ad ad

राजनीति


देउवालाई प्रधानमन्त्री बनाउन नमान्ने बाबुराम भट्टराईको संकेत

देउवालाई प्रधानमन्त्री बनाउन नमान्ने बाबुराम भट्टराईको संकेत

नेपालखबर
बैशाख २९, २०७८ बुधबार २:२५,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनाउने कसरत भइरहेका बेला सहयोगी मानिएको जनता समाजवादी पार्टीकै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले यसमा असहमति जनाउने संकेत गरेका छन्।

जसपामा अध्यक्ष महन्थ ठाकुर पक्ष नयाँ सरकार बनाउने पक्षमा नरहे पनि डा. भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष ओलीको विकल्प खोज्नुपर्ने विषयमा जोडदार रूपमा लागिपरेको छ।

तर यहीबीच बुधबार बिहान सामाजिक सञ्जालमार्फत डा. भट्टराईले देउवाको नेतृत्वमा सरकार बनाउन नमान्ने संकेत गरेका हुन्।

पूर्वप्रधानमन्त्री डा. भट्टराईले वर्तमान र पूर्वप्रधानमन्त्री बाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका हुन्। 

उनले देशको संकट समाधानका लागि ४ उपाय प्रस्तुत गर्दै संविधानको धारा ७६ (२) बमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्वप्रम बाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाई एक वर्षभित्र चुनाव गर्नुपर्ने धारणा अघि सारेका छन्।

डा. भट्टराईले लेखेका छन्, ‘देशको संकट हल गर्न यसो गरौं : १. धारा ७६ (२) बमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्वप्रम बाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं २. दलका प्रमुख/पूर्वप्रम रहेको निर्देशक समिति, ३. साझा न्यूनतम कार्यक्रम/कोभिड नियन्त्रण, टीआरसी/मुद्दा, संविधान संशोधन, आर्थिक राहत इ. लागू ४. एक वर्षभित्र चुनाव।’

गत सोमबार संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत हासिल गर्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पुर्‍याई नयाँ सरकार गठनका लागि दिएको ३ दिनको समय भोलि वैशाख ३० गते सकिँदैछ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर नयाँ सरकार गठन गर्ने भनिए पनि जसपाकै महन्थ ठाकुर पक्षले साथ नदिने भएपछि कसरी बहुमत पुर्याउने भन्ने विषयमा तीव्र छलफल चलिरहेका बेला साथ दिने भनिएकै पक्षका नेता डा. भट्टराईको फरक अभिव्यक्ति आएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .