ad ad

राजनीति


किन ल्याए भट्टराईले प्रधानमन्त्रीमा नयाँ उम्मेदवारको प्रस्ताव?

किन ल्याए भट्टराईले प्रधानमन्त्रीमा नयाँ उम्मेदवारको प्रस्ताव?

नेपालखबर
बैशाख २९, २०७८ बुधबार १७:२५,

कहिल्यै शान्त रहन नपाउने नेपाली राजनीतिको तलाउमा बुधबार बिहान जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एउटा ढुंगा फ्याँके। जसका कारण नेपाली राजनीतिक वृत्तमा अर्को तरंग थपियो।

उनले बुधबार सबेरै ‘देशको संकट हल गर्न यसो गरौं’ भनी एउटा चारबुँदे ट्वीट गरे।

त्यसको पहिलो नम्बरमा थियो, ‘धारा ७६ (२) बमोजिम सबै दलको सहभागिता र बर्तमान तथा पूर्वप्रधानमन्त्री बाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं।’

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा भएको मतदानमा विश्वासको मत गुमाएपछि बहुमतको सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा बिहीबार सकिँदै छ।

बैशाख ३० गते बेलुका ९ बजेसम्म संसदमा रहेका दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रतिनिधि सभामा रहेका बहुमत सांसदहरु सहित राष्ट्रपति समक्ष बहुमतको दाबी गर्न निवेदन पेस गर्न आह्वान भएपछि नेपाली कांग्रेस बहुमतको सरकार बनाउने दौडधुपमा छ।

माओवादी केन्द्रको समर्थन पाएका कांग्रेस सभापति शेरबहादुर देउवा संसदमा ३२ सांसद रहेको जसपाको निर्णयको प्रतीक्षामा छन्।

तर सरकार बनाउन निर्णायक रहेको जसपाकै संघीय परिषद् अध्यक्ष डा. भट्टराईले पूर्वप्रधानमन्त्री बाहेकबाट राष्ट्रिय सरकार बनाउने प्रस्ताव किन गरे? बुधबार बिहानबाट यो चर्चाले नेपाली राजनीतिक वृत्तलाई ततायो।

नेपाली कांग्रेसले यसअघि चारपटक प्रधानमन्त्री भइसकेका पार्टी सभापति देउवालाई नै प्रधानमन्त्री प्रस्ताव गरेर बहुमत दाबी गर्ने तयारी गरिरहेका बेला भट्टराईले गरेको सो ट्वीटको राजनीतिक अर्थ के हो त?

भट्टराईनिकट एक नेताका अनुसार पार्टीभित्र महन्थ ठाकुर–राजेन्द्र महतोलाई समेत नयाँ सरकार गठनमा सहभागी गराउने योजनासहित सो ट्वीट गरिएको हो।

‘भट्टराईजीले पार्टीका सबै नेताहरुलाई एकै ठाउँ ल्याउन सो धारणा सार्वजनिक गर्नुभएको हो,’ ती नेताले भने।

पार्टीभित्रकै एक पक्षले समस्यामा नपारोस् भनेर उनले सो आह्वान गरेको उनका स्वकीय सचिव रोशन पोखरेलले दाबी गरे।

‘नयाँ राष्ट्रिय सरकार बनाएर देशका यावत समस्या समाधान गर्नुपर्छ भन्ने डा. सावको मनसाय हो,’ पोखरेलले नेपालखबरसँग भने, ‘राष्ट्रिय सहमतिमा ओली पनि आउन सक्छन् भने पहल किन नगर्ने भनेर हो।’

राष्ट्रिय सहमतिको सरकार भनेपछि ओली पक्षलाई समेत विश्वासमा लिने भट्टराईको चाहना रहेको पोखरेलले बताए।

‘संकट पार लगाउने उपाय सुझाउन उहाँले छलफल गर्नुभएको छ। त्यसमा सबै पक्षलाई ल्याउन सकियो भने सबै पार्टी एक भएर जानसक्ने वातावरण बन्नसक्छ भन्ने पनि हो,’ पोखरेलले भने।

त्यसो त राष्ट्रपतिले सुरुमै राष्ट्रिय सरकार बनाउन दलहरुलाई आग्रह नै नगरेकोप्रति भट्टराईले संकेत गरेका हुन्।

‘प्रधानमन्त्री ओलीले संसदमा विश्वास गुमाएपछि सुरुमै राष्ट्रपतिले राष्ट्रिय सहमतिको सरकारको आह्वान गर्नुपथ्र्याे त्यसो भएन,’ पोखरेलले तर्क गरे, ‘बहुमतभन्दा पनि अहिलेको आवश्यकता पुरा गर्न संसदमा रहेका सबै दलको सरकार बनाऊँ भन्ने हो।’

त्यही आधारमा भट्टराईले चुनावको कुरा गरेको पनि उनले जिकिर गरे। भट्टराईले सोहि ट्विटमा एकवर्षभित्र चुनाव गर्न सुझाएका छन्।
‘दलका प्रमुख/पूर्वप्रधानमन्त्री रहेको निर्देशक समिति, ३. साझा न्यूनतम कार्यक्रम/कोभिड नियन्त्रण, टीआरसी/मुद्दा, संविधान संशोधन, आर्थिक राहत ४. एक वर्षभित्र चुनाव,’ उनले सो रोडम्यापअनुसार गर्नुपर्ने भनी थप सुझाव दिएका छन्।

तर जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो नेतृत्वको पक्षले भने नयाँ सरकार निर्माणको लागि आफूहरु नलाग्ने भन्दै बुधबार दिउँसो राष्ट्रपति विद्योदेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको छ।

तटस्थ बस्ने भनेका ठाकुर र महतोको दौडधुप जसपाको भट्टराई–यादव पक्षलाई रोक्ने योजनामा छन्।

त्यसअनुसार घटनाक्रम विकसित हुन नदिन भट्टराई सक्रिय छन्। उनले बुधबार दिउँसो ठाकुर र महतोसँग पार्टी कार्यालयमा छलफल पनि गरेका थिए।

ओलीलाई हटाई छाड्ने भट्टराई र यादव पक्षको अडान र ओलीलाई साथ दिने ठाकुर र महतो समूहको जोडका कारण जसपा विभाजनको डिलमा पुगेको छ।

यस्तो जटिल अवस्थामा पहिले प्रधानमन्त्री बनिसकेको व्यक्तिभन्दा अन्य व्यक्तिलाई प्रधानमन्त्री बनाऔं भन्ने प्रस्ताव अघि सारेर ठाकुरलाई त्यसप्रति आकर्षित गर्ने रणनीति हुने जसपाका केहि नेताहरुको अनुमान छ।

यसबाट ठाकुर–ओली निकटतामा केहि प्रभाव पार्न सकिने र पार्टी एकता पनि कायम राख्न सकिने उनको आशा हुनसक्ने ती नेताहरु बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .