ad ad

राजनीति


जसपा बहुमत सदस्यले चुने राजेन्द्र महतोलाई संसदीय दलको नेता

जसपा बहुमत सदस्यले चुने राजेन्द्र महतोलाई संसदीय दलको नेता

नेपालखबर
बैशाख ३१, २०७८ शुक्रबार १४:४०,

जनता समाजवादी पार्टी (जसपा) को बहुमत सांसदहरुले संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेका छन्।

अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका सांसदहरुलाई सुइँकै नदिइ दलको नेता परिवर्तन गरिएको हो।

भक्तपुरको एक रिसोर्टमा बिहीबार बसेको जसपाका सांसदहरुको भेलाले महतोलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको सांसद प्रमोद साहले नेपालखबरलाई जानकारी दिए। साहका अनुसार २० जनाको हस्ताक्षरसहित महतोलाई दलको नेता चुनिएको हो।

‘हिजो (बिहीबार) भक्तपुरको रिसोर्टमा बसेको संसदीय दलको बैठकले वरिष्ठ नेता राजेन्द्र महतोलाई दलको नेता चुनेका छौँ’ साहले नेपालखबरसँग भने, ‘त्यो भेलामा १७ जनाको उपस्थिति थियो तर २० जनाको हस्ताक्षर छ।’

उनले अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका सांसद बैठकमा उपस्थित नभएको दाबी गरे।

हिजो हामी साढे १ बजे पार्टी कार्यालय बबरमहल जम्मा भएका थियौं तर त्यहाँ अट्ने सम्भावना भएन, अनि महेशजी (एमाले नेता महेश बस्नेत) ले व्यवस्थापन गरेको भक्तपुरको रिसोर्टमा पुग्यौं, दलको नेता चयन लगायतका विषयमा छलफल गरी निर्णय गरेर राति १० बजे घर फर्कियौं’ साहले थपे।

ठाकुर-महतो पक्षले केपी ओलीलाई पुनः प्रधानमन्त्री बनाउन मुख्य भूमिका खेलेका थिए।

वैशाख २७ गते ओलीले मागेको विश्वासको मत नदिइ ‘मत दिन्न’ भन्ने पक्षमा महन्थ ठाकुर–राजेन्द्र महतोसहितका १५ सांसद उभिएका थिए। सोही कारण वैशाख ३० गते नेपाली कांग्रेसले माओवादी केन्द्र र जसपाको साथ लिएर बहुमत पुर्‍याइ प्रधानमन्त्री दाबी गर्ने कोसिस असफल भएको थियो।

कोरोना लागेका पनि सहभागी
यसैबिच जसपाका तीन जना सांसदहरु प्रमोद साह, नरमाया ढकाल र लक्ष्मणलाल कर्ण कोरोना पोजिटिभ भएपछि घरमै आइसोलेसनमा बसेका थिए। तर हिजो भक्तपुरको रिसोर्टमा जान उनीहरुलाई पनि बाध्य बनाइयो।

संक्रमण नै भएपनी कर्णबाहेक साह र ढकाल भने भक्तपुर पुगेको साहले बताए।

‘पछिल्लो राजनीतिक अवस्था पनि त्यस्तै भयो। फेरि मेरो सिटि भ्यालु पनि कम ३१ छ। अर्को कुरा १० दिन भैसकेको छ, अनि नरमायाजीको पनि त्यस्तै छ’ साहले तर्क गरे।

दलको नेता परिवर्तन गरेसँगै जसपाको विवाद उत्कर्षमा पुग्ने देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .