर्ने पूर्वराजदूत विजयकान्त कर्णले बताए।

‘विगत ३ वर्षदेखि परराष्ट्र मन्त्रालय प्रधानमन्त्री आफैँले सञ्चालन गर्दै आउनु भएको थियो। त्यसैले परराष्ट्रमन्त्री जोसुकै भएपनि खासै फरक पर्दैन,’ कर्णले भने, ‘परराष्ट्रमा नीति निरुपण, सञ्चालन, राजदूत नियुक्ति सबै काम प्रधानमन्त्री ओलीले नै गर्दै आउनु भएको हो। केपी शर्मा ओली प्रधानमन्त्री हुञ्जेलसम्म खासमा परराष्ट्रमन्त्री आवश्यक छजस्तो मलाई लाग्दैन।’

कर्णका अनुसार मधेसको राजनीतिलाई हेरेर ओलीले महासेठलाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन्।

‘मधेसी दलबाट एउटा उपप्रधानमन्त्री भएपछि एमालेबाट पनि अर्को व्यक्तिलाई उपप्रधानमन्त्री बनाएका हुन्। महासेठलाई मधेसवादी दलहरुसँग प्रतिस्पर्धा गर्नकै लागि मन्त्री बनाइएको हो,’ कर्णले भने, ‘राजेन्द्र महतोलाई मात्रै नभएर कांग्रेसका विमलेन्द्र निधिलाई पनि चुनौती दिन सकिन्छ कि भनेर यो गरिएको हो। निधिसँग प्रतिस्पर्धामा रहेका महतो र महासेठ दुवैलाई उपप्रधानमन्त्री बनाइएको छ।’

महासेठसँगै धनुषाबाट दुई उपप्रधानमन्त्रीसहित तीन मन्त्री बनेका छन्। जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतो उपप्रधान तथा सहरी विकासमन्त्री बनेका छन् भने उमाशंकर अरगरिया पनि मन्त्री बनेका छन्। त्यसैगरी मधेसी दलबाट २ राज्यमन्त्रीसहित १० जना मन्त्री बनेका छन्।

मन्त्रिपरिषदमा मधेसबाट धेरै जना सहभागी भए पनि मधेसमा रहेका जातजातिको प्रतिनिधित्व भने सन्तुलित नभएको कर्णको टिप्पणी छ।RaghubirMahaseth FM2

धनुषा तारापट्टी सिरसियामा जन्मेका महासेठ पञ्चायतकालमै अनेरास्ववियुबाट राजनीतिमा आएका हुन्। जुन स्थान नेकपा माले गठन हुनुअघिको अखिल नेपाल कोअर्डिनेसन केन्द्रको प्रभाव क्षेत्र थियो। पञ्चायतकालमा महासेठले पूर्णकालीन कार्यकर्ताको रुपमा पनि काम गरे।

सम्पन्न परिवारको सदस्य भएपनि महासेठले गैरआवासीय नेपाली संघको संस्थापक अध्यक्ष उपेन्द्र महतोकी बहिनी जुलीसँग विवाह गरेपछि हालको आर्थिक हैसियत प्राप्त गरेको उनलाई सुरुदेखि चिनेका मानिसहरु बताउँछन्।

महासेठ राजनीतिक योगदान र विषयगत दक्षता भन्दा पनि पैसाको बलमा अहिलेको स्थानमा आइपुगेको एमालेका केन्द्रीय सदस्य तथा धनुषाका नेता श्रीप्रसाद साह बताउँछन्।

‘दस मिनेट कुरा गर्नुहोस्, उहाँको क्षमता कति हो भन्ने थाहा भइहाल्छ। आफूले पहिले बोलेको कुरा पछि आफैँ काट्न थाल्नुहुन्छ,’ साहले नेपालखबरसँग भने, ‘उहाँ राजनीतिक योग्यता र क्षमताले पार्टी र सरकारको यो स्थानमा पुग्ने मानिस होइन। बेलाबेलामा शीर्ष नेताहरुलाई वैध र अवैध रुपमा गर्ने गरेको आर्थिकलगायतका सहयोगको कारण त्यो स्थानसम्म पुग्नुभएको हो। महासेठको कारोबार, गतिविधि र अन्तर्राष्ट्रिय सम्बन्धहरु शंकास्पद छन्।’

माधवकुमार नेपालनिकट साहले सत्तामा महासेठ परिवारको ओहोरदोहोरलाई पञ्चायतकालमा हेमबहादुर मल्लको परिवारसँग तुलना गरे।

‘यो गणतन्त्र र प्रजातन्त्र ल्याएकै महासेठको परिवारका लागि भनेजस्तो भएको छ,’ उनले थपे, ‘उहाँहरुका लागि राजनीति सेवा होइन, व्यापार हो।’

एमालेको नवौँ महाधिवेशनमा केपी शर्मा ओलीको समूहबाट सचिवमा प्रतिस्पर्धा गरेका महासेठ सचिवमा मात्रै नभएर केन्द्रीय सदस्यमा समेत पराजित भएका थिए। २०७३ सालमा एमालेले सुरु गरेको मेची महाकाली अभियानको एक दिनअघि झापामा बसेको स्थायी कमिटीको बैठकले रघुवीर र जुलीलाई केन्द्रीय कमिटीमा मनोनित गरेको थियो। उनी एमाले र माओवादी एकीकरण भएपछि बनेको नेकपामा स्थायी कमिटीका सदस्य बनेका थिए। अहिले एमालेमा पनि उनी स्थायी कमिटीका सदस्य छन्।

महासेठ तेस्रो पटक मन्त्री बनेका हुन्। यसअघि उनी झलनाथ खनाल प्रधानमन्त्री हुँदा सिँचाइमन्त्री थिए।

२०७४ मा भएको आमनिर्वाचनमा महासेठ धनुषा ४ बाट निर्वाचित भएका थिए। त्यसअघि २०६५ सालमा भएको संविधानसभा उपनिर्वाचनमा धनुषा क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका थिए। डा. रामवरण यादव राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको स्थानमा कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै महासेठ संविधानसभामा निर्वाचित भएका थिए।

परराष्ट्रमन्त्रीमा महासेठको नियुक्तिका विषयमा एमाले ओली समूहका केही नेताहरुले भने टिप्पणी गर्न चाहेनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .