राजनीति


माधव नेपाल ओलीसँग नडग्नुका ६ कारण

माधव नेपाल ओलीसँग नडग्नुका ६ कारण

मणि दाहाल
चैत १७, २०७७ मंगलबार १७:३१,

१५ वर्षसम्म नेकपा एमालेको नेतृत्व गरेका र लगातार ४५ वर्षदेखि पार्टीको संस्थापन पक्षमा रहँदै आएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी सदस्यबाटै निलम्बन गरेका छन्। यससँगै दुवै पक्ष सँगै रहन नसक्ने निष्कर्षमा पुगेका छन्।

नवौँ महाधिवेशनमा ओली अध्यक्षमा निर्वाचित भएपनि नेपालले पार्टीमा बराबरी हैसियत कायम गरेका थिए। त्यसैले अध्यक्ष ओलीले पछिल्लो समय आफूमाथि गरेको व्यवहारलाई नेपालले प्रतिष्ठाको विषय बनाएका छन्। ओलीले एमालेभित्र नेपाल पक्षको अस्तित्वलाई स्वीकार्न नसक्ने भनेसँगै एमाले तीव्र गतिमा विभाजनतर्फ अग्रसर बनेको छ।

नेपाल पक्षको गत चैत ४ र ५ गते भएको कार्यकर्ता भेलाले सर्वोच्च अदालतको फैसलाअनुसार २०७५ जेठ २ गतेको कमिटी ब्युँताउनुपर्ने सर्त अघि सारेको छ। तर, अध्यक्ष ओली त्यसका लागि तयार छैनन्। जसले एमालेभित्रको विवादलाई उत्कर्षतर्फ धकेलेको छ।

अदालतले एमाले र माओवादी केन्द्रबीचको एकतालाई रद्ध गरिदिएसँगै नेपाल एमालेभित्र निकै कमजोर अवस्थामा पुगेका छन्। पार्टी कमिटी र संसदीय दलमा ओलीको एकलौटी चल्दा नेपाल पक्ष निरीह देखिएको छ। तैपनि नेपाल ओलीसामु डगेका छैनन्। बरु, समानान्तर कमिटी बनाएर ओलीलाई चुनौती दिने मनस्थितिमा छन्।

नेता नेपाल ओलीको शक्तिसामु किन झुक्न तयार छैनन् त?

संगठनमा ३२ सालदेखिको पकड
नेपाल बैंकको जागिर छाडेर सक्रिय राजनीतिमा आएका नेपाल कोअर्डिनेसन केन्द्र गठनदेखि नै सधैँ पार्टीको नेतृत्वमा रहे। भूमिगतकालमा सीपी मैनाली, झलनाथ खनाल महासचिव हुँदा नेपाल दोस्रो नेताको हैसियतमा थिए। त्यसैगरी मदन भण्डारी महासचिव हुँदा पनि उनी त्यही भूमिका थिए। भण्डारीको निधन भएपछि नेपाल एमालेको महासचिव बने। त्यसपछि एमालेको १५ वर्षसम्म नेतृत्वमा रहे।

‘कोअर्डिनेसन केन्द्रदेखि अहिलेसम्म पूर्वप्रधानमन्त्री नेपालको पार्टी संगठन निर्माणमा ठूलो भूमिका छ। एमाले जसरी सञ्चालन हुने गरेको थियो, त्यसको जग निर्माण गर्न भूमिका खेल्नु भएको हो,’ एमालेका पोलिटब्युरो सदस्य पशुपति चौलागाईंले भने, ‘नवौ महाधिवेशनमा अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष ओलीले त्यसलाई भत्काउन थाल्नु भएको छ। संगठनात्मक विधि र प्रक्रिया भत्काएर एकलौटी गर्न चाहनुहुन्छ।’

संगठनमा पकड भएकै कारण ०६४ मा नेतृत्व छाडेपछि पनि नेपाल पार्टीमा बलियो स्थितिमा रहेको उनीनिटक नेताहरु बताउँछन्।

‘अहिले पनि सबै जिल्लामा छुट्टै पार्टी बनाएर जाँदा पनि पार्टी सञ्चालन गर्न सकिन्छ भन्ने आत्मविश्वास उहाँमा छ,’ उनीनिकट एक नेताले भने।

पार्टीमा जिम्मेवारीविहीन र चुनावमा उम्मेदवारविहीन बनाइने भय
ओलीसँग अन्तरसंघर्ष बढ्दै गएपछि नेपालले आफूनिकट नेताहरुलाई बारम्बार भन्ने गरेका छन्– ओलीले पार्टीभित्र हाम्रो सबै जिम्मेवारी खोस्छन्। चुनावमा पनि उम्मेदवारविहीन बनाउँछन्।

‘स्थानीय तहको चुनावको समयमा पनि ओलीले एकलौटी गर्नु भएको हो। माओवादीसँग चुनावी गठबन्धन गर्ने समयमा टिकट दिने समयमा पनि त्यस्तै गर्नुभयो। जुन स्थानमा नेपालनिकट नेताले चुनाव टिकट पाउने निश्चित थियो, त्यहाँ माओवादीलाई ठाउँ छाडिदिनु भएको थियो,’ उनीनिकट एक नेताले भने, ‘आउँदो चुनावमा त दुईचार जनाले पनि टिकट पाउने सम्भावना छैन।’

उनले नेपाल पक्षले बहिष्कार गर्दागर्दै पनि ओलीले राखेको चैत ७ को बैठकको उदाहरण दिँदै पार्टीमा पनिसबैको जिम्मेवारी खोसिने बताए।

कार्यशैलीमा बेमेल
कार्यशैलीमा रहेको आकाश–जमिनको अन्तरका कारण पनि ओली र नेपाल सँगै बस्ने स्थिति नभएको नेपालनिकट नेताहरु बताउँछन्।

‘उहाँहरुले सम्बन्ध, सम्पर्क राख्ने, उठबस गर्ने कार्यकर्ताको प्रकृति नै अलगअलग छ,’ ती नेता बताउँछन्।

उनका अनुसार नेपालले आफूलाई समन्वयकारी नेताको रुपमा प्रस्तुत गर्ने गरेका छन् भने ओलीले सबैलाई आफ्नो अधीनमा राख्न खोज्छन्।

‘ओली सबै शक्तिमा आफूमा केन्द्रित गरेर पार्टी सञ्चालन गर्न चाहनुहुन्छ। पछिल्ला बैठकहरुबाट गरेको निर्णय र शक्ति केन्द्रीकरण गरेको कुराले पनि त्यो देखिन्छ,’ ती नेताले भने, ‘ओली एमालेलाई मासबेस्ड पार्टीमा बदल्न चाहनुहुन्छ। जबकि नेपाल कार्यकर्तामा आधारित मासबेस्ड पार्टी निर्माण गर्न चाहनु हुन्छ।’

यो पनिः यी पाँच कारण जसले ओलीलाई माधव नेपालविरुद्ध आक्रामक बनायो

कार्यकर्ता भेलाको उत्साह
फागुन २८ गते अध्यक्ष ओलीले नेपाल पक्षलाई खबर नै नगरी केन्द्रीय कमिटीको बैठक आयोजना गरे। त्यसको विरोधमा चैत ४ र ५ गते नेपाल पक्षले गरेको कार्यकर्ता भेलामा देशभरबाट भएको उपस्थितिले पनि उनीहरु उत्साहित छन्। करिब २ हजार कार्यकर्ता भेला उपस्थित हुने अनुमान गरिएपनि चार हजार कार्यकर्ता भेलामा उपस्थित भएका थिए। त्यसले ओलीलाई चुनौती दिन सकिने आत्मविश्वास नेपालमा पैदा भएको छ। ओली पक्षले भने पार्टीको आधिकारिकता र चुनाव चिन्हको कुराले नेपाल पक्षका धेरै कार्यकर्ता आफ्नोतर्फ आउने अपेक्षा राखेको छ।

माओवादीसँगको कार्यगत एकता
नेपाल पक्षले माओवादीसँग कार्यगत एकता गरेर प्रत्यक्ष निर्वाचनमा पनि बलियो गठबन्धन निर्माण गर्न सकिने आकलन गरेको छ। प्रत्यक्ष निर्वाचनमा एक्लै वा गठबन्धनबाट निर्वाचन जित्न सकिने र कैयाँै स्थानमा ओली पक्षलाई अफ्ठयारो पार्न सक्ने लेखाजोखा उनीहरुको छ। चुनाव चिन्ह र एमालेको आधिकारिकता ओली पक्षले पाए पनि प्रत्यक्षतर्फ चुनाव जित्नका सो समूहका नेताहरुलाई सहज नहुने अनुमान नेपाल पक्षको छ।

नेपालले अन्य दलहरुसँग गर्दै आएको लामो सहकार्यबाट फाइदा उठाउने योजना पनि बनाएका छन्। त्यसैअनुसार उनले अहिले नै विभिन्न दलका नेताहरुसँग भेटघाट र छलफल सुरु गरेका छन्। पछिल्लो समयमा उनको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग निकटता बढ्दो छ। त्यसैगरी चुनावमा समयमा निर्माण हुनसक्ने ओलीविरोधी गठबन्धनबाट पनि फाइदा लिने सकिने आकलन नेपाल समूहको छ।

अर्कोतिर, नेपालले एमालेका पुराना नेताहरुको समेत समर्थन जुटाएका छन्। चैत ४ र ५ गते भएको राष्ट्रिय कार्यकर्ता भेलामा मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, सिद्धिलाल सिंह, कमल कोइराला, मोदनाथ प्रश्रितलगायतलाई उपस्थित गराएर उनले पुराना एमाले नेताहरुको समर्थन आफूलाई रहेको सन्देश दिएका थिए। यसअघि ओली प्यानलबाट चुनाव जितेर हाल स्थायी कमिटीका सदस्य रहेका मुकुन्द न्यौपानेलाई पनि उनले आफ्नोतर्फ तानिसकेका छन्।

निर्वाचन प्रणालीको फाइदा
०५४ सालमा एमाले विभाजित भएर माले बन्यो। तर आम चुनावमा मालेको पत्तासाफ भयो। अहिले पनि नेपाल पक्ष करिब २० प्रतिशत कार्यकर्ता लिएर फुट्दा त्यसैगरी पत्तासाफ हुने दाबी ओली पक्षले गरिरहेको छ।

तर, अहिले निर्वाचन प्रणाली मिश्रित हुँदा त्यस्तो नतिजा नआउने नेपाल पक्षको विश्वास छ। एमालेका कार्यकर्ता वडा तहसम्म दुई खेमामा बाँडिएका छन्। त्यसले देशव्यापी रुपमा संगठन विस्तारको आधार नेपाल पक्षलाई दिएको छ।

‘समानुपातिक निर्वाचन प्रणालीको कारण नेकपा मालेको जस्तो अवस्था कहिले पनि हुँदैन,’ नेपालनिकट ती नेता भन्छन्, ‘गत आमनिर्वाचनमा एमालेले प्राप्त गरेको समानुपातिक मत भनेको नेपाली कांग्रेसभन्दा ४५ हजार मात्रै बढी हो। त्यो पनि एमाले र माओवादी केन्द्रको एकीकरणको लहरको कारण। विभाजित पार्टीको रुपमा जाँदा त्यसले पार्ने असर छँदै छ। सरकारमा बसेर प्रधानमन्त्री ओलीले के काम गरे, त्यसको पनि हिसाबकिताब जनताले गर्ने नै छन्।’

चुनावी गठबन्धन र कार्यगत एकताजस्ता कारणले प्रत्यक्ष निर्वाचनमा पनि सम्मानजनक उपस्थिति हुने उनीहरुको बुझाइ छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .