ad ad

राजनीति


सशस्त्र प्रहरी बढुवामा तगारा बनेका यी चार अधिकृत

सशस्त्र प्रहरी बढुवामा तगारा बनेका यी चार अधिकृत

उजिर कार्की
जेठ २०, २०७८ बिहिबार १३:३५,

गत वैशाख १४ गते सरकारले सशस्त्र प्रहरीका दुई एआईजीको पदावधि एक वर्ष थप गर्ने निर्णय गर्‍यो।

६ दिनपछि अवकास हुन लागेका एआईजी पुष्पराम केसी र रामशरण पौडेलको जागिर थप भयो।

चर्को लविङ गरेका दुई एआईजी सरकारलाई रिझाएर जागिर जोगाउन सफल भए। सशस्त्र प्रहरी नियमावलीअनुसार पदावधि एक वर्ष थप्न सक्ने व्यवस्था छ। उक्त व्यवस्थाअनुसार सरकारले चाहेमा डीआईजी र एआईजीको एक वर्ष कार्यकाल थप गर्नसक्छ।

सरकारले दुई एआईजीको जागिर थमौति गर्दैगर्दा बाँकी अधिकृतको बढुवाको बाटोमा भने तगारो लागेको छ। गत वैशाख २० गते उनीहरु घर जाने तरखरमा थिए।

तर घर फर्किन लागेका यी अधिकृतलाई एआईजीमा थमौति गरेको सरकारले एक वर्षपछि आईजीपी बन्ने बाटो समेत खुल्ला गरिदियो।

यी दुईमध्ये एआईजी पुष्पराम आगामी चैत २८ गतेपछि छोटो समयका लागि सशस्त्र प्रहरीको आईजीपी हुने पक्का जस्तै छ। आगामी वैशाख २० गते दुवै सँगै अवकास हुनेछन्।

सरकारले यसअघि माघमा दुई डीआईजी मन्दीप श्रेष्ठ र खड्ग राईको पनि एक वर्ष पदावधि थप गरेको थियो। उनीहरु पनि अहिले सशस्त्रमै कार्यरत् छन। आउँदो माघमा मात्रै उनीहरु अवकास हुनेछन।

उनीहरुको पदावधि थप गर्न संगठन भने तयार भएको होइन। उनीहरु नेतालाई रिझाएर पदावधि थप गर्न सफल भएको सशस्त्रका एक उच्च अधिकारीले बताए।

सत्ता दाहिना नहुनेहरुको भने यसरी कार्यकाल थप हुँदैन। डेढवर्ष पहिले डीआईजी सुरज श्रेष्ठ चार वर्षे अवधिकै कारण २५ वर्षे सेवा अवधिमै अवकाश पाएका थिए। यी बाहेक थुप्रै प्रहरी अधिकृत छन् जसको सेवा थप भएको छैन।

तर नियमावलीमा भएको व्यवस्था र आफ्नो स्वार्थअनुसार सरकारले सेवा अवधि थप गर्दा सशस्त्रको संगठनमा बढुवाको अवस्था भद्रगोल हुनपुगेको छ।

१६ वर्ष पहिले सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएका छैठाैं ब्याचका ९० जना अहिले पनि त्यही दर्जामा अड्किएका छन्। त्यसपछि ५ वटा ब्याच निरीक्षकमा भर्ना भइसके। उनीहरुको पनि माथि जाने बाटो बन्द छ।

उता सँगै भर्ना भएका नेपाल प्रहरीका निरीक्षकहरु भने एसपी बढुवाको लाइनमा छन्। २०६७ का प्रहरी निरीक्षकहरु अहिले सबै डीएसपी भइसके। २०७० को टोली पनि डीएसपी बढुवाको लाइनमा छन्।

तर त्यही नेपाल प्रहरीबाट आएको नेतृत्व अहिले सशस्त्रमा हुँदा सशस्त्रमै भर्ना भएकाहरुको भने बेहाल छ। अहिले सशस्त्रमा एक डीआईजीबाहेक सबै उच्चतहमा नेपाल प्रहरीबाट आएको टोली छ।

१६ वर्षसम्म पनि बढुवामा पालो नआउँदा त्यसपछिका टोलीमा पनि निराशा छाएको छ। सशस्त्र प्रहरी निरीक्षकमा छैठाैं ब्याचदेखि १४औं ब्याचसम्मका सबै जम्मा भइसकेका छन्। १४औं ब्याचका ६० जनाको टोली अहिले मातातिर्थमा तालिम गरिरहेको छ।

त्यसअघि सातौं ब्याचका १२५, आठौंका ११, नवौंका ६५, दशौंका २२, एघारौंका ४०, बाह्रौंका ५३ र तेह्रौं ब्याचको २२ जनाको टोली पनि निरीक्षकमै कार्यरत् छन्।

यी चार अधिकृत अवकास भएको भए, दुई डीआईजी एआईजी बन्थे। यसका लागि डीआईजी प्रविण श्रेष्ठ र राजु अर्याल मुख्य दावेदार हुन्। उनीहरु एआईजी बनेसँगै सशस्त्रका चार एसएसपी डीआईजीमा, चार एसपी एसएसपीमा, चार डीएसपी एसपीमा र चार इन्सपेक्टर डीएसपीमा बढुवा हुने बाटो खुल्थ्यो।

यीमध्ये पनि पदावधि थप नभए डीआईजी श्रेष्ठ आगामी असार ५ गते अवकास हुने छन्।

त्यसो त सशस्त्रमा यी एआईजी र डीआईजी मात्रै होइनन्, निरीक्षकहरुलाई १६ वर्षसम्म एउटै दर्जामा रोकिएको छ। खाली भएका पदमा पनि बढुवा हुन सकेको छैन। ती पदमा सरकारले चाहेमा रिक्त हुनासाथ बढुवा गर्न सक्थ्यो।

सशस्त्रका दुई डीआईजी दरबन्दी रिक्त छन्। ८ एसएसपी, १७ एसपी र ५० डीएसपीको पनि दरबन्दी रिक्त छ। रिक्त दरबन्दीमा बढुवाको सुरसार छैन। सशस्त्र प्रहरी प्रवक्ता डीआईजी राजु अर्याल छिट्टै बढुवा प्रक्रिया अगाडि बढ्ने बताउँछन्।

नेपाल प्रहरी र नेपाली सेनाबाट जनशक्ति ल्याएर स्थापना गरिएको संगठन हो सशस्त्र प्रहरी। सशस्त्रमै भर्ती भएकाहरु भने नेतृत्वमा अझै पुग्न सकेका छैनन्।

पहिलो पटक निरीक्षकमा भर्ना भएका ९ जना अहिले कायममुकायम एसएसपी भए भने दोस्रो ब्याचका ७५ जना एसपी छन्। तेस्रो ब्याचका ९०, चौथो ब्याचका ८० र पाँचौ ब्याचका ८५ जना अहिलेसम्म पनि डीएसपीमै छन्।

सशस्त्र प्रहरी निरीक्षकको प्राविधिकबाहेक ९३० दरबन्दी छ। डीएसपी ३६०, एसपी ९०, एसएसपी २६, डीआईजी १६ र एआईजीको दुई दरबन्दी छ। सशस्त्र प्रहरीको जम्मा ३७ हजार १ सय १६ दरबन्दी छ।

अहिले सरकारले दरबन्दी थप गर्ने तयारी गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .