ad ad

राजनीति


अब एउटै धार बनाऊँः उपेन्द्र, साथीहरुसँग सल्लाह गरेर जवाफ दिन्छुः महन्थ

अब एउटै धार बनाऊँः उपेन्द्र, साथीहरुसँग सल्लाह गरेर जवाफ दिन्छुः महन्थ

सागर न्यौपाने
जेठ २, २०७८ आइतबार १२:३८,

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरलाई पार्टीमा एउटै धार बनाएर जान प्रस्ताव गरेका छन्।

महन्थले भने आफूनिकट नेताहरुसँग छलफल गरेर जवाफ दिने बताएका छन्।

आइतबार पार्टी कार्यालय बालकुमारीमा उपेन्द्र र महन्थबीच पार्टीभित्र देखा परेका आन्तरिक विवादका विषयमा छलफल भएपनि कुनै निर्णय नभएको उपेन्द्रनिकट नेता मोहम्मद इस्तियाक राईले बताए।

‘पार्टी एक भएर निर्णय गरेर जाऊँ, पार्टी एकता बचाएर जाऊँ भन्ने प्रस्ताव अध्यक्ष यादवले राख्नुभयो,’ राईले नेपालखबरसँग भने।

महन्थले भने नेताहरुसँग छलफल गरेर जवाफ दिन्छु भनेर बाहिरिएको उनले बताए।

‘केपी शर्मा ओलीलाई हेर्ने विषयमा हाम्रो पार्टीभित्र दुईधार देखियो,’ राईका अनुसार उपेन्द्रले महन्थसँग भने, ‘संघीयताविरोधी, मधेसी जनताको भावनासँग खेल्ने, मधेसीले पाएको अधिकार दुरुपयोग गर्ने व्यक्तिको मतियार हाम्रो पार्टी कसरी बन्न सक्छ?’

‘केपी ओलीले जनचाहना, विगतका मधेस आन्दोलनका उपलब्धि, संविधानमा राखिएका उपलब्धि समेत समाप्त पार्न खोजे। चुच्चे नक्सा उडाउन खोजे, मधेसी, मुस्लिम, आदिवासी जनजाति, दलित लगायतको अधिकार खोस्न खोजिँदैछ, यो जोगाउनको निम्ति उनका विरुद्ध उभिनुपर्छ,’ उपेन्द्रले महन्थसँग भने।

‘महन्थजीले यो मुद्दाको पक्षमा उभिने कि नउभिने भनेर सल्लाह गरेर भन्छु भन्नुभएको रहेछ,’ राईले भने।

आफूले मधेसको मुद्दाभन्दा अन्य कुरा केही नहेरेको महन्थले बताएका थिए।

‘मैले अहिले मधेसको मुद्दा सम्बोधनको विषयमा मात्र कुरा गरिरहेको छु,’ महन्थले उपेन्द्रलाई जवाफ दिए, ‘त्यही भएर प्रधानमन्त्रीलाई विश्वासको मत पनि दिएनौँ, हामी तटस्थ बस्यौँ।’

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने/नदिनेबारे उपेन्द्र र महन्थ पक्ष विभाजित भएका थिए। महन्थ पक्षका १५ सांसद तटस्थ बसेपनि उपेन्द्र पक्षका १७ जनाले भने विपक्षमा मतदान गरेका थिए।

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि बहुमतको सरकार बनाउन उपेन्द्र र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई खुलेर लागे भने महन्थसहित वरिष्ठ नेता राजेन्द्र महतो त्यसलाई रोक्न सक्रिय रहे।

जसकारण नेपाली कांग्रेसले बहुमतको दाबी गर्न सकेन र संसदमा रहेको सबैभन्दा ठूलो दलको हैसियतमा ओली अल्पमतको प्रधानमन्त्री बनेका छन्।

छलफलमा महतोलाई संसदीय दलको नेता चयन गरेको विषयमा पनि उपेन्द्रले  ठाकुरलाई प्रश्न गरेका थिए। 

‘पार्टी विधानविपरीत गरिएका यस्ता कार्यले राम्रो गर्दैन। एकतालाई जोगाउने, अहिलेको सरकारलाई हेर्ने दृष्टिकोण प्रष्ट पार्ने र एउटै धार बनाएर जानुपर्छ,’ उपेन्द्रले ठाकुरसँग भने।

तर, महन्थले त्यसबारे पनि केही जवाफ दिएनन्।

महन्थनिकट एक जना प्रभावशाली नेताका अनुसार जसपा विवाद साम्य हुने सम्भावना निकै कम छ।

अर्का एक कार्यकारिणी समिति सदस्यका अनुसार एक दुईदिनमा जसपाको कार्यकारिणी समितिको बैठक आह्वान हुन सक्नेछ।

त्यसअघि जसपाको ६ सदस्यीय शीर्ष पदाधिकारीको बैठक बस्नेछ। पदाधिकारीमा महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ छन्।

पदाधिकारीमा उपेन्द्रको बहुमत छ। ४ जना उनको पक्षमा छन्।

जसपाका उपेन्द्र पक्षका नेताहरुले ठाकुर पार्टी विधानविपरीत गरिएका निर्णय सच्याउन तयार नभए विधान अनुसार अगाडि बढ्ने बताएका छन्।

जसपाको विधानमा हरेक निर्णय केन्द्रीय कार्यकारिणी समितिबाट पारित गर्ने उल्लेख छ।

उपेन्द्र–बाबुराम पक्षका सांसदहरुको शनिबार छलफल भएको थियो। अन्तिम प्रयासस्वरुप महन्थसँग छलफल भएको नेताहरुले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .