ad ad

राजनीति


वामदेवलाई ओलीको नयाँ प्रस्तावः चुनाव वैशाखमै हुन्छ, गृहमन्त्री बन्नुस्

वामदेवलाई ओलीको नयाँ प्रस्तावः चुनाव वैशाखमै हुन्छ, गृहमन्त्री बन्नुस्

मणि दाहाल
फागुन ४, २०७७ मंगलबार १३:५३,

प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेव गौतमलाई फेरि चुनावी सरकारको उपप्रधान तथा गृहमन्त्री बन्न प्रस्ताव राखेका छन्। 

नेकपाको विवाद उत्कर्षतिर पुगेदेखि नै वामदेवलाई प्रधानमन्त्री, पार्टी अध्यक्ष, उपप्रधानमन्त्रीसहित अनेक प्रस्ताव गर्दै आएका ओलीले अहिले फेरि नयाँ प्रस्ताव राखेर आफ्नो पक्षतिर तान्न खोजेका हुन्।

पार्टी विभाजनपछि ओली र प्रचण्ड–नेपाल नेतृत्वको दुवै समूहमा नलागेर नेकपालाई पुनः एकीकृत गर्ने भन्दै एकता अभियान सुरु गरेका छन् गौतमले। 

यही बेला ओलीले आइतबार सरकारी निवास बालुवाटारमा बोलाएर गौतमलाई वैशाखमै चुनाव हुने भन्दै गृहमन्त्री बन्न आग्रह गरेका हुन्।

गौतमनिकट एक नेताका अनुसार भेटमा उनले प्रधानमन्त्री ओलीलाई केही प्रतिप्रश्न गरेका थिए।

चुनाव गराउँछु भन्दै हिंडेका प्रधानमन्त्री ओलीलाई गौतमको एउटा प्रश्न थियो– असार ५ गतेभित्र निर्वाचन गर्न नसकेको अवस्थामा के गर्नुहुन्छ?

जवाफमा ओलीले वैशाखमा जसरी पनि चुनाव हुने दाबी गरे। र, थपे– कुनै अन्यौल नराखी चुनावी सरकारको उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारी सम्हाल्न आउनुस्।

‘उहाँले प्रधानमन्त्रीसँग असार ५ गते संसद् विघटन गरेको ६ महिना पुग्छ, असार ५ गतेभित्र चुनाव गराउन सक्नुभएन भने के गर्नुहुन्छ भनेर प्रश्न गर्नुभएको थियो,’ गौतम निकट ती नेताले भने, ‘प्रधानमन्त्रीले वैशाखमा जसरी पनि चुनाव हुन्छ भन्नु भएको छ। तपाईंसँग चुनाव गराएको अनुभव पनि छ त्यसैले उपप्रधानमन्त्री र गृहमन्त्री बन्नुहोस् भनेर प्रस्ताव राख्नु भएछ।’

आइतबारको भेटमा ओली र गौतमबीच चुनाव र पार्टीको विषयमा डेढ घण्टा छलफल भएको थियो।

‘पार्टी एकता अभियानको क्रममा गौतमले प्रचण्ड र ओली दुवैसँग संवाद जारी राख्नुभएको छ,’ ती नेताले नेपालखबरसँग भने।

गौतमले यसबीचमा प्रचण्ड–नेपालतर्फका घनश्याम भुसाललगायत केही नेताहरुसँग परामर्श गरिरहेका छन्।

ओलीसँग भेट्नुअघि गौतमले शनिबार पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोनमा कुराकानी गरेका थिए। र, सोधेका थिए– चुनाव भयो भने कसरी जानुहुन्छ?

‘संसद् पुनर्स्थापना हुन्छ, त्यसपछि पार्टी एकीकरण हुने सम्भावना बढ्छ’, गौतमलाई प्रचण्डको जवाफ उधृत गर्दै ती नेताले भने।

गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले भने ओलीको तर्फबाट गृहसहित उपप्रधानमन्त्री बन्ने प्रस्ताव पहिले पनि आइसकेको बताए।

‘उपप्रधानमन्त्री र गृहमन्त्री बन्ने प्रस्ताव त यसअघि नै पटक पटक आएकै हो। अब फेरि उपप्रधानमन्त्री हैन पार्टी एकता भएपछि प्रधानमन्त्री नै बन्ने उहाँको योजना छ’, सुवेदीले भने, ‘आइतबार भएको भेटको विषयमा त गौतमले केही बताउनु भएको छैन।’

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि सत्तारुढ दल नेकपा अहिले विभाजित छ। एकीकृत नेकपामा उपाध्यक्ष रहेका गौतमले पछिल्लो समय पार्टी एकताका लागि राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका छन्। उनले  माघ १४ गते सो अभियानको घोषणा गरेका हुन्।

‘अहिलेसम्म २३ वटा जिल्लामा एकता अभियान समिति गठन भएको छ’, एकता अभियानका सहसंयोजक हरि पराजुलीले नेपालखबरसँग भने, ‘अबको १५ दिनपछि प्रदेशस्तरमा एकता अभियान भेला सुरु हुनेछ। त्यस बेलासम्ममा सर्वोच्च अदालतको फैसला पनि आउँछ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .