ad ad

राजनीति


पोम्पिओले ताइवान भ्रमण गरे चिनियाँ युद्धक विमानहरु तत्काल त्यहाँ पुग्नेछन्!

पोम्पिओले ताइवान भ्रमण गरे चिनियाँ युद्धक विमानहरु तत्काल त्यहाँ पुग्नेछन्!

नेपालखबर
पुस २७, २०७७ सोमबार १३:३४,

चीनको मुखपत्रको रुपमा रहेको पत्रिका ग्लोबल टाइम्समा छापिएको लेखअनुसार पोम्पिओले जनवरी २० अगाडि ताइवानको भ्रमण गरे त्यसले नराम्रो परिणाम निम्त्याउनसक्छ।

जनवरी २० मा अमेरिकाले नयाँ राष्ट्रपति पाउँदैछ। ट्रम्पलाई प्रतिस्थापन गर्दै डेमोक्रेटिक नेता जो बाइडेन नयाँ राष्ट्रपति बन्नेछन्।

एससीएपमीका अनुसार ग्लोबल टाइम्सले पोम्पिओको भ्रमणले युद्धको खतरा बढ्ने उल्लेख गरेको छ।

ताइवानलाई आफ्नो क्षेत्र भएको दाबी गर्ने चीनले यस क्षेत्रलाई आक्रमण गरेरै नियन्त्रणमा लिने बताइरहँदा अमेरिकाले पछिल्लो समय ताइवानलाई एउटा स्वतन्त्र राष्ट्रको रुपमा व्यवहार गर्ने गरेको छ।

अमेरिकाले ताइवानसँग अरबौं डलरको हतियार बेच्ने सहमति गरिरहँदा ताइवानले पनि आफू स्वतन्त्र मूलुक भएको र चीनको एक देश दुई प्रणाली नीति त्यहाँ नचल्ने बताउँदै आएको छ।

यसरी ताइवानलाई अमेरिकाले हतियार बेच्ने सम्झौता गरेपछि र अमेरिकी पानी जहाजहरु ताइवान र चीनको समुन्द्री सीमा प्रवेश गरेदेखि नै चीन अमेरिकासँग क्रुद्ध छ।

यस क्रममा चीनलाई थप चिढ्याउन अमेरिकाले गतहप्ता मात्र ताइवानसँग सम्बन्ध विस्तार गर्ने एउटा गम्भीर कदम चालेको छ।

लामो समयदेखि अमेरिकाले ताइवानका अधिकारीसँगको सम्पर्कमा प्रतिबन्ध लगाएको थियो। तर यतिबेला उक्त प्रतिबन्धलाई अमेरिकाले हटाइदिएको छ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले प्रतिबन्ध हटाएको जानकारी दिएका छन्। यसको अर्थ अमेरिकाले ताइवानसँग सम्बन्ध विस्तार गर्न लागेको छ।

यस कार्यसँगै ग्लोबल टाइम्समा पोम्पिओलाई लक्षित गर्दै चेतावनीपूर्ण लेख प्रकाशित गरिएको हो।

चीनले अमेरिकी कदमले गम्भीर परिणाम निम्त्याउने चेतावनी दिएको छ। चीनले युद्ध नै हुनसक्ने संकेत गरेको छ।

ट्रम्पलाई यतिबेला देशमा महाअभियोग लगाएर पदबाट हटाउने प्रयास भइरहेको छ। यसबीचमा उनले कुनै देशसँग युद्धको घोषणा नै गर्नसक्ने खतरा पनि बढेको विश्लेषण भइरहेको छ।

यसबीचमा अमेरिकी राज्य विभागकी प्रवक्ता मोर्गान ओर्टागसले पोम्पिओले ताइवान भ्रमण गर्ने तालिका नभएको जानकारी दिएकी छिन्।

सोमबार उनले पोम्पिओले तत्काल ताइवान भ्रमण नगर्ने तर ताइवानलाई अमेरिकाले आफ्नो समर्थन र सहयोग जारी राख्ने उल्लेख गरेकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .