ad ad

राजनीति


अन्ततः अविश्वासको प्रस्ताव ल्याउन कांग्रेस तयार, यसरी भए देउवा राजी

अन्ततः अविश्वासको प्रस्ताव ल्याउन कांग्रेस तयार, यसरी भए देउवा राजी

सागर न्यौपाने
बैशाख ५, २०७८ आइतबार १५:४२,

लामो समयको अन्यौलपछि नेपाली कांग्रेस प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन तयार भएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवानिकट एक नेताका अनुसार ओलीविरुद्ध एकदुई दिनभित्रै अविश्वासको प्रस्ताव दर्ता हुनेछ।

माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)को समर्थन लिएर ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन लागिएको ती नेताले नेपालखबरलाई जानकारी दिए।

‘एकदुई दिनभित्र ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउँछ,’ आइतबार देउवासँग छलफल गरेका ती नेताले नेपालखबरसँग भने, ‘सुरुमा ओलीले भनेअनुसार नै चुनावमा जाने योजना बनाउनुभएका सभापति देउवाजी अब भने आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने अन्तिम कसरतमा हुनुहुन्छ।’

ती नेताका अनुसार नयाँ सत्ता समीकरणका लागि दलहरुसँगको छलफल तीव्र पारिएको छ।

जसपाको भर नभएको भन्दै देउवा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन आनकानी गरिरहेका थिए।

यस विषयमा जसपामा दुई धार बनेको छ। अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो ओली सरकारलाई टिकाउने पक्षमा छन् भने उपेन्द्र यादव र डा. बाबुराम भट्टराई ओलीको विकल्पमा नयाँ सत्ता समीकरण बनाएर जानुपर्ने पक्षमा छन्।

तर, देउवा अगाडि बढे पार्टीले समर्थन गर्ने विश्वास जसपा नेताहरुले उनलाई दिलाएका छन्। उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले भेटेरै देउवालाई यो कुरा बताएका हुन्।

‘कांग्रेस अघि बढ्नेबित्तिकै जसपाले एकमतले निर्णय गर्छ,’ जसपाका उपेन्द्र यादवनिकट एक सांसदले नेपालखबरसँग भने।

खासगरी कर्णाली प्रदेशमा नेकपा एमालेका सांसदहरुले गरेको फ्लोर क्रसपछि देउवा अविश्वासको प्रस्ताव ल्याउन तयार भएको उनीनिकट ती नेताले दाबी गरे।

‘भित्रभित्र संसदमा रहेका सबै दलसँग छलफल चल्दैछ, कर्णाली प्रदेशबाट एउटा विश्वासको वातावरण बनेको छ, देउवाजी प्रधानमन्त्री बनेरै महाधिवेशनमा जाँदा सजिलो हुने निष्कर्षमा पुग्नुभएको छ,’ ती नेताले थपे।

यसअघि देउवा अर्ली इलेक्सनको पक्षमा थिए। उनी ओलीकै नेतृत्वमा चुनावमा जान तयार भएर त्यसको तयारीमा पनि लागे।

तर, आगामी भदौमा गर्नुपर्ने १४ औँ महाधिवेशनमा आफ्नो पक्षमा माहोल बनाउन पनि देउवा अब सत्ताको नेतृत्व गर्नुपर्ने निष्कर्षमा पुगेको ती नेताको भनाइ छ।

यसअघि सत्ताको नेतृत्व गर्न देउवाले समय लिनुको कारण पनि ती नेताले खुलाए।

‘ओलीलाई लिएर जान खोजेको खालि निर्वाचनको प्रयोजनका लागि मात्र थियो। चुनाव छिटो होला भन्ने सभापतिको विश्लेषण थियो,’ उनले भने, ‘तर, अब संसदमा रहेको सिट संख्यालाई आधार मान्दा पनि ओलीको पक्षमा विश्वासको मत पुग्ने देखिएन।’

पछिल्लो समय जसपा र ओलीबीचको निकटताका कारण ओलीको बहुमत पुग्ने सम्भावना देखिन थालेपछि देउवा त्रसित थिए।

‘जसपाको समर्थनमा सिंगो एमाले मिल्दा ओलीले भोलि बहुमत पाए भने फेरि २ वर्ष सरकार चलाउँछन् भन्ने कुरामा उहाँले (देउवा) रिस्क देख्नुभएको थियो,’ ती नेता भन्छन्।

त्यसकारण सत्ताको विषयमा देउवा छलफलमै प्रवेश गर्न नचाहेको उनको तर्क छ।

कांग्रेस केन्द्रीय सदस्य रमेश रिजालले देउवा ओलीसँग मिल्ने पक्षमा नभएको दाबी गरे।

ओलीसँग सती जानु त अनपपुलर हुन्छ भन्ने कुरा उहाँलाई राम्रो जानकारी छ। त्यही भएर माओवादी, जसपासँगै मिल्ने भनेरै पार्टीबाट आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरियो। जसपा र माधव नेपाल पक्षलाई पनि कुरेको हो, कर्णालीबाट त्यो विश्वासको वातावरण बन्यो,’ रिजालले नेपालखबरसँग भने।

उनका अनुसार प्रधानमन्त्री भएर अर्ली इलेक्सनको तयारी गर्न सकिने देउवाको आकलन छ।

‘अर्ली इलेक्सनका लागि सबै पक्षलाई मिलाउन वा २ वर्षपछि नै हुने चुनाव कांग्रेसले गराउन पनि सत्तामा हुँदा राम्रै हुने देउवाले निष्कर्ष निकाल्नुभएको छ,’ रिजालले थपे।

चितवनको माडीमा योङ कम्युनिस्ट लीग (वाईसीएल) को भेलालाई आइतबार सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि केही दिनभित्र नयाँ सरकार बन्ने दाबी गरे।

‘आज म मेरो निर्वाचन क्षेत्रका युवाहरुले दिएको उर्जा बोकेर काठमाडौंमा राजनीतिक दलहरुको महत्वपूर्ण बैठकमा सहभागी हुँदैछु। यसले महत्वपूर्ण निर्णय गर्नेछ,’ प्रचण्डले भने, ‘तपाईंहरुले छिट्टै खुसीको खबर सुन्नुहुनेछ। केही दिनमै केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पमा हामी नयाँ सरकार बनाउनेछौँ।’

माओवादी केन्द्रको सोमबार बस्ने स्थायी समितिको बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी छ।

कर्णाली प्रदेशबाट सत्ता समीकरण थालेका कांग्रेस र माओवादी केन्द्रले संघीय सरकार निर्माणका लागि पनि छलफल तीव्र पारेका थिए।

तीनै पार्टीको आन्तरिक र सामूहिक बैठक बसेर लिखित सहमति गरी प्रक्रिया अगाडि बढाइने तयारी छ।

नेपाली कांग्रेसको अगुवाइमा ल्याइने अविश्वासको प्रस्तावमा बहुमत पुग्ने आधार देखिएको छ।

गण्डकी प्रदेशको सरकार परिवर्तन गर्न माओवादी केन्द्रसँग मिलेर कांग्रेसका कृष्णचन्द्र पोखरेलको नेतृत्वमा गण्डकी प्रदेश सभामा वैशाख २ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ।

संघीय संसदमा रहेको सांसद संख्याका आधारमा कांग्रेस दोस्रो ठूलो दल हो। कांग्रेसका ६३ सांसद छन्। जसमा २ जना निलम्बित छन्। माओवादी केन्द्रको ४९ (एकजना सभामुख) र जसपा ३४ (दुईजना निलम्बित) छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .