ad ad

राजनीति


सत्ता समीकरणको रस्साकस्सीबीच काठमाडौं ओर्ले बीजेपी नेता, एक दिनमै महत्त्वपूर्ण भेटघाट

सत्ता समीकरणको रस्साकस्सीबीच काठमाडौं ओर्ले बीजेपी नेता, एक दिनमै महत्त्वपूर्ण भेटघाट

नेपालखबर
चैत ३०, २०७७ सोमबार १४:४१,

नेपालमा नयाँ सत्ता समीकरणका लागि केही महिनादेखि तीव्र रस्साकस्सी चलिरहेका बेला भारतीय जनता पार्टी (बीजेपी) का एक नेता काठमाडौं आएर केहि महत्त्वपूर्ण भेटघाट गरी फर्केका छन्।

उत्तर प्रदेश कानपुर क्षेत्रका सांसद समेत रहेका देबेन्द्र सिंह भोले आइतबार अपरान्ह काठमाडौं ओर्लेका हुन्। त्यसपछि उनले महत्वपूर्ण भेटघाट गरेका थिए।

उनीसहितको टोलि आइतबार सवा ३ बजे एयर इण्डियाको फ्लाइटबाट काठमाडौं उत्रिएकाे हाे। उनी लाजिम्पाटस्थित होटेल र्‍याडिसनमा बसेका थिए।

उच्चस्तरीय स्राेतका अनुसार यहाँ महत्वपूर्ण राजनीतिक भेटघाट गरी उनी सोमबार ११ बजे कतार एयरवेजबाट दोहा प्रस्थान गरेका हुन्।

नयाँ सरकार गठनबारे राजनीतिक दलहरु अनिर्णित हुँदा केहि महिनादेखि राष्ट्रिय राजनीतिमा गतिरोध उत्पन्न भएको छ।

सत्तारुढ दल नेकपाको विघटन र एमालेमा आन्तरिक विभाजनका कारण प्रधानमन्त्री केपी शर्मा ओली सरकार व्यवहारतः अल्पमतमा परे पनि दलहरुले उनको विकल्प प्रस्तुत गर्न सकेका छैनन्।

ओलीलाई हटाएर नयाँ सरकार गठन गर्नुपर्ने बताइरहेको माओवादी पार्टीले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको छैन।

संसदको दोस्रो ठूलो दल तथा प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउने पहलकदमी लिन रुचि देखाएका छैनन्।

जटिल राजनीतिक परिस्थितिका कारण संसदमा बहुमत पुर्‍याउन जटिलता रहेको भन्दै उनले प्रधानमन्त्रीको उम्मेदवारको रुपमा आफूलाई प्रस्तुत गर्न अनिच्छा देखाएको बताइएको छ।

समीकरण निर्माणमा निर्णायक शक्ति मानिएको जनता समाजवादी पार्टी (जसपा) ओलीकै सरकारलाई साथ दिने कि उनलाई हटाउने भन्नेमा विभाजित देखिन्छ।

पार्टी अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका नेताहरु ओलीलाई साथ दिने पक्षमा छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई ओलीलाई हटाउनु पर्ने र त्यसका लागि नयाँ गठबन्धन बनाउनुपर्ने अडानमा छन्।

नयाँ समीकरण गठनबारे जसपाभित्रको विवाद सबैभन्दा जटिल मोडमा रहेको बताइएको छ।

विपक्षी दलहरु विभाजित हुँदा राजनीतिक गतिरोध लम्बिएको छ।

यहि सकसबीच दिल्लीबाट भारतीय संस्थापनका दूत आएर यहाँ महत्वपूर्ण गोप्य भेटघाट गरी फर्किनुलाई अर्थपूर्ण रुपमा लिइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .