ad ad

राजनीति


यसकारण पुग्यो जसपा फुटको संघारमा

यसकारण पुग्यो जसपा फुटको संघारमा

प्रशान्त लामिछाने
जेठ २, २०७८ आइतबार १०:५८,

जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद फुटनजिक पुगेको छ। प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा सुरु भएको विवाद चर्किँदै जाँदा जसपाका दुई खेमा अलग हुने स्थितिमा पुगेका छन्।

अध्यक्ष महन्थ ठाकुर पक्षले भक्तपुरको एक रिसोर्टमा शुक्रबार राजेन्द्र महतोलाई संसदीय दलको नेतामा चयन गरेको दाबी गरेपछि जसपा भित्रको विवाद चरम उत्कर्षमा पुगेको हो।

ठाकुर पक्षले महतोलाई संसदीय दलको नेता चयन गरेपछि शनिबार अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका थिए।

तर, ठाकुरले विज्ञप्ति जारी गर्दै उक्त बैठकलाई अस्वीकार गरेका थिए। जसपाको कुनै बैठक नबोलाइएको र त्यसबारे कुनै जानकारी नभएको जनाएका थिए।

यता शनिबार नै उपेन्द्र पक्षले संसदीय दलको नेता चयन गर्न संसदीय दलको कुनै बैठक नबसेको विज्ञप्तिमार्फत बताएको थियो।

'पार्टीको अन्तरिम विधान-२०७७ को धारा २८ को उपधारा (३) बमोजिम केन्द्रीय कार्यकारिणी समितिबाट संसदीय दलको विधान अनुमोदित हुनपर्ने अनिवार्य व्यवस्थाबमोजिम हालसम्म संसदीय दलको विधान नबनेको र अनुमोदनसमेत नभएको र संसदीय दलको कुनै पनि बैठक नभएकाले उक्त समाचार भ्रमपूर्ण रहेको जानकारी गराउँछौं,' विज्ञप्तिमा भनिएको थियो।

शनिबारसम्म आइपुग्दा दुई पक्षबीच संवाद टुटेर एकअर्कालाई अस्वीकार गर्दै सार्वजनिक वक्तव्यबाजी चलेको थियो।

यसअघि नै लुम्बिनी प्रदेश सरकारमा पार्टी निर्णयविपरीत ठाकुर पक्षका ४ सांसद मुख्यमन्त्री शंकर पोखरेलको मन्त्रिमण्डलमा सहभागी भएपछि जसपाको विवाद छताछुल्ल भएको थियो।

शनिबार नै बसेको उपेन्द्र-बाबुराम भट्टराई पक्षको बैठकले महन्थ ठाकुरसँग एकताका लागि अन्तिम प्रयास गर्ने निर्णय गर्‍यो।

त्यसका लागि अध्यक्ष ठाकुरसँग छलफल गर्ने र एकताको अन्तिम प्रयास गर्ने उपेन्द्र-बाबुराम पक्षको योजना छ। त्यस अनुसार आइतबार ठाकुर र यादवबीच पार्टी कार्यालय बालकुमारीमा लामो छलफल भएको छ।

पार्टीमा एकधार बनाउन अन्तिम प्रयास गर्न लागिएको उपेन्द्र पक्षका नेता इश्तियाक राई बताउँछन्।

'कसैका कारण पार्टी विभाजन हुनु हुनुहुँदैन', राईले नेपालखबरसँग भने, 'पार्टीको एकता जोगाउन हामी अन्तिम प्रयास गर्दैछौं।'

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी नेपालबीच ०७७ वैशाख १० गते मध्यराति एकता भएको थियो।

कोरोना कहरकै बीच दुई पार्टीले एकता घोषणा गरेका थिए। प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि उनीहरुको एकता भएको थियो। यसलाई ओलीविरोधी शक्तिको ध्रुवीकरणका रुपमा हेरिएको थियो।

तर, त्यसको एक वर्ष नबित्दै ओली जसपाका आन्तरिक राजनीतिमा खेल्न सफल भए। जसका कारण ओली-कदमको विरोधमा जन्मिएको पार्टी उनलाई समर्थन गर्ने कि नगर्ने भन्ने मतभेदका कारण फुटको दिशामा अघि बढेको छ।

विश्वासको मतदेखि सरकार गठनसम्म आउँदा बढेको विवाद

वैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत माग्दा ठाकुर पक्षका १५ जना सांसद तटस्थ बसेका थिए भने उपेन्द्र- बाबुराम पक्षका सांसदले विपक्षमा मतदान गरेका थिए।

त्यसअघि बसेको जसपा शीर्ष नेताको बैठकले विश्वासको मत हाल्दा सांसदलाई स्वविवेक प्रयोग गर्न दिने भन्दै तत्कालीन खतरा टारिएको थियो। तर वैकल्पिक सरकार गठनको प्रक्रियामा आउँदा विवाद बढेर गयो।

ओलीले विश्वासको मत नपाएपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाले बहुमतको सरकार बनाउने प्रयास गरे। त्यसबीचमा ठाकुर पक्षका सांसदलाई ओली निकट सांसद महेश बस्नेतले भक्तपुरको एक रिसोर्टमा लगेर राखे। त्यहीँबाट महतोलाई संसदीय दलको नेता चयन गरियो।

'अर्को पार्टीको सांसदसमेत राखेर बैठक बस्ने यो कस्तो संरचना हो। पार्टीभित्र दुई धार अब रहँदैन,' राई भन्छन्।

आइतबार ठाकुर र यादवबीच एकताका लागि भएको भनिएको  वार्तामा ठाकुरले आफ्नो पक्षका नेताहरुसँग कुराकानी गरेपछि निर्णय दिने बताएका थिए।

जसपाभित्रका दुई स्कुल

मधेश मामला जानकार विजयकान्त कर्णको बुझाइमा अब जसपाको फुट रोक्न सकिने अवस्थामा छैन। एकतादेखि नै दुई समूहका समस्या रहेको र एकताले तत्कालीन संकटमात्र टारेको उनको भनाइ छ।

'फरक परिस्थितिले एकता भए पनि तौरतरिका र विचार मिल्दैन। अब पार्टी विभाजन भएकै जस्तो देखिन्छ,' कर्णले नेपालखबरसँग भने, 'लोकतन्त्रमा पार्टी विभाजन हुनु राम्रो होइन तर विचार नमिलेपछि सँगै बस्दा झन् नराम्रो हुन्छ।'

एउटै पार्टी भित्रबाट सरकारको समर्थन र विरोध गर्नुले राम्रो सन्देश नदिएको उनले बताए।

जसपामा कांग्रेस स्कुलिङबाट आएकाहरु एकातर्फ र कम्युनिस्ट स्कुलिङबाट आएकाहरुको अर्कोतर्फ देखिन्छ।

कम्युनिस्ट राजनीति गरेर आएका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबबुराम भट्टराई, महेन्द्र राय यादवहरु एउटा समूहमा छन् भने कांग्रेस राजनीतिबाट आएका महन्थ ठाकुर, शरतसिंह भण्डारीहरु अर्को खेमामा छन्। कम्युनिस्ट राजनीतिक र डेमोक्र्याट राजनीतिबाट आएकाहरुको वैचारिक भिन्नताले पनि काम गरेको हुनसक्ने कर्णको भनाइ छ।

बहुमतमा दुवैको दाबी

पार्टी विभाजनका लागि विद्यमान कानुनअनुसार संसदीय दल र पार्टीमा ४० प्रतिशत पुग्नु पर्छ।

जसपामा दुवै पक्षले बहुमत रहेको दाबी गरेका छन्। हात ३२ सांसद रहेको जसपामा प्रधानमन्त्रीलाई विश्वासको मत दिने क्रममा १५ जना मात्र ठकुर पक्षमा देखिएका थिए भने १७ सांसद उपेन्द्र पक्षमा देखिएका थिए।

तर, ठाकुर पक्षले राजेन्द्र महतोलाई बहुमतको आधारमा संसदीय दलको नेता चयन गरेको दाबी गरेको छ। ठाकुर पक्षले १९ जना सांसदको समर्थनमा महतोलाई दलको नेता चयन गरेको दाबी गरेको थियो।

५१ सदस्यीय केन्द्रीय कार्यकारिणीमा भने उपेन्द्र पक्ष बहुमतमा छ। पूर्वराजपाका ३ जना अहिले उपेन्द्र-बाबुरामतर्फ छन्। महेन्द्र यादव, गजाधर यादव र रमेश यादवले कित्ता परिवर्तन गरेका हुन्। महेन्द्र यादव पक्षका नेताहरुले ठाकुरलाई छोडेको दाबी उपेन्द्र पक्षको छ।

यो पनिः
अब एउटै धार बनाऊँः उपेन्द्र, साथीहरुसँग सल्लाह गरेर जवाफ दिन्छुः महन्थ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .