राजनीति


यी पाँच कारण जसले ओलीलाई माधव नेपालविरुद्ध आक्रामक बनायो

यी पाँच कारण जसले ओलीलाई माधव नेपालविरुद्ध आक्रामक बनायो

मणि दाहाल
चैत १६, २०७७ सोमबार १६:३४,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गर्ने निर्णय गरेका छन्।

पार्टीका वरिष्ठ नेता तथा उपाध्यक्षमाथिको कारबाहीसँगै एमालेको आन्तरिक कलहले पार्टी विभाजनको स्वरुप लिने अनुमान गरिएको छ। सोमबार नेपाल र रावललाई ओलीले ६ महिनाका लागि पार्टी सदस्यबाटै निलम्बन गरेका छन्।

प्रधानमन्त्री ओलीले शनिबार मात्रै नेपाल र रावलले दिएको स्पष्टीकरण कारवाही योग्य रहेको बताएका थिए। विधान संशोधन गरेर सबै अधिकार आफैँमा केन्द्रित गरेका ओलीले गरेको कारबाही अनपेक्षित भने होइन। तर नेपाल पक्षले पार्टीको विधान संशोधन महाधिवेशन वा विधान अधिवेशनले मात्रै गर्नसक्ने भन्दै यसबीचमा गरिएको सबै निर्णय अवैधानिक भएको बताउँदै आएको छ।

कारबाहीसँगै अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच करिब पाँच दशकदेखि जारी राजनीतिक सहकार्य समाप्त हुने सम्भावना देखिएको छ।

लामो समयदेखि पार्टी नेतृत्वमा रहेको र महाधिवेशनमा थोरै मात्रै मतान्तरले पराजित भएका नेपालमाथिको कारबाहीले विभाजनका अलावा एमालेलाई ठूलो क्षति पुर्‍याउन सक्छ। तर, ओली पक्षले त्यस्तो क्षतिको सम्भावनालाई नजरअन्दाज गरेको छ।

‘हरेक निर्णयमा खोचे थाप्दै अघि बढ्न नदिने र पार्टीको गतिविधिमा सधैँ अवरोध गर्ने प्रवृत्ति अब एमालेमा चल्दैन। पार्टी र सरकारका काम कारबाहीमा निरन्तर रुपमा अवरोध गरेर प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई असहयोग गरेपछि उहाँ दिक्क हुनुहुन्थ्यो। त्यसबाट उहाँ मुक्त हुन चाहनुहुन्थ्यो,’ ओलीनिकट नेता गोकुल बास्कोटाले भने, ‘कुनै नेता पार्टीको निर्णय स्वीकार गर्दै आएमा त्यसलाई स्वागत गरिन्छ तर समूहगत रुपमा बार्गेनिङ गर्नेले स्थान पाउने छैन।’

कारबाहीपछि नेकपा एमाले पुनर्गठनको अभियान चलाउने नेपाल पक्षको तयारी छ। ओली पक्षले भने पार्टी फुटे पनि त्यति ठूलो क्षति नपुग्ने अनुमान गरेको छ।

प्रधानमन्त्री ओलीका पछिल्ला निर्णयहरु नेपालप्रति आक्रामक हुँदै गएका छन्। ओली नेपाल समूहविरुद्ध किन यति आक्रामक रुपमा प्रस्तुत भए त?

एकछत्र पार्टीसत्ता चलाउने चाहना
नवौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष ओली एकलौटी रुपमा पार्टी सञ्चालन गर्न चाहन्थे। तर, त्यसका लागि सबैभन्दा ठूलो चुनौती बन्यो– माधवकुमार नेपाल पक्षको संगठनभित्रको बलियो उपस्थिति। नवौँ महाधिवेशनबाट केन्द्रीय कमिटीमा नेपाल पक्षले हाराहारीको संख्यामा जितेको थियो। स्थायी कमिटीमा ओली र नेपाल पक्ष बराबरीकै अवस्थामा थिए। जिल्लास्तरमा पनि नेपाल पक्षको उपस्थिति सशक्त नै थियो।

फागुन २३ गतेको अदालतको फैसलापछि फेरि शक्तिशाली बनेको ओलीले नेकपा हुँदै सुरु भएको तिक्ततालाई कारबाहीमा परिणत गरेका छन्। फैसलापछि नेपाल पक्ष एमालेमै फर्किन कानुनी रुपमा बाध्य भयो। त्यसपछि ओलीले एकलौटी रुपमा पार्टी सञ्चालन गरेर नेपाल पक्षलाई किनारामा पार्न खोजेको देखिन्छ।

कमजोर बनाउन सकिने अनुमान
अदालतको फैसलासँगै नेकपा माओवादी केन्द्रसँग भएको एकता प्रक्रिया भंग भएपछि एमालेमा आइपुगेका नेपाल पक्षलाई पेल्न सकिनेमा ओली पक्ष विश्वस्त छ। पार्टीसत्ता र राज्यसत्तामा दुवै आफैँसँग रहेकाले ओली पक्षले नेपाल पक्षलाई थप कमजोर बनाउन सकिने मौका देख्यो।

अहिले ४० प्रतिशत कार्यकर्ता रहेको नेपाल पक्षले विभाजनमा जाँदा १० प्रतिशत कार्यकर्ता गुमाउने आकलन ओली पक्षको छ।

‘पार्टीको आधिकारिकता र चुनाव चिन्ह पनि नभएको कारण तल्लो तहका कार्यकर्ता गइहाल्दैनन्,’ ओली पक्षका एक नेताले भने, ‘त्यसैगरी माओवादीसँग एकता वा कार्यगत एकता हुने भयो भने थप १० प्रतिशत कार्यकर्ता फर्किन्छन्।’

नेपाल जाँदा हुने क्षति पुर्ताल हुने आकलन
प्रधानमन्त्री ओलीले आफूनिकट नेताहरुलाई नेपाल समूह फुटेपनि ठूलो क्षति नहुने बताउने गरेका छन्। त्यसबाट हुने क्षति अरुलाई भित्र्याएर पुर्ताल गर्ने उनको योजना छ।

पछिल्लो समयमा पार्टी प्रवेश गरेका उद्योगी व्यवसायी मात्रै नभएर राजनीतिबाट बाहिर रहेको नयाँ पुस्तालाई विकास र राष्ट्रियताको नाराबाट पार्टीतर्फ आकर्षित गरी पूर्ति गर्न सकिने योजना उनले सुनाउने गरेका छन्। उनले पछिल्लो समय व्यापक रुपमा नियुक्तिहरु दिएका छन्। नियुक्ति पाउने व्यक्तिहरुलाई सीधै सम्पर्क गरेर काममार्फत स्थापित हुन र अब नेतृत्वका लागि तयार रहन पनि उनले निर्देशन दिने गरेका छन्।

‘अब काम गरेर आफूलाई प्रमाणित गर्ने जिम्मा तपाईंहरुको हो। आवश्यक सहयोगका लागि तपाईंहरुको पछि म छु,’ ओलीले भन्ने गरेका छन्।

७७ जिल्लामा नियुक्त गरिएका भूमि आयोग पदाधिकारी, सदस्य तथा विज्ञहरु समूहलाई पनि उनले यस्तै निर्देशन दिएका थिए। यसरी उनले पार्टीमा नितान्त नयाँ पंक्ति तयार गर्न सकिने बताउँदै आएका छन्।

पार्टीको नाम र चुनाव चिन्ह
पछिल्लो समयमा ओलीको आत्मविश्वास बढ्नुको मुख्य कारण हो– पार्टीको नाम र चुनाव चिन्ह कसैले खोस्न नसक्ने स्थिति।

नेकपा रहँदा पार्टीका सबै संरचनामा अल्पमत थिए उनी। तैपनि पार्टीको नाम र चुनाव चिन्हमा उनले दाबी गर्ने गरेका थिए। तर, एकता भंग हुनेबित्तिकै पार्टीभित्र सुविधाजनक बहुमतमा पुगेका छन् उनी। जसले गर्दा पार्टीको नाम र चुनाव चिन्ह सूर्य उनीसँग रहने अवस्था छ। नेकपा एमालेको ठूलो पंक्तिले आफूलाई पार्टीको नाम, सूर्य चिन्ह र जनता बहुदलीय जनवादसँग भावनात्मक रुपमा निकट ठान्छ। यो विरासत छाडेर ठूलो पार्टी पंक्ति नेता नेपालको पछि नलाग्ने उनको विश्वास छ। जसले उनलाई नेपाल समूहमाथि आक्रामक बन्न प्रोत्साहित गरेको छ।

एमाले कार्यकर्तामा माओवादीप्रतिको विकर्षण
नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको ३३ महिनामा अवधिमा एमाले कार्यकर्ता माओवादी पार्टीप्रति आकर्षित नभएको ओली पक्षको बुझाइ छ। माओवादी नेता तथा कार्यकर्ताको जनाधार निकै कमजोर रहेको उनीहरुको धारणा छ। त्यसैले एमाले कार्यकर्ता अब माओवादीतर्फ आकर्षित नहुने र नेपाल समूहले माओवादीसँग एकता गरे पनि कार्यकर्ता एमालेमै रहनेमा उनीहरु विश्वस्त छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .