ad ad

राजनीति


एमाले जेठ २ मा फर्किँदै, माओवादी केन्द्र कता फर्केला?

एमाले जेठ २ मा फर्किँदै, माओवादी केन्द्र कता फर्केला?

सागर न्यौपाने
जेठ ३, २०७८ सोमबार १४:८,

आज जेठ ३ गते। २०७५ मा आजकै दिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेको थियो।

सबैथोक ठिकठाक चलिरहेको भए नेकपाका नेताहरु आज तेस्रो एकता दिवस मनाइरहेका हुन्थे। तर, त्यसो भएन।

दुई वर्षमै अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अन्तरसंघर्ष चुलियो। र, लामो किचलोपछि अन्ततः गत फागुन २३ गते सर्वाेच्च अदालतले पार्टी एकता भंग गर्ने फैसला गर्‍यो।

एमालेभित्र पनि माधव नेपाल पक्ष र ओली पक्षबीच तीव्र मतभेद थियो। तर, नेपाल पक्षको मागबमोजिम ओली ०७५ जेठ २ गतेकै अवस्थामा फर्किन सहमत भए र उनीहरुबीचको विवाद समाधानउन्मुख छ।

एमाले जेठ २ को स्थितिमा फर्किंन खोजिरहँदा तत्कालीन नेकपाको अर्काे घटक माओवादी केन्द्र भने दोबाटोमा अलमलिएको देखिन्छ।

कतिपय नेताहरुले अझै कम्युनिस्ट एकताको रट लगाउन छाडेका छैनन्। तर, माओवादी केन्द्रका धेरैजसो नेता–कार्यकर्ता हतास मनस्थितिमा देखिन्छन्। सामाजिक सञ्जालमा उनीहरुले व्यक्त गरेका निराशा र नेतृत्वप्रतिको आक्रोशलाई हेर्ने हो भने पार्टीले गम्भीर गल्ती गरेको ठम्याउन सकिन्छ।

अध्यक्ष प्रचण्ड पार्टीलाई अब कसरी अगाडि लैजाने भन्ने विषयमा आन्तरिक छलफलमा छन्। तर, उनले ठोस रणनीति बनाउन सकेका छैनन्। अझै एक महिना नेपालको राजनीतिक परिदृश्य अध्ययन गर्नुपर्ने उनको निष्कर्ष छ।

स्थायी समिति सदस्य लीलामणि पोखरेलले भने पार्टी पुननिर्माणको प्रक्रिया सुरु भइसकेको बताए।

‘हिजोको कदमको मूल्यांकन गर्दै पार्टीलाई पुननिर्माण गर्दै तत्काल राजनीतिक गतिविधि अगाडि बढाउने प्रक्रिया अघि बढाइएको छ,’ पोखरेलले नेपालखबरसँग भने, ‘अन्य विचार मिल्ने पार्टीसँग मोर्चाबन्दी गर्दै ध्रुवीकरण अगाडि बढ्छ।’

‘नीतिगत रुपमा कार्ययोजना बनाउँदैछौँ। त्यसका लागि आवश्यक दस्तावेज लेखिँदैछ। अब छिट्टै केन्द्रीय समितिको बैठक पनि बस्दैछ, सकियो भने प्रत्यक्ष नत्र जुमबाट भएपनि केन्द्रीय समितिको बैठक बस्ने तयारी छ,’ उनले थपे।

तर, नेता सुरेन्द्र कार्की भने माओवादीले आफ्नो वर्गीय आधार त्यागेकाले यो समस्या आएको र उही स्थानमा नफर्किए पार्टी नै समाप्त हुने टिप्पणी गरे।

‘माओवादीले आफूलाई त्यहाँ पुर्‍याउने वर्ग नै बिर्सिएको थियो,’ कार्कीले भने, ‘अब त्यही वर्गतिर फर्कियो भने बाँच्छ नत्र माओवादी टिक्दैन। अब मजदुर, किसानकहाँ फर्किनुको विकल्प छैन।’

स्थायी समिति सदस्य देव गुरुङ अझै कम्युनिस्टहरुबीच एकताको खोजी गर्नुपर्ने बताउँछन्।

‘हाम्रो उद्देश्यलाई कायमै राख्नुपर्छ। एकचोटी विदेशी र देशभित्रका पार्टी एकताको मर्म नबुझ्ने र जनताप्रति इमान्दार नहुने प्रवृत्तिले पार्टी एकतालाई भाँजो हाल्यो, पार्टी एकतालाई विभाजनमा पुर्‍यायो, प्रतिगमनको दिशातिर देशलाई लग्यो भनेर अब कम्युनिष्टहरुको एकता काम नलाग्दो रहेछ भन्ने सोच्नु गलत हुन्छ,’ उनले भने, ‘अब हामीले फेरि कम्युनिस्टहरुलाई एकताबद्ध गर्ने प्रयास गर्दै सांस्कृतिक रुपान्तरणको अभियान चलाउनुपर्छ।’

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि विदेशी शक्तिहरुले पार्टी विभाजन गरेपनि फेरि एकता प्रक्रियामा जोडिने बताए।

‘माओवादीले आफूलाई सांस्कृतिक रुपान्तरण गर्छ,’ श्रेष्ठले भने, ‘कम्युनिस्ट, क्रान्तिकारीहरुसँग एकता गर्ने र अन्य लोकतान्त्रिक, देशभक्त शक्तिहरुसँग पनि संयुक्त मोर्चा गरेर अघि बढ्नेबारे सोचेको छ।’

अध्यक्ष प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले आइतबार सामाजिक सञ्जालमार्फत पार्टी सञ्चालनका लागि सुझाव समेत मागेकी छिन्।

‘हाम्रो गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र) द्वारा आगामी दिनका लागि विचार, राजनीतिक, संगठनात्मक संरचना, घाइते अपाङ्ग एवम् सहिद परिवारलगायत नेता कार्यकताको आचरण अनि व्यवस्थापन र जिम्मेवारीको बारेमा नयाँ ढंगले अगाडि बढाउने सोच राखेकोले उचित राय सल्लाह सुझावको अपेक्षा गरिएको छ,’ दाहालले फेसबुकमा लेखेकी छिन्।

२०७७ फागुन २३ गते सर्वाेच्च अदालतले माओवादी केन्द्र र एमालेबीच एकता भएर बनेको नेकपालाई भंग गर्ने फैसला गरेपछि दुवै पार्टी पुरानै अवस्थामा फर्किन बाध्य भए। तर, कर्णाली, लुम्बिनीलगायतका केही प्रदेशमा एमालेकै नेपाल पक्षका नेताहरुले माओवादी केन्द्रसँगको सहकार्य जारी राखेपछि माओवादी र नेपाल पक्षबीच घनिष्ठता चुलियो।

पार्टीविरोधी गतिविधि गरेको भन्दै ओलीले नेपालसहितका नेताहरुलाई कारबाही पनि गरे।

तर, वैशाख ३० गते ओली र नेता नेपालबीच सहमति भएपछि माओवादी र नेपाल समूहबीचको सहकार्यको सम्भावना टुटेको छ। के यसले माओवादी केन्द्रको भविष्यमा धक्का लागेको हो?

स्थायी समिति सदस्य लीलामणि पोखरेलले एमालेमा ओली र नेपाल पक्षबीचको मतभेद वैचारिक नभई प्राविधिक मात्र भएकाले यो स्वभाविक भएको बताए। त्यसैले माओवादीलाई यसबाट धक्का नलाग्ने उनको दाबी छ।

‘एमालेको माधव नेपाल पक्षमा तीनवटा प्रवृत्ति देखन्थ्यो। एक– नयाँ पार्टी बनाएर जानुपर्छ भन्नेहरु। दोस्रो– मदन भण्डारीको विरासत हामीले बोक्ने हो, जनताको बहुदलीय जनवाद लिएर ओलीलाई निषेध गरेर जानुपर्छ भन्नेहरु र तेस्रो, ओली र नेपाल पक्ष मिलेर जानुपर्छ भन्नेहरु,’ पोखरेलले भने, ‘अन्ततः तेस्रो धार हाबी भएपछि नेपाल एमालेमै सम्झौता गर्न थाल्नुभयो। यो स्वभाविक पनि हो। यसले हामीलाई धक्का पुग्दैन।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .