ad ad

राजनीति


सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई दुई मन्त्री छान्न सकस, यी हुन् आकांक्षी

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई  दुई मन्त्री छान्न सकस, यी हुन् आकांक्षी

गोकुल जोशी
माघ १, २०७७ बिहिबार ११:२१,

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गत पुस १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीनिकट भौतिक पूर्वाधार विकास मन्त्रीलाई पठानसिंह बोहरालाई बर्खास्त गरे। त्यसको एक सातापछि पुस २२ गते आर्थिक मामिला तथा योजनामन्त्री झपडबहादुर बोहरा पदबाट राजीनमा दिए।

प्रधानमन्त्री ओलीले पुस ५ प्रतिनिधि सभाको विघटन गर्दै नयाँ निर्वाचनको मिति घोषणा गरेपछि नेकपा दुई समूहमा विभाजन भएको छ। बर्खास्त गरिएका र राजीनामा दिएका दुवै मन्त्री प्रधानमन्त्री ओलीनिकटका हुन्। यी दुई मन्त्री बाहिरिएपछि सुदूरपश्चिम प्रदेश सरकारमा अब प्रचण्ड–नेपाल पक्षमात्रै छ।

सरकारमा एक पक्षमात्रै रहे पनि रिक्त दुई मन्त्रालयमा दुई साता बितिसक्दा पनि मन्त्री नियुक्त हुन सकेको छैन। पाँच वटा विकासे मन्त्रालय रहेको सुदूरपश्चिममा रिक्त मन्त्रालयको कामकाज पनि मुख्यमन्त्री भट्टले नै हेरिरहेका छन्।

मन्त्रालय दुई आकांक्षी धेरै भएपछि मुख्यमन्त्री भट्टलाई मन्त्री छान्न सकस परेको छ। एकातिर मन्त्रीका आकांक्षी बढी हुनु अर्कोतिर आफ्ना पक्षका सांसदलाई अर्को पक्षमा जानबाट रोक्नु पर्ने चुनाैती मुख्यमन्त्री भट्टलाई छ।

आकांक्षी धेरै हुँदा मन्त्री नियुक्तमा ढिलाइ भएको सोही समूहका एक प्रदेश सांसद बताए। ‘दुई वटा मन्त्रालयमात्रै रिक्त छन्, अपेक्षा धेरै साथीको छ। यस्तो अवस्थामा सबैसँग छलफल नगरी मुख्यमन्त्री एकलौटी रुपमा अगाडि बढ्नु भयो भने त्यसले दुर्घटना निम्त्याउन सक्छ’, ती सांसदले नेपालखबरसँग भने, ‘त्यसैले सबैसँग समन्वय गरेर मन्त्री नियुक्त गर्नुपर्ने भएकाले केही ढिलाइ भएको हो।’

आकांक्षी नेताहरुको उचित व्यवस्थापन गर्न नसके मुख्यमन्त्री भट्टलाई नै ‘खतरा’ हुने प्रचण्ड–नेपाल समूहकै अर्का सांसद बताउछन्। ‘केही साथीहरु मन्त्री नदिए अर्को समूहमा जान्छौँ पनि भनिरहेका छन्। यसो भयो भने मुख्यमन्त्री ज्यूलाई खतरा हुन सक्छ’, उनले नेपालखबरसँग भने, ‘त्यसैले आकांक्षी नेताहरुको उचित व्यवस्थापन गर्नुपर्छ।’

नेकपा सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङ (कञ्चनपुर), सचेतक अक्कल बहादुर रावल (अछाम), मानबहादुर धामी (दार्चुला), पूर्व सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी (कैलाली), पूर्णा जोशी (डोटी), वीरमान चौधरी (कैलाली) लगायत दर्जन बढी प्रदेश सांसद मन्त्रीको दौडमा रहेको स्रोतले बतायो। प्रदेश सरकारमा कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने मन्त्री छैनन्।

कञ्चनपुरबाट प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने उद्योग, पर्यटन तथा वन, वातावरण राज्यमन्त्री प्रकाश रावल ठगी मुद्दामा मुछिएपछि पदमुक्त भएका थिए। त्यसपछि कञ्चनपुरले प्रदेश सरकारमा ठाउँ पाएको छैन। त्यसैले कञ्चनपुरको प्रतिनिधित्व गर्दै तारालामा तामाङलाई मन्त्री बनाउन दबाब छ।

यस्तै अछामबाट निर्वाचित आर्थिक मामिला तथा योजनामन्त्री झपडबहादुर रावलको राजीजामापछि अछामकै अक्कलबहादुर रावललाई मन्त्री बनाउन नेताहरुको दबाब छ।

याे पनि  : सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिएको ओली पक्षको यस्ताे छ रणनीति

कैलालीका सांसद तथा पूर्व–सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीलाई पनि मन्त्रीको आकांक्षीका रुपमा हेरिएको छ। उनकै सक्रियतामा केही समयअघि मुख्यमन्त्री भट्टविरुद्ध हस्ताक्षर अभियान चलाएको चर्चासमेत चलेको थियो। पदीय मर्यादाविपरीत काम गरेको भन्दै मुख्यमन्त्री भट्टले २०७५ कार्तिक २७ गते सोडारीलाई बर्खास्त गर्दै कृष्णराज सुवेदीलाई नियुक्त गरेका थिए।

कैलालीबाट निर्वाचित वीरमान चौधरीलाई पनि मन्त्रीको मुख्य दाबेदारका रुपमा हेरिएको छ। उनले मन्त्रालय नपाएमा नेकपाको समीकरण फेरबदल हुन सक्ने सांसदहरुको विश्लेषण छ। चौधरी कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट प्रदेश सभामा निर्वाचित भएका थिए। कैलाली क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा निर्वाचित गौरीशंकर चौधरी ओली पक्षमा लागेका छन्। उनले संघीय सरकामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन्।

‘उहाँ (वीरमान) ले मन्त्री नपाए ओली समूहतिर लाग्न सक्नुहुन्छ। त्यसो भयो भने समीकरण नै बदलिन सक्छ’, एक सांसद भने, ‘उहाँको पछि अन्य सांसद पनि लाग्ने सम्भावना धेरै छ।’

यता ओली पक्ष भने दुई मन्त्रालयमा नियुक्त भएपछि असन्तुष्टहरुलाई आफ्नो पक्षमा पार्दै सरकार र्ने फेर्ने रणनीतिमा छ। सुदूरपश्चिम प्रदेश सभामा ५३ जना सांसद छन्। तीमध्ये ३९ जना नेकपा, १२ जना नेपाली कांग्रेस र २ जना जनता समाजवादी पार्टीका सांसद हुन्।

सांसद झपडबहादुर बोहरा, पठानसिंह बोहरा, नेपालु चौधरी, लीलाधर भट्ट, रतन थापा, महेशदत्त जोशी र ग्याल्बु बोहरा ओलीको पक्षमा खुलेका सांसद हुन्। ओली समूहले भने अफ्नो पक्षमा १५ जना सांसद रहेको दाबी गर्दै आएको छ।ओली पक्ष सरकार गठनका लागि कांग्रेस र जनता समाजवादी पार्टीसँग पनि छलफलमा छ।

उता मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओली भने सांसदहरुको कित्ता क्लियर भइसकेकाले अब सांसद यताउता नहुने दाबी गर्छन्। मन्त्री नियुक्तिका लागि औपचारिक छलफल नभएको बताउँदै उनले प्रयाप्त छलफलपछि मात्रै मन्त्री नियुक्त हुने बताए।

‘मन्त्री नियुक्तिका लागि आवश्यक छलफल भएको छैन्, छलफल र सहमतिपछि मात्रै नियुक्त गर्ने तयारी छ’ ओलीले नेपालखबरसँग भने, ‘सांसदहरुले कित्ता क्लियर गरिसकेका छन्। सांगठनिक भूमिकामा रहँदै विभिन्न कार्यक्रममा सहभागी भइरहेकाले पनि अब यताउता हुन सक्ने सम्भावना कम छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .