ad ad

राजनीति


नेपाल चाहन्छन् तीन दिनभित्रै कार्यदलबाट निर्णय, ओलीको योजना बिहीबारपछि

नेपाल चाहन्छन् तीन दिनभित्रै कार्यदलबाट निर्णय, ओलीको योजना बिहीबारपछि

मणि दाहाल
जेठ २, २०७८ आइतबार १७:४९,

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सो पार्टीको विवाद समाधानका लागि गठन गरिएको कार्यदललाई तीन दिनको समय दिएर सहमति खोज्न प्रस्ताव गरिएको बताएका छन्।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको आइतबार दिउँसो सिंहदरबारमा भएको वार्तापछि उनले सो प्रतिक्रिया दिएका हुन्।
तर प्रधानमन्त्री ओलीले भने केही थप समय आवश्यक पर्ने बताएका छन्।

‘मैले तीन दिनको समय दिउँ भनेर प्रस्ताव गरेको छु तर प्रधानमन्त्रीले केही सयम लाग्ने बताउनु भएको छ,’ बैठकपछि सञ्चारकर्मीलाई नेता नेपालले भनेका थिए।

नेपाल पक्षको मागअनुसार २०७५ जेठ २ को पार्टी संगठन संरचनामा पुग्न प्रधानमन्त्री सैद्धान्तिक रुपमा सहमत भए पनि नेपाल पक्ष भने विवादका विषय चाँडो टुंग्याउन चाहन्छ।

‘चाँडो गरौं भन्नु पछिको पहिलो कारण हो– प्रधानमन्त्रीप्रति अझै पनि विश्वास नहुनु। उहाँ लिखित सम्झौता त नमान्ने नेता अझ अहिलेको सहमति त मौखिक न हो,’ नेता नेपालको तर्फबाट कार्यदलमा सदस्य रहेका एक नेताले भने, ‘अर्को कुरा केही विषयमा नेता नेपालले महत्वपूर्ण निर्णयहरु छिट्टै गर्नुपर्ने छ।’

प्रधानमन्त्री ओलीसँग पार्टीभित्र देखिएको समस्या समाधान गर्नमा सहमति गरेर फर्केपछि नेता नेपालले आफूनिकट केन्द्रीय नेताहरुसँग गरेको भर्चुअल संवादमा उनीहरुले राष्ट्रिय सभाको निर्वाचन अघि नै कार्यदलबाट पार्टीका मिलाउनुपर्ने विषयमा निष्कर्ष दिनुपर्ने बताएका थिए।

विवाद समाधानका लागि प्रधानमन्त्री ओली र नेता नेपालतर्फका पाँच–पाँचजना नेताहरु राखेर १० सदस्यीय कार्यदल गठन गरिएको छ।

प्रधानमन्त्रीसँग नेपाल समूहको अविश्वास भएका कारण मात्र नभई नेपालले एमालेको पार्टी जीवनमा दुरगामी असर पार्ने केही महत्वपूर्ण निर्णयहरु तत्काल गर्नुपर्ने भएका कारण पनि नेता नेपालले विवादका विषय छिटो टुंग्याउनु चाहेको एक स्थायी समिति सदस्यले बताए।
आगामी बिहीबार हुने वागमती प्रदेशको राष्ट्रियसभाको उपनिर्वाचन पनि एउटा कारण हो।

उपनिर्वाचनमा एमालेको आधिकारिक उम्मेदवारको रुपमा पूर्वमाओवादी नेता तथा गृहमन्त्री रामबहादुर थापा छन भने संघीयताविद डा. खिमलाल देवकोटा उनीसँगको प्रतिस्पर्धामा छन्।

नेता नेपालनिकट रहेका देवकोटालाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनले समर्थन गरेको छ। नेपाल पक्ष र ओलीबीच समझदारी हुनुअघि नेपाल समूह र अन्य विपक्षी दलहरुको साझा उम्मेदवारको रुपमा देवकोटालाई अघि बढाइएको हो।

राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश सभा सदस्य र पालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्छन्।

प्रदेश सभाका एकजना सदस्यको मतभार ४८ हुन्छ भने स्थानीय तहका प्रमुख र उपप्रमुखको १८–१८ हुन्छ। १ सय १० जना प्रदेश सभा सदस्यको जम्मा मतभार ५ हजार २ सय ८० हुन्छ।

स्थानीय तह एकजना प्रमुख वा उपप्रमुख १८ हुँदा २ सय ३८ जनाको मतभार ४ हजार २ सय ८४ पुग्छ।

राष्ट्रिय सभाको निर्वाचनमा बागमती प्रदेशको कूल मतभार ९ हजार ५ सय ६४ पुग्छ।

तर एमालेका सबै प्रतिनिधिहरुको मत एकै स्थानमा पर्दा थापाको जितसहज छ।

हाल एमालेको ५६ जना प्रदेश सांसद छन् भने १ सय ३३ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख छन्।

नेमकिपाले कृष्णबहादुर तामाङलाई आफ्नो उम्मेदवार बनाएको छ भने राप्रपाले एमालेकै उम्मेदवारलाई सघाउने भएको छ।

वागमती प्रदेशमा पनि एमाले केन्द्रमा जस्तै विभाजित छ। वागमती प्रदेशमा सग्लो एमालेका अहिले ५६ जना सांसद छन्। गतसाता सांसद पशुपति चौलागाईको निधन भएको थियो। ५६ मध्ये सभामुख सानुकुमार श्रेष्ठसहित ओली पक्षमा ३५ जना छन्। सभामुखले मतदान गर्न नपाउने भएकाले सो पक्षका मतदान गर्ने सांसदको संख्या ३४ छ।

यता नेपाल पक्षसँग २१ सांसद छन्। यस्तै प्रदेशमा माओवादीसँग २३ र कांग्रेससँग २२ सांसद छन्। कांग्रेस र माओवादी ४५ र नेपाल पक्षमा रहेका २१ सांसद कायम रहे त्यो संख्या ६६ सांसद हुन्छ। त्यसैगरी एमालेको १ सय ३३ स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये नेपाल पक्षसँग ३० को हाराहारीमा संख्या रहेको छ। जसले गर्दा नेपाल पक्ष जता लाग्छ, त्यतैको जित प्रबल बन्ने देखिन्छ।

तर नेपाल पक्षका नेताहरुले पार्टीभित्र विकसित भएको परिस्थितिमा कसरी अघि बढ्ने भनेर निर्णय भइनसकेको बताउँछन्।

प्रधानमन्त्री ओलीसँग कार्यदल बनाउने विषयमा सहमति गरेर बाहिरिएका नेता नेपाललाई राष्ट्रिय सभाको उपनिर्वाचनको विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नको कुनै जवाफ नदिई बाहिरिएका थिए।

त्यसो त उम्मेदवार बनेका डा. देवकोटाले पनि प्रधानमन्त्री ओली र नेता नेपालबीच सहमति भयो भन्दैमा आफूले उम्मेदवारी फिर्ता नलिने बताएका थिए।

त्यसैले पार्टी विवादका विषयमा कार्यदलबाट छिटो निर्णय गराउने हतारोमा नेता नेपाल देखिन्छन् भने अध्यक्ष ओली चाहिँ बिहीबारको निर्वाचनमा एमालेका सबै भोट पार्टीकै आधिकारिक उम्मेदवार पार्नका लागि समय घर्काउन चाहन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .