ad ad

राजनीति


ओली र नेपालको सहमतिसँगै माओवादी नेतृत्वको सुदूरपश्चिम सरकार धरापमा

ओली र नेपालको सहमतिसँगै माओवादी नेतृत्वको सुदूरपश्चिम सरकार धरापमा

गोकुल जोशी
बैशाख ३१, २०७८ शुक्रबार १५:५,

नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार संकटमा परेको छ।

बिहीवार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको सहमतिले सुदूरपश्चिम प्रदेशको राजनीति तरंगित भएको हो।

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच पार्टीमा देखिएको विवाद समाधानका लागि कार्यदल गठन गर्ने लगायत विषयको सहमतिले एमाले फुटबाट जोगिएको छ। ओली र नेपालबीचको सहमतिसँगै फुटबाट टरेको एमालेलाई सुदूरपश्चिममा आफ्नो नेतृत्वमा सरकार गठन गर्ने बाटो पनि खुलेको छ।

आफ्नै नेतृत्वमा सरकार गठन गर्न तयारी थालिएको नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष कर्ण थापाले बताए।

‘हामी केही महिना अगाडिदेखि नै आफ्नै नेतृत्वमा सरकार गठन गर्ने योजनामा थियौँ। तर पार्टीकै एक पक्षको साथ नहुँदा सफल हुन सकेनौँ’ उनले नेपालखबरसँग भने, ‘अहिले अध्यक्षज्यू र उहाँहरुसँग सहमति भएको छ। तर उहाँहरु कुन ढंगले आउनुभएको छ, त्यो अझै टुंगो लागेको छैन।’

केही महिना अगाडि माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय भएकोले सो निर्णय कार्यान्वयन हुनु पर्नेमा उनले जोड दिए।

‘वर्तमान सरकारले जनताप्रति उत्तरदायी भएर काम गर्न सकेको छैन। त्यसैले आफ्नै नेतृत्वमा सरकार बनाउने तयारी अगाडि बढाएका छौँ’ उनले भने, ‘संगठनमा बसिसके पछि संगठनको निर्णय मान्नु पर्‍यो। समर्थन फिर्ता लिने र मन्त्रीहरुले राजिनामा दिने निर्णय कार्यान्वयन हुनु पर्छ।’

तत्कालीन माओवादी केन्द्रका नेता लेखराज भट्टको सिफारिसमा मुख्यमन्त्री बनेका त्रिलोचन भट्टको सरकार धरापमा परेको हो। केही समय अगाडिदेखि सरकार फेर्न एमाले नेता एवम् वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्ट सक्रिय थिए। तर एमालेमा देखिएको धुव्रिकरणले प्रदेश सभामा अल्मपतमा रहेको ओली पक्ष सरकार फेर्न असफल भएको थियो।

सुदूरपश्चिम प्रदेश सरकार ढाल्न उद्योगमन्त्री भट्ट सक्रिय

माओवादी केन्द्र नेतृत्वको सरकार अब चाँडै ढाल्ने एमालेको ओली पक्षीय एक प्रदेश सांसदले दाबी गरे।

‘सहमतिसँगै राजनीतिक परिवेश फेरिएको छ। अब चाँडै हाम्रो नेतृत्वमा सरकार गठन हुन्छ’ ती सांसदले नेपालखबरसँग भने, ‘पार्टीको केन्द्र र प्रदेशको निर्देशन आउँछ। त्यही अनुसार अगाडि बढ्छौँ।’

सुदूरपश्चिम प्रदेश सरकारमा अहिले नेकपा एमालेबाट आन्तरिक मामिल तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री माया भट्ट र सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी छन्। यी तीनै जना एमालेको माधव–झलनाथ निकट मानिन्छन्।

६ मन्त्रालय रहेको सुदूरपश्चिम प्रदेश सरकारमा दुई मन्त्रालय रिक्त छन्। प्रतिनिधि सभा विघटन पछि तत्कालीन नेकपा विभाजित भएका बेला ओली निकट भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्री भट्टले पदमुक्त गरेका थिए। नेकपा माओवादी केन्द्रबाट विजयी आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा मन्त्री पदबाट राजिनामा दिँदै ओली खेमामा उभिएका थिए।

यस्तो छ अंकगणित
नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको त्रिलोचन भट्ट नेतृत्वको सरकार अल्पमतमा छ। ५३ प्रदेश सभा सदस्य संख्या रहेको सुदूरपश्चिममा एमालेका २५ (सभामुख सहित), माओवादी केन्द्रका १४ (एक जना निलम्बन), नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना सांसद छन्।

सर्वोच्चको फैसलासँगै सुदूरपश्चिम सरकार संकटमा, यस्तो छ अंकगणित

माओवादी केन्द्रसग अहिले १३ जना सांसद मात्रै छन्। पूर्वआर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा नेकपा एमालेतिर गएपछि उनलाई कारबाही गरिएको थियो। नयाँ सरकार गठन गर्न २७ सांसद आवश्यक पर्दछन्।

जसपा निर्णायक
सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टी निर्णायक बन्ने देखिन्छ। प्रदेश सभामा सबैभन्दा ठूलो पार्टी नेकपा एमाले (सभामुख सहित २५) छ।

माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएर आफ्नै नेतृत्वमा सरकार गठन गर्न चाहे एमाले एक ढिक्का हुनु पर्छ र उसलाई दुई सांसद मात्रै आवश्यक पर्दछन्।

नेकपा एमालेको माधव–झलनाथ पक्ष प्रदेश सभामा बलियो छ। अध्यक्ष ओलीको पक्षमा ६ सांसद छन् भने माधव–झलनाथको पक्षमा १९ जना सांसद देखिएका छन्। ओली खेमा प्रदेश सरकार फेर्ने पक्षमा छ भने माधव–झलनाथ पक्ष त्यो चाहन्न।

एक ढिक्का भएर आफ्नै नेतृत्वमा सरकार गठन गर्न पार्टीले अग्रसरता लिए सरकार गठन हुनेमा एमालेका प्रदेश सांसद विश्वस्त छन्।

‘सरकार गठन गर्न जसपाले सहयोग गर्न सक्छ। केन्द्रमा पनि जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष हामीसँगै छ’ एमालेका एक प्रदेश सांसदले नेपालखबरसँग भने, ‘जसपामा पनि दुई धार छ। तर यहाँका दुई सांसद साविक राजपा (ठाकुर–महतो) कै छन्।’

के भन्छ जसपा?
जनता समाजवादी पार्टीकी संसदीय दलकी नेता मालामती कुमार राना थारु आफूहरु सरकार गिराउने र बनाउने पक्षमा नलागेर तटस्थ बस्ने दाबी गर्छिन्। अहिले नै सरकारमा जाने वा समर्थन गर्ने विषयमा कुनै छलफल नभएको उनले बताइन्।

‘सरकार फेरबदल गर्ने खेलमा हामी लाग्दैनौँ। केन्द्रको जस्तै तटस्थ बस्छौँ’ उनले भनिन्, ‘रेशम चौधरीको रिहाई लगायतका हाम्रा माग सम्बोधन गरिनु पर्छ। थप पार्टी केन्द्रको निर्देशन अनुसार अगाडि बढ्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .