प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सूर्य चुनाव चिन्ह आफूहरुकै हुने दावी गरेका छन्।
मंगलबार पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेकपा नाम र सूर्य चुनाव चिन्ह आफूहरुकै हुने भन्दै ढुक्क हुन कार्यकर्तालाई आग्रह् गरेका हुन्।
उनले निर्वाचन आयोगको दल सम्बनधी व्यवस्थाले पनि ५० प्रतिशत भन्दा बढी केन्द्रीय सदस्य जसको पक्षमा हुन्छ त्यसैलाई आधिकारिकता दिने व्यवस्था भएको बताए।
‘नेपाली कम्युनिस्ट पार्टी हाम्रै हुन्छ, सूर्य चिन्ह हाम्रै हुन्छ। तपाईँहरु लेखेर राख्नुस्’, उनले भने।
अध्यक्ष प्रचण्डले आफूहरु सोमबार निर्वाचन आयोगमा पुगेर छलफल गरेको पनि जानकारी गराएका थिए।
अध्यक्ष प्रचण्डले आफू र माधवकुमार नेपालबीचको एकता केपी ओलीसँग दुस्मनीका लागि नभएको बताए। ‘माधवजी र मेरो एकता केपीसँगको दुस्मनीका लागि भएको एकता होइन। हामी त पञ्चायतदेखि कै साथी हौं’, उनले भने।
उनले जनयुद्धलाई शन्तिपूर्ण बाटोमा ल्याउन र गणतन्त्र स्थापनाका लागि नेता नेपालको उल्लेख्य योगदान रहेको बताए। उनले युद्धकालमा पनि आफूहरुबीच छलफल र विचारको आदान प्रदान हुने गरेको बताए।
अध्यक्ष प्रचण्डले अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्नेमा आफू विश्वस्त बताए। उनले अदालतले पुनःस्थापना नगरे आफूहरु जनताको अदालतमा जाने र जनता जागरुक बनाउने बताए।
‘सर्वोच्च अदालतले संविधानको व्याख्या गर्ने हो, संशोधन गर्ने होइन, त्यसकारण संविधानको व्याख्या गर्दा अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्छ भन्नेमा म पूर्ण विश्वस्त छु’, उनले भने, ‘तपाईँहरु ढुक्क हुनुस् प्रतिनिधि सभा पुनःस्थापना हुन्छ।संविधानको उपयुक्त व्याख्या सर्वोच्चले गर्छ।’

प्रतिक्रिया