ad ad

राजनीति


एमाले कार्यदलको पहिलो बैठकबारे नै अलमल!

एमाले कार्यदलको पहिलो बैठकबारे नै अलमल!

नेपालखबर
जेठ ३, २०७८ सोमबार ८:७,

सत्तारुढ दल नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्नका लागि गठित कार्यदलको पहिलो बैठक बस्नेबारे नै अलमल देखिएको छ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आइतबार सिंहदरबारमा भएको वार्तामा पार्टीका विवाद सामाधानका उपायहरु खोज्नका लागि १० सदस्यीय कार्यदल निर्माण गरिएको थियो।

कार्यदलका सदस्य गोकर्ण विष्टले कार्यदलको पहिलो बैठक कहिले बस्ने भन्ने निश्चित भइनसकेको बताए।

कार्यदलमा अध्यक्ष ओली पक्षबाट पाँच र नेपाल पक्षबाट पाँच जना सदस्य चयन गरिएको छ।

तीमध्ये ओली पक्षको नेतृत्व सुवास नेम्वाङले गर्ने छन भने नेपाल पक्षको नेतृत्व भीम रावलले गर्ने छन्।

कार्यदलमा ओलीका तर्फबाट विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल सदस्य रहेका छन्।

त्यसैगरी नेपाल पक्षबाट घनश्याम भूसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन्।

नेता नेम्वाङले भने कार्यदलका सदस्यहरु सम्पर्कमै रहेको र आज भोली नै बैठक बसेर काम अघि बढाउने बताए।

‘कति दिनमा सक्ने भन्ने छैन तर चाँडै टुङ्गोमा पुग्ने प्रयास हुनेछ,’ उनले नेपालखबरसँग भने।

प्रधानमन्त्री ओली र नेता नेपालबीच भएको वार्तामा एमालेको पार्टी संरचनालाई माओवादीसँग एकीकरण हुनुभन्दा एक दिनअघि अर्थात् २०७५ जेठ २ गतेको अवस्थाबाट ब्युँताउने सैद्धान्तिक सहमति भएको थियो।

सोहि सहमतिका आधारमा कार्यदलले सांगठनिक तथा प्रविधिक सबै विषयको विस्तृत अध्ययन गरी आन्तरिक विवादका विषयलाई सुल्झाउने उपायसहितको प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ।

नेपाल पक्षले सो कार्यदलमा तत्काल काम सुरु गरी छिट्टै निर्णय गराउन चाहेको छ भने ओली पक्ष त्यति आतुर देखिँदैन।

हिजो आइतबारको बैठकमै नेता नेपालले ओलीसँग कार्यदललाई तीन दिनको समयसीमा दिन प्रस्ताव गरेका थिए। तर ओली भने त्यसलाई थप समय दिनुपर्ने पक्षमा छन्।

यो पनिः
नेपाल चाहन्छन् तीन दिनभित्रै कार्यदलबाट निर्णय, ओलीको योजना बिहीबारपछि

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .