ad ad

राजनीति


‘जेठ–असारमा कोरोना संक्रमण अर्को उच्च विन्दुमा पुग्छ’

‘जेठ–असारमा कोरोना संक्रमण अर्को उच्च विन्दुमा पुग्छ’

हृदयेश त्रिपाठी, स्वास्थ्यमन्त्री
चैत २३, २०७७ सोमबार १०:४३,

आज ४ हजार ५ सय ३६ जनाको पीसीआर गर्दा २ सय ६६ जनाको कोरोना रिपोर्ट पोजिटिभ आयो। यसले हामीकहाँ पोजिटिभ हुनेक्रम बढिरहेको देखाउँछ।

हालसम्म तथ्यांक हेर्दा नेपालमा संक्रमणको प्रसार दुईवटा वेभ (लहर) मा भएको देखिन्छ। पहिलो वेभ जेठको दोस्रो साताबाट बढ्दै असारको दोस्रो साता उच्च विन्दुमा पुगेर साउनको पहिलो सातामा न्यून अवस्थामा पुगेको थियो।

त्यसपछि संक्रमण पुनः बढ्दै जाँदा कात्तिकको दोस्रो साता संक्रमितको संख्या उच्च विन्दुमा पुगेको थियो। एकै दिन सबैभन्दा बढी संक्रमित थपिएको दिन कात्तिक ५ गते ५ हजार ७ सय ४३ जना संक्रमित भेटिएका थिए।

कात्तिक १० गते परीक्षणको पोजिटिभिटी दर सबैभन्दा उच्च ३५ प्रतिशत पुगेको थियो। समग्रमा कात्तिकमा संक्रमणको दर उच्च थियो।

त्यसपछिका दिन संक्रमण घट्दै गयो। माघको पहिलो सातासम्म संक्रमण निकै कम भइसकेकोमा पुनः संक्रमण बढ्दै गएको छ।

अबका दिनमा जनस्वास्थ्यका मापदण्डलाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ–असारमा अर्को उच्च विन्दुमा पुग्नसक्ने देखिन्छ।

छिमेकी देश भारतमा फागुन १७ गते संक्रमित ११ हजार ५ सय ६३ बाट एक्कासि बढेर चैत २२ गते ९२ हजार ९ सय पुगेको स्थितिले हामीलाई थप सतर्क र सचेत बनाएको छ।

कोभिड–१९ लाई व्यवस्थित गर्न आवागमनलाई थप व्यवस्थित गर्दै, रोगको शीघ्र पहिचान र आइसोलेसन, शंकास्पद व्यक्तिलाई अनिवार्य क्वारेन्टिन र जनस्वास्थ्यका मापदण्डको पालना गर्न सकिएमा महामारीलाई नियन्त्रणमा राख्न सकिनुका साथै समयका हिसाबले पर धकेल्न सकिने भएकाले यसतर्फ सबैको ध्यान जरुरी छ।

असारसम्ममा ६० लाख जनतालाई खोप लगाउँछाैँ
असारसम्ममा ६० लाख जनतालाई खोप लगाउने योजना बनाएका छौँ। १७ लाखलाई खोप लगाइसकेका छौँ।

६५ वर्षभन्दा माथि उमेरकालाई १० दिन खोप लगाइसकेका छौँ। आधारभूत जनतालाई निःशुल्क खोप लगाउनेछौँ। यसका लागि सरकारले ४८ अर्ब रुपैयाँ छुट्याएको छ। तर त्यति खर्च नहोला।

वुहानबाट विद्यार्थी ल्याउँदादेखि अहिलेसम्म ५ अर्बभन्दा अलि बढी खर्च भएको छ। एक एक पैसा खर्चको श्वेतपत्र जारी गरिनेछ। त्यो म गर्छु।

क्वारेन्टिनका लागि छुट्टै भवन बनाउन आवश्यक छैन। केही समयका लागि अस्थायी रुपमा खडा गर्नुपर्छ। प्रदेश सरकार, स्थानीय सरकारले बनाइरहनुभएको छ।

लकडाउन भरसक नहोस् भनेर मैले भनेको हो। लकडाउनमा जानुपर्ने अवस्था आउनै नदिनमा सरकारको प्रयास छ।

झण्डै ३ अर्ब ८२ करोडको सामाग्री खरिद भएका थिए। तर प्रयोग भएका छैनन। कतिपयको प्याकेट पनि खोलिएको छैन। यदि आवश्यक थिएन भने खरिद किन गरियो। खरिद गरियो भने प्रयोग किन गरिएन? त्यसका लागि मन्त्रालयले कार्यदल निर्माण गरेर आवश्यक कारवाही अगाडि बढाउँदै छ।

पहिलो डोज लगाएको डब्लुएचओले ८ हप्तादेखि १२ हप्ताको बीचमा दोस्रो डोज लगाउन मिल्छ भनेपछि वैशाख ७ देखि  ११ गतेसम्म दोस्रो डोज खोप प्रदान गर्ने कार्यक्रम बनाएका छौँ।

(संसदको सोमबारको बैठकमा स्वास्थ्यमन्त्री त्रिपाठीले गरेको भाषणको सम्पादित अंश)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .