ad ad

राजनीति


सरकारको ‘बेतुक’का निर्णयले समस्याको समाधान गर्दैन : गगन थापा

सरकारको ‘बेतुक’का निर्णयले समस्याको समाधान गर्दैन : गगन थापा

नेपालखबर
बैशाख २६, २०७८ आइतबार १२:३,

नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना संक्रमणबाट अत्तालिएर सरकारले ‘बेतुक’ का निर्णय गरिरहेको बताएका छन्।

कहिले के कहिले के निर्णय गर्दा समस्याको समाधान नहुने नेता थापाले दाबी गरेका छन्।

आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले २४ घण्टाभित्रै सरकारले आफ्नो निर्णय फेर्ने गरेको आरोप पनि लगाएका छन्।

‘वैशाख २५ गते स्वास्थ्य मन्त्रालयले मन्त्रालयको सिफारिस बिना कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पतालहरूलाई सिलिन्डर भरी बिक्री वितरण नगर्न अक्सिजन कम्पनीलाई निर्देशन दियो। अक्सिजन बिक्री वितरणलाई थप व्यवस्थित गर्न यो आवश्यक भएको भन्ने मन्त्रालयको तर्क छ। आवश्यक तयारी गर्नुपर्ने वेलामा नगर्ने अनि अहिले अत्तालिएर बेतुकको निर्णय गर्दा झन कोलाहल भएको छ’ उनले लेखेका छन्, ‘निर्णयको २४ घण्टा नबित्दै अहिले फेरी सिसिएमसीले हेर्ने भनिएको छ। यसरी कहिले के कहिले के हचुवाको भरमा गरेको निर्णयले समाधान दिँदैन बरु झन् समस्या बढाएको छ।’

थापाले अक्सिजनको आपूर्ति सहज पार्न तथा दुरुपयोग रोक्न सरकारलाई तीन बुँदे सुझाव पनि दिएका छन्।
थापाले लेखेका छन्ः

१) अस्पतालमा अक्सिजनको आपूर्तिलाई तत्काल सहज बनाऊ, झन्झट नथप। अस्पतालमा अनुगमन गर्ने सम्बन्धित निकायले गर तर अक्सिजन सिलिन्डर भर्न मन्त्रालयको सिफारिस चाहिने अड्को थपेर अव्यवहारिक काम नगर।

२) कहीँ कतै अक्सिजन दुरुपयोग नहोस् भन्नेतर्फ मन्त्रालयले सोचेको हो भने पनि त्यसको अनुगमन गर्ने यो उपयुक्त बाटो होइन। त्यसका लागि मन्त्रालयले ‘ज्वाइन्ट रेपिड एक्सन टिम’ बनाएर प्रभावकारी रूपमा परिचालन गरी कुन अस्पतालमा शय्या, बिरामी र अक्सिजनको अवस्था के छ, आवश्यकता के छ, ठिक ढंगले अस्पतालले उपचार गरेका छन् की छैनन् अनुगमन गर्नुपर्छ, कतै दुरुपयोग भएको रहेछ, मापदण्ड मिचिएको छ भने कारवाहीको दायरामा ल्याउनुपर्छ, दायरामा ल्याउँ। तर, आफ्नो अक्षमता लुकाउन बिरामीलाई थप सास्ती दिने काम नगर।

३) यस्तो बेतुकको निर्णयले कयौँ ठाउँमा बिरामीलाई भर्ना लिने ढोका समेत बन्द भएका छन्, दिएको सुविधा पनि घटाउन थालेका समाचारहरू आइरहेका छन्। कयौँ बिरामी घर फर्काइएको छ। यसको जिम्मा कसले लिने? अक्सिजन अभावका कारण हुने प्रत्येक व्यक्तिको मृत्युको जिम्मा यस्तो निर्णय गर्नेले लिनुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .