ad ad

राजनीति


आज राति ९ बजेसम्म बहुमत पुर्‍याउन सक्लान्, देउवाले? नत्र फर्किनेछन्, ओली!

आज राति ९ बजेसम्म बहुमत पुर्‍याउन सक्लान्, देउवाले? नत्र फर्किनेछन्, ओली!

नेपालखबर
बैशाख ३०, २०७८ बिहिबार १:५१,

प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मतमा पराजित भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले विपक्षी दललाई नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज (वैशाख ३० गते) सकिँदैछ।

गत सोमबार (वैशाख २७ गते) संसदमा प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दा बहुमत नपुगेपछि सरकार कामचलाउ बनेको छ भने संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर नयाँ सरकार बनाउन राष्ट्रपति भण्डारीले दिएको ३ दिनको समय आज राति ९ बजे सकिने भएको हो।

यो समयभित्र विपक्षी दलले बहुमत जुटाई राष्ट्रपतिसमक्ष नयाँ प्रधानमन्त्रीको नाम पेस गर्न सकेनन् भने संसदमा सबैभन्दा धेरै सांसद रहेको दलको नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने हुन्छ। अहिले संसदमा सबैभन्दा ठूलो दल एमाले नै हो भने त्यसको संसदीय दलका नेता केपी शर्मा ओली नै हुन्।

यसर्थ आज राति ९ बजेसम्म विपक्षी दलले बहुमत देखाउन सकेनन् भने पुनः ओली नै प्रधानमन्त्री बन्ने सम्भावना छ।

ओली प्रधानमन्त्रीबाट हटेकै दिनदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने कसरत त चलिरहेको छ तर बुधबार साँझसम्म विपक्षी दलले बहुमत पुर्‍याउन सकेका छैनन्।

देउवाका पक्षमा बहुमत पुग्न कांग्रेस, माओवादी केन्द्रसँगै जनता समाजवादी पार्टी (जसपा) पनि एकमत हुनुपर्छ। तर विश्वासको मत दिने दिन तटस्थ बसेको जसपाको महन्थ ठाकुर पक्ष नयाँ सरकार गठनको पक्षमा छैन। विश्वासको मतमा मतदान भएकै दिन सोमबार मध्यराति विज्ञप्ति निकालेर अध्यक्ष ठाकुरले आफू ओलीको विकल्प खोज्ने पक्षमा नरहेको बताइसकेका छन्।

तर त्यस दिन संसद बैठकमै उपस्थित नभएका एमालेकै माधव नेपाल पक्षका २८ सांसदले राजीनामा दिए संसदको कूल सदस्य संख्या घटाउने र विपक्षीलाई बहुमत पुग्ने बाटो खोल्ने चर्चा पनि व्यापक छ। तर बुधबार साँझसम्म यो विषय पनि टुंगो लागिसकेको छैन।

आज राति ९ बजेसम्म विपक्षीले कुनै विकल्प निकाल्न सकेनन् भने सरकार गठनको नयाँ प्रक्रिया सुरु हुनेछ। त्यो हो– संविधानको धारा ७६ (३) अनुसार राष्ट्रपतिले संसदको ठूलो दलको नेतालाई प्रधानमन्त्री चयन गर्ने।

जुन दल ओलीकै हो भने त्यसको संसदीय दलका नेता पनि उनै।

एकमत हुने विषयमा आज टुंगो लगाउने जसपाको दाबी
नयाँ सरकार गठनमा पार्टीभित्र सहमति जुटाउन प्रयासरत जनता समाजवादी पार्टी (जसपा) ले यस विषयमा आज (बिहीबार) टुंगो लगाउने दाबी गरेको छ।

ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा बुधबार भएको जसपाका शीर्ष नेताको बैठकले आज थप छलफल गरी एउटा टुंगोमा पुग्ने निर्णय गरेको हो।

बुधबारबो बैठकमा सरकार गठनबारे विभिन्न विकल्प प्रस्तुत भएको जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले जानकारी दिए।

लोकतान्त्रिक पार्टी भएकाले फरक–फरक धारणा आउनु स्वाभाविक भएको भन्दै उनले छलफल जारी रहेकाले बिहीबार (आज) सम्म पार्टीको एकीकृत धारण तय गरिने दाबी गरेका छन्।

आफ्नो पार्टीमा दुई खेमा होइन, फरक–फरक विचार भएको र लोकतन्त्रिक पार्टीमा यो स्वाभाविक भएको उल्लेख गर्दै उनले संविधानको धारा ७६ को २ अनुसारको वैकल्पिक सरकार निर्माणका लागि दाबी पेस गर्ने अन्तिम दिन बिहीबार (आज) सम्म एकीकृत विचार बनाउने प्रयासमा भइरहेको बताएका छन्।

यी पनि :

गोकुल बाँस्कोटाको प्रश्न : देउवा कसरी प्रधानमन्त्री बन्छन्? कोही छ, बताइदिने?

यसरी फेरि संसद् विघटनको अवस्थामा पुग्न सक्छ मुलुक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .