ad ad

राजनीति


एमाले एकता जोगाउने अन्तिम कसरत सफल होला?

एमाले एकता जोगाउने अन्तिम कसरत सफल होला?

सागर न्यौपाने
बैशाख २४, २०७८ शुक्रबार १७:३,

 नेकपा एमालेको एकता जोगाउन दुवै पक्षले अन्तिम कसरत गरिरहेका छन्।

माधव नेपाल पक्षलाई फकाउन प्रधानमन्त्री केपी शर्मा ओली आफैँ सक्रिय भएका छन्। नेपाल पक्षले पनि ओलीसँग निर्णायक छलफल गरेर अघि बढ्न खोजेको नेताहरु बताउँछन्।

यसअघि ओलीले नेपाल पक्षका नेताहरु एकएक जनालाई भेटेर आफ्नो पक्षमा लाग्न आग्रह गरेका थिए। तर, दुई दिनयता विभिन्न समूह र चरणमा दुई पक्षबीच वार्ता भइरहेको छ। उनले शुक्रबार गोकर्ण विष्टलाई बालुवाटार बोलाएर छलफल गरे।

एक घण्टाभन्दा बढी समय ओली र विष्टबीच छलफल भएको स्रोतले जनाएको छ। पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि छलफल गरेको बताइएको छ। यद्यपि, एकएक जना गरेर भए पनि नेपाल पक्षका नेताहरुलाई आफ्नो पक्षमा तान्न प्रयासरत छन्।

ओलीसँगको भेट लगत्तै विष्टले सोबारे माधव नेपाललाई जानकारी गराएका छन्। बिहीबार ओलीले नेपाल पक्षमै रहेका घनश्याम भुसाल र योगेश भट्टराईसँग बालुवाटारमा छलफल गरेका थिए।

तर, यी छलफलमा कुरा मिल्नेगरी प्रधानमन्त्री ओलीले कुनै प्रस्ताव नल्याएको नेपाल पक्षका स्थायी समिति सदस्य बेदुराम भुसालले बताए।

‘प्रधानमन्त्रीजीले हिजो घनश्याम र योगेशजी र आज गोकर्णजीसँग छलफल गर्नुभएको थियो तर, खासै मिल्ने कुरा गर्नुभएको छैन,’ भुसालले नेपालखबरसँग भने।

नेपाल पक्षले ओलीसँग २०७५ जेठ २ गतेको अवस्थामा फर्कनुपर्ने पहिलो सर्त राखेको छ। त्यो सर्त मान्न ओली तयार छैनन्। त्यसो त दोस्रो तहका नेताहरु पार्टीभित्रको विवाद मिलाउन कस्सिएका छन्।

प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री विष्णु पौडेललाई परिचालित गरेका छन्। शुक्रबार नेपाल पक्षका घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई र सुरेन्द्र पाण्डेले पोखरेल, पौडेल, स्थायीसुवास नेम्वाङ र विष्णु रिमालसँग छलफल गरेका थिए।

नेपाल पक्षका दोस्रो तहका नेताहरुसँग निरन्तर छलफल गरेपनि अहिलेसम्म कुनै निष्कर्ष ननिस्किएको योगेश भट्टराईले बताए। उनका अनुसार विश्वासको मत लिन अझै तीन दिन बाँकी भएकोले सहमतिको प्रयास जारी छ। ‘दुवैतर्फ गम्भीर चासो र चिन्ता बढेको देखिन्छ,’ भट्टराईले भने, ‘के गर्ने भन्ने टुंगो लागिसकेको छैन। तर, २७ गते आउन पनि तीन दिन बाँकी छ। हेरौँ।’

नेपाल पक्षले के गर्ने भन्नेबारे अहिले नै निर्णय गरेर जानुपर्ने सांसद समेत रहेकी नेतृ रामकुमारी झाक्रीले बताइन्। ‘राजनीति व्यक्तिगत लेनदेनको मामिला होइन। राजनीतिक विषयमा उधारो सम्झौता पनि हुनसक्दैन,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्।

वैशाख २७ गते संसदबाट विश्वासको मत लिन लागिरहेका ओलीले पार्टीभित्रको असन्तुष्ट समूहका नेताहरुलाई आफ्नो पक्षमा तान्ने प्रयास गरेपछि झाक्रीको सो प्रतिक्रिया आएको हो। प्रधानमन्त्री ओली निकट नेता तथा एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले पार्टी एकता जोगाउनेगरी छलफल भएको बताए।

‘प्रधानमन्त्रीले पार्टी मिलाएर लैजाने, राष्ट्रियसभा जित्ने र संसदबाट विश्वासको मत लिन सफल हुने तयारी तीव्र पार्नुभएको छ,’ भट्टराईले भने, ‘माधवजी अलि कडा कुरा गरिरहनु भएपनि दोस्रो तहका नेताहरुले आफ्नो राजनीतिक भविष्य हेरिरहनुभएको छ।’

नेपाल पक्षका तर्फबाट राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार बनेका डा. खिमलाल देवकोटालाई ओलीले एमालेकै तर्फबाट साझा उम्मेदवार बनाउने प्रयास गरेका थिए। तर, त्यो असफल भएको थियो। शुक्रबार माओवादी केन्द्र, कांग्रेस, जनता समाजवादी पार्टी (जसपा)बाट देवकोटाले उम्मेदवारी दर्ता गराए। नेपाल पक्षसँग कुरा नमिलेपछि एमालेबाट गृहमन्त्री रामबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन्। यद्यपि नेपाल पक्षसँग कुरा मिलेको अवस्थामा उम्मेदवारी फिर्ता लिएर पनि जानसक्ने सम्भावना रहेको नेताहरु बताउँछन्।

माओवादी केन्द्रसँग मिलेर राष्ट्रियसभाको उप निर्वाचनमा कार्यगत एकता गरेको नेपाल पक्ष ओलीलाई विश्वासको मत दिने कि नदिने भन्नेमा अनिर्णित छ। नेपाल पक्षकै केहीले विश्वासको मत दिएर जानुपर्ने प्रस्ताव गरेका छन् भने अरुले कुनै हालतमा दिन नहुने बरु सामूहिक राजीनामा दिएर जानुपर्ने प्रस्ताव राखेका छन्। नेपाल पक्षको एउटा समूहले नेपाली कांग्रेस, माओवादी केन्द्रसँग निरन्तर संवाद जारी राखेको छ।

शुक्रबार पनि भीम रावलले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। राष्ट्रियसभा उपनिर्वाचनमा माओवादी र कांग्रेससँगको गठबन्धन ओलीलाई देखाउन गरिएको बेदुराम भुसालले बताए। उनले एकता कायम राख्ने प्रयास ओलीकै कारण असफल हुने संकेत पनि गरे। ‘ओलीले पार्टी बनाउने, विग्रह रोक्ने र एकता जोगाउने होइन भत्काउने योजना बनाउँछन्,’ भुसालले नेपालखबरसँग भने।

यो पनिः

एमालेमा दुई पक्षबीच वार्ता तीव्र, भेटिएन सहमतिको बिन्दु

ओलीको नजर गोकर्ण विष्टमा, बालुवाटार बोलाएर मनाउने प्रयास

प्रधानमन्त्री ओलीसँग कुनै सहमति भएको छैन, भ्रममा नपर्नू : माधव नेपाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .