ad ad

राजनीति


प्रधानमन्त्रीले नै नमानेपछि कोभिड मापदण्ड लागू नहुने प्रशासनको चिन्ता

प्रधानमन्त्रीले नै नमानेपछि कोभिड मापदण्ड लागू नहुने प्रशासनको चिन्ता

उजिर कार्की
बैशाख ७, २०७८ मंगलबार १६:२८,

कोरोना संक्रमण बढेको भन्दै सरकारले २५ जनाभन्दा बढीको भेला गर्न रोक लगाएको छ। तर, सर्वसाधारणमाथि कडाइ सुरु गरेकै दिन प्रधानमन्त्री केपी ओली र उनकै दलले भने कोभिड मापदण्ड उल्लंघन गरेका छन्।

सोमबारको मन्त्रिपरिषद बैठकले कोरोना रोकथामका लागि जन्ती र मलामी पनि २५ जनाभन्दा बढी जान नदिने निर्णय गरेको थियो। तर, प्रशासनको निर्देशनविपरीत एमालेले सयौँको उपस्थितिमा राष्ट्रिय सभा गृहमा मंगलबार राष्ट्रिय भेला गर्‍यो।

नेपाल खेलकुद महासंघको राष्ट्रिय कार्यकर्ता भेलामा देशभरका मानिस उपस्थित थिए। त्यसअघि बिहान ओलीले बालुवाटारमा सीताराम शोभा रथयात्रा स्थापना समारोह गरेका थिए।

सरकारकै नेतृत्वमा यसरी निर्देशन उल्लंघन सुरु भएपछि स्वास्थ्य मापदण्ड पालनामा चुनौती देखिएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि १४ बुँदे सूचना जारी गरिएको बताए। उनले सरकारको निर्णय अनुसार कार्यन्वयन गर्न प्रहरीलाई निर्देशन समेत दिइएको बताएका छन्।

तर, प्रहरी प्रशासनले भने राष्ट्रिय सभागृहको कार्यक्रमलाई रोक लगाउन सकेन। प्रधानमन्त्रीकै निर्देशनमा यसरी कार्यक्रम हुँदा कार्यान्वयनमा चुनौती देखिएको सुरक्षा अधिकारीको भनाइ छ।

‘भोलि हामीले कसैलाई कारबाही गर्न खोज्दा पनि सक्छस् भने यसलाई कारबाही गरेर देखा न, उसलाई चाहिँ किन कारबाही भएन भनेर प्रश्न गर्छन्,’ एक सुरक्षा अधिकारीले भने, ‘सरकारको निर्णय कार्यान्वयन हुँदैन भन्न मिलेन तर यस्ता विषयले समस्या थप्छ।’

प्रमुख जिल्ला अधिकारी पराजुलीले भने मापदण्ड पालनामा सबैले सहयोग गर्नु पर्ने बताए। राष्ट्रिय सभागृहको कार्यक्रम किन रोकिएन भन्ने प्रश्नमा पराजुलीले भने, ‘हामीले सूचना जारी गरेर के गर्न हुने, के गर्न नहुने भनेका छौँ। त्यही अनुसार सबै पक्षले बुझिदिनुपर्छ। अनुगमन गरेर कारबाही गर्न प्रहरीलाई पनि भनेका छौँ।’

काठमाडौँ प्रहरी परिसरले पनि कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा मंगलबार छलफल गरेको छ।

सरकारको निर्णय प्राप्त भएको र त्यही अनुसार कार्यन्वयनका लागि आन्तरिक छलफल भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी रमेश कुमार बस्नेतले बताए।

उता सर्वसाधारणलाई भने मंगलबारदेखि त्रिवि क्रिकेट मैदानमा प्रवेश गर्न समेत रोक लगाइएको छ। मंगलबार त्रिदेशीय क्रिकेटका खेल दर्शकबिनै सञ्चालन भएका छन्। नेपाल क्रिकेट संघ क्यानले सोमबार नै दर्शक निषेध गरिएको जानकारी गराएको थियो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पनि रोगले सानो–ठूलो, नेता–जनता केही पनि नभन्ने भएकाले सबैले नियम मान्नु पर्ने बताए।

‘राष्ट्रपति, प्रधानमन्त्रीदेखि सामान्य मान्छे कसैले पनि भीड गर्नु भएन, गरेको पाइयो भने कानुन आकर्षित हुन्छ,’ गौतमले भने, ‘कारबाही त हुन्छ हुँदैन सञ्चार माध्यमले पनि हेर्नु पर्ने कुरा हो, जहाँ देख्नुहुन्छ मिडियाले पनि भनिदिनुस् यहाँ फलानाले उल्लंघन गर्‍यो भनेर।’

नयाँ भेरियन्टसतिहको कोभिड १९ महामारीको संक्रमण नेपालमा पनि बढ्दै गएपछि रोकथाम तथा नियन्त्रणका लागि भन्दै कडाइ गर्ने निर्णय सरकारले गरेको छ।

देशका ठूला सहरमा शैक्षिक संस्था बन्द गरिएको छ। सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, फुटसल, सभा, आमसभा, जुलुस, हाटबजार, रंगशालामा हुने दर्शकसहिका खेलकुद र भीडभाड हुने अन्य प्रकारका सबै गतिविधि वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ।

एक पटकमा २५ जनाभन्दा बढी भेला नहुने र मेला महोत्सव, जात्रा, पर्व, विवाह, न्वारान, पास्नी ब्रतबन्ध, धार्मिक अनुष्ठान, मलामी लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापमा पनि २५ जनाभन्दा बढी नहुन र स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन सरकारले दिएको छ।

नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ७ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ। तीन जनाको मृत्यु भएको छ। संक्रमितको संख्या दिनदिनै बढ्दै गएपछि सरकारले थप कडाइ गर्ने निर्णय गरे पनि कार्यन्वयनमा भने सरकारकै निकाय र राजनीतिक दलका गतिविधिका कारण समस्या देखिएको सुरक्षा अधिकारीहरुले बताएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .