ad ad

राजनीति


राजनीतिले क्लिनिक चौपट भएपछि डाक्टर सांसदले दिए राजीनामा

राजनीतिले क्लिनिक चौपट भएपछि डाक्टर सांसदले दिए राजीनामा

मणि दाहाल
साउन २८, २०७६ मंगलबार ७:४९,

समाजवादी पार्टी नेपालका संघीय सांसद डा.सूर्यनारायण यादवले एक्कासि पदबाट राजीनामा दिएका छन्। सभामुख कृष्णबहादुर महरा समक्ष उनले सोमबार राजीनामा बुझाएका हुन्।

जनकपुरमा रहेका यादवले स्वास्थ्य समस्या भएको भन्दै प्रतिनिधिमार्फत् राजीनामा बुझाएका हुन्।

‘सप्तरीका माननीयको राजीनामाको चिठ्ठी हिजो सभामुखज्युले प्राप्त गर्नु भएको छ। स्वास्थ्य समस्या भएको कारणले जिम्मेवारी अघि बढाउन सक्ने अवस्थामा नभएको बताउनु भएको छ,’ सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले नेपालखबरसँग भने, ‘राजीनामा दिने सांसदसँग भेटेर कुराकानी गरेपछि मात्रै सभामुखज्युले के गर्ने भनेर निर्णय गर्नु हुनेछ।’

पेशाले चिकित्सक यादवले आफू मधुमेह र उच्च रक्तचापको बिरामी भएको जनाउँदै राजीनामा दिएका छन्।

तत्कालीन संघीय समाजवादी फोरम नेपालका उम्मेदवार उनी सप्तरी–१ बाट निर्वाचित सांसद हुन्। समाजवादी पार्टी नेपालमा संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाका अनुसार डा.यादवले पहिलेदेखि नै स्वास्थ्यमा समस्या भएको तथा पेशा र राजनीतिलाई सँगसँगै लैजान अफ्ठ्यारो भइरहेको गुनासो गर्दै आएका थिए।

‘उहाँ उच्च रक्तचाप र मधुमेहका रोगी हुनुहुन्छ। पेशा (चिकित्सा अभ्यास) र राजनीतिलाई सँगसँगै लैजान समेत समस्या भएको गुनासो गरिरहनुहुन्थ्यो। अहिले सल्लाहबिनै राजीनामा दिनुभएछ,’ अरगरियाले नेपालखबरसँग भने, ‘एक्कासि राजिनामा दिनुभयो। हामी फिर्ता गराउन कोसिसमा छौं।’

राजीनामापछि भने उनले आफ्नो मृगौलामा समेत समस्या भएको जानकारी गराएका छन्।

डा.यादव जनकपुरका नाम चलेका बालरोग विशेषज्ञ हुन्। आफ्नै क्लिनिक सञ्चालक उनी अतिरिक्त समय निजी अस्पतालमा समेत काम गर्छन्। सांसद भएपछि बैठकमा सहभागी हुन, काठमाडौं र निर्वाचन क्षेत्र गइरहनु पर्दा उनको चिकित्सा अभ्यास प्रभावित बनेको थियो। अर्को तर्फ निर्वाचन क्षेत्र भ्रमण नगरेको भनेर उनको आलोचना हुने गरेको थियो।

राजीनामा आश्चर्यजनक
समाजवाद पार्टीका अध्यक्ष उपेन्द्र यादवका स्वकीय सचिव महेश चौरसियाले डा.यादवको राजिनामाले पार्टी नेताहरुलाई आश्चर्यमा पारेको बताएका छन्।

‘सरसल्लाहमा भएको होइन। उहाँ असन्तुष्ट पनि होइन। माग पनि थिएन। एक्कासि राजिनामा दिँदा आश्चर्यमा परेका छौं’ चौरसियाले नेपालखबरसँग भने, ‘पदाधिकारीहरुको आज बैठक बस्दैछ। त्यस विषयमा छलफल हुन्छ।’ पार्टीका शीर्ष नेताहरुले राजीनामा फिर्ता गराउन प्रयास गरिरहेका छन्।

२०७४ मंसिरमा भएको संसदीय निर्वाचनमा डा.यादव सप्तरी क्षेत्र नम्बर १ बाट २१ हजार ७१२ मत पाएर विजयी भएका थिए। उनले बाम गठबन्धनका पूर्व सांसद अशोक मण्डललाई पराजित गरेका थिए।

राजीनामा दिएका सांसद यादवसँग पटक–पटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .