ad ad

राजनीति


वाग्लेको मृत्यु सन्देहपूर्ण भन्दै नेकपाले बनायो छानविन समिति, ६ गते प्रचण्ड–नेपालको उपस्थितिमा श्रद्धाञ्जली सभा

वाग्लेको मृत्यु सन्देहपूर्ण भन्दै नेकपाले बनायो छानविन समिति, ६ गते प्रचण्ड–नेपालको उपस्थितिमा श्रद्धाञ्जली सभा

नेपालखबर
फागुन १, २०७७ शनिबार १४:४८,

नेकपाका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेको मृत्यु शंकास्पद देखिएको भन्दै पार्टीले छानविन गर्ने निर्णय गरेको छ।

पार्टी केन्द्रले नेकपाका केन्द्रीय सदस्य प्रल्हाद बुढाथोकीको संयोजकत्वमा ‘डाचाराज वाग्लेको सन्देहपूर्ण दुर्घटना सम्बन्धि छानविन टोली’ गठन गर्ने निर्णय गरेको पार्टीका स्थायी समिति सदस्य तथा निवर्तमान शिक्षामन्त्री गिरीराजमणि पोखरेलले जानकारी दिए।

समितिमा राष्ट्रियसभाका सांसद राधेश्याम पासवान, प्रदेश २ का सांसद डिल्ली उप्रेती, सर्लाहीका नेकपाका नेताहरु सुरेन्द्र लामा, फकिरा महतो, रामपृत यादव, राजन पौडेल, रञ्जना सरकार र सञ्जय पाचे सदस्य छन्।

समितिलाई नेता वाग्लेको सन्देहपूर्ण दुर्घटनाको छानविन गरी सत्यतथ्य संकलन गर्ने जिम्मेबारी दिइएको नेकपाले जनाएको छ।

यसैबीच नेकपाले यही फागुन ६ गते सर्लाहीमा नेता वाग्लेको श्रद्धाञ्जली सभा गर्ने निर्णय गरेको छ।

नेता पोखरेलको उपस्थितिमा नेकपा सर्लाहीको शनिबार बागमतीमा बसेको बिस्तारित बैठकले नेता वाग्लेको गाउँ सर्लाहीको हजारबिघामा श्रद्धाञ्जली सभा गर्ने निर्णय गरेको हो। सभामा पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने निर्णय भएको नेता पोखरेलले जानकारी दिए।

बैठकमा केन्द्रीय सदस्य तथा निवर्तमान श्रममन्त्री रामेश्वर राय यादव, केन्द्रीय सदस्यहरु अच्युतम काफ्ले र लक्ष्मण पौडेलको पनि उपस्थिति थियो।

नेता वाग्लेको गत माघ २१ गते राति सर्लाहीको बरहथवामा भएको सवारी दुर्घटनामा मृत्यु भएको थियो। दुर्घटनालाई नेकपाले शंकास्पद भन्दै आएको छ। नेकपाले २२ माघमा आयोजना गरेको देशव्यापी आम हड्तालको पूर्वसन्ध्यामा बरहथवामा आयोजित मशाल जुलुशमा सहभागी भएर बागमतीतिर फर्किंदै गर्दा मुर्तियाको जंगल क्षेत्रको सडकमा वाग्लेको शव फेला परेको थियो।

प्रहरीले सडक दुर्घटनामा वाग्लेको मृत्यु भएको बताउँदै आएको छ। तर वाग्ले सवार मोटरसाइकल कसरी दुर्घटनामा पर्यो अहिलेसम्म प्रहरीले खुलाएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .