ad ad

राजनीति


१५ वर्षपछि फेरे उपेन्द्रले धार

१५ वर्षपछि फेरे उपेन्द्रले धार

नेपालखबर
बैशाख २८, २०७८ मंगलबार १०:५६,

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफ्नो सम्पूर्ण शक्ति लगाइरहेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार गठनका लागि उनी केही समयदेखि निरन्तर प्रयासरत छन्।

नेकपा–एमालेबाट राजनीति सुरु गरी माओवादी हुँदै मधेशकेन्द्रित दलको नेतृत्व गर्दै आएका यादव यसअघि विभिन्न सरकारमा मन्त्री बनेका थिए।

उनी १५ वर्षदेखि राष्ट्रिय राजनीतिमै प्रभावशाली भूमिकामा रहँदै आएका छन्।

यसबीचमा बनेका विभिन्न गठबन्धनको पक्ष र विपक्षमा उभिँदै आएका यादव पहिलोपटक कांग्रेस नेतृत्वको गठबन्धनमा यसरी खुलेर लागेका हुन्।

अहिलेसम्म तीनवटा सरकारमा मन्त्री बनेका उनी तीनैपटक वाम नेतृत्वको सरकारमा सहभागी थिए।

२०४८ सालपछि नेकपा एमालेमा क्रियाशील रहेका यादव २०५६ सालसम्म एमालेको सुनसरी र मोरङ जिल्लामा नेतृत्वदायी भूमिकामा थिए।

त्यसपछि उनी एमाले छाडेर केही वर्ष माओवादीमा आबद्ध रहे।

२०६३ सालमा अन्तरिम संविधान जारी भएपछि उनले त्यसका केही प्रावधानविरुद्ध मधेशमा आन्दोलन चर्काए।

२०६३ सालमै मधेशी जनअधिकार फोरम नेपाल पार्टी गठन गरेपछि उनी निरन्तर राष्ट्रिय राजनीतिमा रहँदै आएका छन्।

२०६४ सालमा सुनसरी ४ बाट, २०७० मा सुनसरी ५ बाट र २०७४ मा सप्तरी २ बाट निर्वाचित यादव तीन पटक मन्त्री बनेका छन्।

उनी २०६५ सालमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको सरकारमा परराष्ट्रमन्त्री बने। त्यसपछि उनी २०६७ सालमा एमाले अध्यक्ष झलनाथ खनालको नेतृत्वमा बनेको सरकारमा उपप्रधानमन्त्रीको हैसियतसहित परराष्ट्रमन्त्री बने।

त्यसको ७ वर्षपछि उनी २०७४ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीकै हैसियतमा स्वास्थ्य तथा जनसंख्यामन्त्री बने।

फोरम पहिलोपटक २०६५ सालमा यादवको नेतृत्वमा प्रचण्डको सरकारमा सहभागी भएको थियो। त्यो सरकार ढलेपछि कांग्रेसको मुख्य सहयोगमा एमाले नेता माधव नेपाल नेतृत्वमा सरकार बनाउने गठबन्धन बन्दा यादव त्यसको विपक्षमा उभिए।

तर, कांग्रेसबाट फोरममा आएका अर्का नेता विजय गच्छदार भने नेपाललाई प्रधानमन्त्री बनाउने कांग्रेससहितको गठबन्धनका पक्षमा खुले। यादव र गच्छदारबीच कुरा नमिलेपछि गच्छदारले पार्टी विभाजन गरेर कांग्रेससहितको नेपाल नेतृत्वको सरकारमा सहभागी भए।

त्यसपछि विभिन्न आरोह अवरोह हुँदै गच्छदार अहिले नेपाली कांग्रेसमै प्रवेश गरेका छन्।

यादवले भने आफ्नो पार्टीलाई तत्कालीन एमाले उपाध्यक्ष अशोक राईले सो पार्टी छाडेर गठन गरेको संघीय समाजवादी पार्टीसँग एकीकृत गरे।

त्यसपछि उनले पूर्वमाओवादी नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँ शक्तिसँग पार्टी एकीकरण गरे।

यसरी उनले निरन्तर वामधारका नेता तथा पार्टीपंक्तिसँग सहकार्य गर्दै गए भने सरकारमा जाँदा पनि कम्युनिष्ट प्रधानमन्त्रीको नेतृत्वमा मात्र सहभागी भए।

त्यसैगरी जसपाकै अर्का अध्यक्ष महन्थ ठाकुरले पनि यसपटक फरक धार समाएका छन्।

नेपाली कांग्रेसमा कोषाध्यक्ष समेत भएका ठाकुरले सो पार्टी परित्याग गरी तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) स्थापना गरी सो पार्टीको अध्यक्ष बने।

उनले त्यसयता पनि अधिकांश समय कांग्रेससहितको गठबन्धनलाई प्राथमिकता दिँदै आएका थिए।

यसपटक भने उनले लामो समय एउटै पार्टीमा रहेर सहकार्य गरेका देउवाको साटो एमाले अध्यक्ष ओलीलाई पूर्ण साथ दिएका छन्।

जहाँ जहाँ प्रचण्ड, त्यहाँ त्यहाँ उपेन्द्र
त्यसो त, उनको अर्को संयोग भने यसपटक पनि मिलेको छ।

उनी अहिलेसम्म जतिपटक सत्तापक्षीय गठबन्धनमा सहभागी भए, त्यति नै पटक प्रचण्डसँगै रहेका छन्।

पहिलोपटक प्रचण्डकै नेतृत्वमा सरकारमा गएका यादव, दोस्रोपटक झलनाथ खनाल नेतृत्वमा सहभागी भए। त्यो सरकार प्रचण्डको सक्रिय भूमिकामा गठन भएको थियो।

२०७४ सालमा ओली नेतृत्वको सरकारमा सहभागी हुँदा पनि ओली–प्रचण्डको गठबन्धन नै थियो।

अहिले देउवालाई प्रधानमन्त्री बनाउन प्रचण्डको प्रमुख भूमिका रहँदा यादव पनि सोही गठबन्धनमा खुलेर लागेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .