ad ad

राजनीति


मौसम सहज बन्दै जाँदा चीनद्वारा भारतको सीमामा अत्याधुनिक रकेट तैनाथ

मौसम सहज बन्दै जाँदा चीनद्वारा भारतको सीमामा अत्याधुनिक रकेट तैनाथ

नेपालखबर
बैशाख २७, २०७८ सोमबार १५:४०,

चीनले भारतसँगको सीमामा ठूलो संख्यामा अत्याधुनिक रकेट लन्चर तैनाथ गरेको छ।

सीमा क्षेत्रको मौसम सहज हुँदै गर्दा चीनले नयाँ हतियार तैनाथ गरेको हो।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार यो पीएचएल–०३ लङ रेन्ज मल्टिपल रकेट लन्चरको डिजिटल संस्करण हो।

चिनियाँ जनमुक्ति सेना (पीएलए)को सिन्जियाङ मिलिटरी कमान्डको एक बटालियनमा यस्तो रकेट लन्चर तैनाथ गरिएको भिडिओ सीसीटीभीले प्रसारण गरेको छ।

पीएलएको यो टुकडी भारतसँगको सीमामा ५ हजार २ सय मिटरको उचाइमा खटिएको छ। जुन क्षेत्रमा गत वर्ष भारत र चीनका सैनिकबीच झडप भएको थियो।

‘यो रकेट आर्टिलरी टुकडीको प्रमुख हतियार हो। यसलाई छिटो तैनाथ गर्न सकिन्छ र महत्वपूर्ण क्षेत्र कब्जा र नियन्त्रणमा प्रयोग गर्न सकिन्छ,’ सीसीटीभीको रिपोर्टमा भनिएको छ, ‘यसको सहयोगमा पीएलए कठिन भूगोल र मौसममा पनि लड्न सक्षम हुनेछ।’

ट्रकमार्फत प्रहार गर्न सकिने यस्तो एउटा लन्चरमा १२ नाल हुन्छन्, जसबाट १२ इन्चको रकेट प्रहार गर्न सकिन्छ। यस्तो एउटा रकेट ८ सय किलोको हुन्छ। यो रकेटले १३० किलोमिटरसम्म मार हान्न सक्छ। लन्चर बोक्ने ट्रकको गति प्रतिघण्टा ६० किलोमिटर छ।

छरितो भएका कारण यसलाई तीन मिनेटको समयभित्रै युद्धका लागि तयार गर्न सकिने जनाइएको छ। यो रकेटको पछिल्लो संस्करण पूर्ण रुपमा कम्प्युटरचालित छ।

गतवर्ष मे महिनामा चीन र भारतबीच सीमामा तनाव सुरु भएको थियो। जसका कारण भारतका २० र चीनका चार सैनिकको ज्यान गएको थियो। र, तनाव हिउँदसम्मै लम्बिएको थियो।

पछिल्लो समय भारतीय सेनाभन्दा एक कदम अगाडि रहन चिनियाँ सेनाले नयाँनयाँ हतियार सो क्षेत्रमा तैनाथ गर्न थालेको छ। चीनले सबैभन्दा आधुनिक हलुका ट्यांक, सबैभन्दा शक्तिशाली १५५ एमएमको तोप र उच्च भूगोलमा प्रयोग गर्न सकिने ड्रोन समेत भारतको सीमानजिक तैनाथ गरेको छ।

हतियारबाहेक साइबरनेटिक सुट, अक्सिजन जेनेरेटर र ड्रोनले खाना ओसार्ने व्यवस्था पनि चिनियाँ सेनाले गरेको छ। एससीएमपी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .