ad ad

राजनीति


सम्धीलाई मन्त्री बनाउन खोज्दा जसपामा एक्लिँदैछन् महन्थ ठाकुर

सम्धीलाई मन्त्री बनाउन खोज्दा जसपामा एक्लिँदैछन् महन्थ ठाकुर

प्रशान्त लामिछाने
बैशाख २३, २०७८ बिहिबार १२:५२,

जनता समाजवादी पार्टी (जसपा) मा पार्टी अध्यक्ष महन्थ ठाकुर पक्षले चलाएको हस्ताक्षर अभियान उनीनिकट नेताकै असहयोगका कारण रोकिने अवस्थामा पुगेको छ।

अध्यक्ष ठकुरले ‘सम्धी मोह’ देखाएपछि हस्ताक्षर अभियान प्रभावित बनेको हो।

ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्ने गरी चलाएको हस्ताक्षर दुरुपयोग हुने अवस्था देखिएपछि उनीनिकट नेताहरु झस्किएका हुन्।

राजपा पृष्ठभूमिका वरिष्ठ नेता राजेन्द्र महतो, राजकिशोर यादव, शरतसिंह भण्डारी र निर्जला राउतले नै हस्ताक्षर नगरेपछि ठाकुरको योजनामा ठेस लागेको ठाकुरनिकट एक नेताले बताए।

नयाँ सत्ता समीकरणको रस्साकस्सी बढिरहेका बेला जसपा प्रष्ट रुपमा दुई कित्तामा विभाजित भएको छ।

अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले विपक्षी दलहरु नेपाली कांग्रेस र माओवादीलाई साथ दिएर प्रधानमन्त्री ओलीलाई सत्ताबाट हटाउनुपर्ने अडान राख्दै आएका छन्।

तर अध्यक्ष ठाकुर भने प्रधानमन्त्री ओलीलाई नै साथ दिनुपर्ने पक्षमा छन्। उनको यो धारलाई राजेन्द्र महतोसहितका केही नेताहरुको सहयोगका कारण पार्टीभित्र ठाकुर बलियो अवस्थामा थिए।

तर केही दिनयता जसपाभित्रको सो समीकरणमा फेरबदल आएको सो पार्टीका नेताहरुको भनाइ छ।

पछिल्ला दिनमा ओलीसँग मिलेर आफूकेन्द्रित योजना बनाउन थालेको भनी ठाकुरसँग अन्य नेता असन्तुष्ट छन्।

स्रोतका अनुसार अध्यक्ष ठाकुरले आफ्ना सम्धी उमाकान्त झालाई मन्त्री बनाउने योजनामा केन्द्रित भई प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न थालेपछि राजेन्द्र महतोलगायतका नेताहरु असन्तुष्ट बनेका हुन्।

खिलराज रेग्मी सरकारमा सिंचाईमन्त्री बनेका झा प्रदेश ५ को प्रदेश प्रमुखसमेत बनेका थिए। झालाई प्रदेश प्रमुखका लागि पनि ठाकुरले नै राजपा कोटाअन्तर्गत सिफारिस गराएका थिए।

राजपा र संघीय समाजवादी एकताको समयमा वरिष्ठ नेता महतोलाई संसदीय दलको नेता बनाउने सहमति भएको महतो पक्षको भनाइ छ। तर सो प्रतिबद्धता अनुसार ठाकुरले कुनै पहल नगरेकोमा महतो पहिलेदेखि नै असन्तुष्ट थिए।

त्यसमाथि अहिले ठाकुरले एकल अधिकार लिन खोजेको र ओलीसँग सत्ता गठबन्धन गर्दा पनि सम्धीलाई अघि सार्न खोजेपछि महतो थप असन्तुष्ट बनेका हुन्।

नयाँ सत्ता समीकरणका लागि भनी अहिले गराइएको आफूपक्षीय नेताहरुको हस्ताक्षर पनि ठाकुरले आफ्नै लागि दुरुपयोग गर्न लागेको महतोको आशंका छ।

अहिले जसपाको संसदीय दलमा पनि जेष्ठताका आधारमा अध्यक्षता गर्दै आएको हुँदा ठाकुरले सो हस्ताक्षर समेत दुरुपयोग हुनसक्ने महतोको बुझाइ छ।

ठाकुर पक्ष सरकारमा सहभागी हुने अवस्था आएको खण्डमा पनि मन्त्रीका आकांक्षी धेरै देखिएका छन्। स्रोतका अनुसार ठाकुर आफ्नोतर्फबाट सम्धी उमाकान्त झा, सर्वेन्द्रनाथ शुक्ल र चन्दा चौधरीलाई सरकारमा पठाउन चाहन्छन्। झा र शुक्ल संसद् सदस्य छैनन्।

महतो लगायतका नेताहरु त्यसको विपक्षमा छन्।

सरकारमा गएको खण्डमा महतो नेतृत्वमा जानुपर्ने उनी निकटहरुको माग भए पनि ठाकुरले आफ्ना सम्धी झालाई महत्वपूर्ण मन्त्रालयमा पठाउन खोजेको आरोप छ।

जसपाभित्र सरकारको विषयमा चरम विवाद छ। प्रधानमन्त्री ओलीले संसदमा २७ गते विश्वासको मत लिने निर्णय गरेपछि ठाकुर पक्षले हस्ताक्षर अभियान चलाएको थियो। यसबीचमा ठाकुरले पटकपटक प्रधानमन्त्री ओलीसँग भेटेका छन्।

माधव नेपाल पक्षको २६ गतेसम्मको गतिविधि हेरेर मात्र जसपाले निर्णय लिनु पर्ने शरतसिंह भण्डारीको बुझाइ छ।

‘माधव नेपाल पक्षभित्र दुई धार देखिएका छन्, यदि ओलीको विरुद्ध उनीहरु लागे भने जसपाले मत दिए पनि प्रधानमन्त्रीलाई मत पुग्दैन। त्यस्तो बेला भिरको बाटो किन हिँड्ने?’ ओलीको साथ छाड्नसक्नेतर्फ संकेत गर्दै भण्डारीले भने।

अहिले पार्टीभित्र थप संवाद र सहमति बनाएर अघि बढ्नुपर्ने आवश्यकता भएको जसपा नेता राजकिशोर यादव बताउँछन्।

‘नेताहरु सहमतिमा आउनुपर्छ,’ उनले भने, ‘एकले अर्काका विरुद्ध बहुमत पुर्‍याउने खेलमा लाग्दा पार्टी रहँदैन।’

आन्दोलनका उपलब्धी रक्षाका लागि एकताबद्ध पार्टीको विकल्प नभएको उनले बताए।

ठाकुरलाई मनाउने प्रयासमा रहेका प्रधानमन्त्री ओलीले केही दिनपहिले बसेको मन्त्रिपरिषद बैठकबाट १२० जनाको मुद्दासमेत फिर्ता गराएका थिए।

संघीय संसदमा जसपाका ३४ सांसद छन्। जसमध्ये दुई जना निलम्बित छन्।

कार्यकारिणी समिति र संसदीय दलमा भट्टराई–यादवले आफूहरु बहुमतमा रहेको दाबी गर्दै आएका छन्। महन्थ पक्षसँग १२ सांसद छन् भने बाबुराम–उपेन्द्रसँग २० सांसद रहेको नेताहरुको भनाइ छ।

लुम्बिनी प्रदेशमा पार्टी निर्णयविपरीत प्रदेश सरकारमा सहभागी भएका ४ सांसदलाई भट्टराई–यादव पक्षले बहुमतको आधारमा कारबाही गरेको थियो भने ठाकुरले त्यसको विरोध गरेका छन्। उनी त्यसविरुद्ध निर्वाचन आयोग समेत पुगेका छन्। सो प्रदेशमा ओली निकट मुख्यमन्त्री शंकर पोखरेललाई जसपाका ४ सांसदले साथ दिएपछि ठाकुरले उनीहरुको साथ दिएका थिए भने अर्को पक्षले उनीहरुलाई कारबाही गरेका थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .