नेकपा एमालेका तर्फबाट कर्णाली प्रदेश सरकारमा सहभागी तीन मन्त्रीले राजीनामा दिएका छन्।
राजीनामा दिनेमा आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रहेका छन्।
उनीहरुले मंगलबार दिउँसो सामूहिक रुपमा राजीनामा दिएका हुन्। उद्योगमन्त्री बुढाले आफूहरुले मुख्यमन्त्री समक्ष सामूहिक रुपमा राजीनामा दिएको बताए।
‘हामीले भर्खरै राजीनामा बुुझाएर आएको हौँ’, उनले भने।
मन्त्रीहरुले राजीनापछि अहिले एमाले संसदीय दलको बैठक सुरु भएको सांसद यमलाल कँडेलले जानकारी दिए।
‘पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिनुभएपछि अहिले संसदीय दलको बैठक बसिरहेको छ’, नेपालखबरसँग कँडेलले भने।
आइतबार बसेको एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो।
यही चैत ४ गते बसेको एमाले संसदीय दलको बैठकले नै शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो तर नेपाल–खनाल पक्ष असहमत भएको थियो। तर पछिल्लो समय यस विषयमा एमाले एक भएको हो।
कूल ४० सांसद रहेको कर्णाली प्रदेश सभामा २० सांसद रहेको एमालेले समर्थन फिर्ता लिएपछि माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकार अल्पमतमा परेको छ। माओवादी केन्द्रमा एक सांसद एमालेतर्फ लागेपछि अहिले उसँग जम्मा १२ सांसद छन्।

प्रतिक्रिया