ad ad

राजनीति


एमालेका सांसदलाई राजीनामा गर्न लगाएर प्रधानमन्त्री बन्न खोजेको भन्दै विष्णु रिजालद्वारा देउवाको आलोचना

एमालेका सांसदलाई राजीनामा गर्न लगाएर प्रधानमन्त्री बन्न खोजेको भन्दै विष्णु रिजालद्वारा देउवाको आलोचना

नेपालखबर
बैशाख २९, २०७८ बुधबार ११:२१,

आफ्नो पार्टीका सांसदलाई राजीनामा गर्न लगाएर प्रधानमन्त्री बन्न खोजेको भन्दै नेकपा एमालेका नेता विष्णु रिजालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आलोचना गरेका छन्।

देउवाको नेतृत्वमा नयाँ सरकार बनाउन बहुमत नपुग्ने भएपछि एमालेको माधव नेपाल पक्षका २० सांसदले सामूहिक राजीनामा दिएर संसदको कूल सदस्य संख्या घटाई बाटो खुलाउने सहमति भइरहेको चर्चा चलेपछि कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली पक्षका एमाले नेता रिजालले देउवाविरुद्ध टिप्पणी गरेका हुन्।

कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर देउवाको नेतृत्वमा बहुमतको सरकार बनाउन लागेका छन्। तर जसपाकै महन्थ ठाकुर पक्षले साथ नदिने भएपछि बहुमत नपुग्ने स्थिति छ। यस्तो अवस्थामा आफ्ना अध्यक्ष ओलीप्रति रुष्ट नेपाल पक्षका कम्तीमा २० सांसदले राजीनामा दिने र त्यसपछि संसदको कूल सदस्य संख्या घटेर देउवाका पक्षमा बहुमत पुग्ने आकलन भइरहेको छ।

यही तयारीविरुद्ध नेता रिजालले बुधबार अपराह्न सामाजिक सञ्जालमार्फत देउवाको इतिहास खोतल्दै आलोचना गरेका हुन्।

‘नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लाई पार्टीगत सहमतिका आधारमा १३६ सांसद जुटाएर नयाँ सरकार बनाउने सुविधा छ। तर जसपा फुटाएर वा एमालेका सांसदलाई राजीनामा गर्न लगाएर सरकार बनाउन खोजेमा भविष्यमा आफ्नो पार्टीको हालत पनि त्यही हुन्छ भन्ने कांग्रेसलाई याद हुनुपर्ने हो,’ एमाले नेता रिजालले टिप्पणी गरेका छन्, ‘किनकि ०५४ मा एमाले फुटाउन उत्साहसाथ लागेको कांग्रेस ०५९ मा आफैं फुटेको इतिहास पुरानो भएको छैन।’

यसअघि पनि देउवाका नाममा सत्ताकै लागि भक्तबहादुर रोकायलाई गायब पारेको, राप्रपाका सांसदलाई बैंकक पठाएको, सांसदहरू किनेको, इतिहासकै जम्बो मन्त्रिमण्डल बनाएको, सांसदलाई पजेरो सुविधा दिएको र पछि पार्टीले सरकार छाड्न निर्देशन दिँदा पार्टी नै छाडिदिएको जस्ता ‘कीर्तिमान’ कायम रहेको टिप्पणी नेता रिजालले गरेका छन्।

यस्तै अवाञ्छित तरिकाले बनाएको र जोगाएको सरकार ०५३ मा आफ्नै पार्टीका दुई सांसद अनुपस्थित भएर अवाञ्छित तरिकाले नै ढालेको स्मरण पनि उनले देउवालाई गराएका छन्।

नेता रिजालले प्रश्न गरेका छन्, ‘चारपटक प्रधानमन्त्री भइसक्नुभएका र आठ दसक पुग्न लाग्नुभएका देउवाले बहुदलीय प्रजातन्त्रलाई बदनाम बनाउने त्यस कालखण्डलाई फेरि पछ्याउन खोज्दा लोकतन्त्र र कांग्रेसलाई कति फाइदा पुग्ला?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .