ad ad

राजनीति


वैद्य नेतृत्वको पार्टीको ठहर : संसद विघटन निरंकुश र फासीवादी कदम

वैद्य नेतृत्वको पार्टीको ठहर : संसद विघटन निरंकुश र फासीवादी कदम

नेपालखबर
पुस २७, २०७७ सोमबार ६:३४,

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णयलाई निरंकुशतावादी तथा फासीवादी कदम भनेको छ।

सो पार्टीको आइतबार बसेको बैठकले सो निष्कर्ष निकालेको हो।

‘प्रतिनिधि सभा विघटनको कदमलाई गणतन्त्र, सङ्घीयता तथा धर्मनिरपेक्षताका विरुद्ध परिलक्षित निरङ्कुशतावादी तथा फासीवादी कदमका रुपमा विश्लेषण गरिएको छ,’ सो पार्टीले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

वैद्य नेतृत्वको पार्टीले नेपाली राजनीतिक क्षितिजमा तीन प्रकारका संभावना वा परिदृश्य देखापरेको उल्लेख गरेको छ।

‘पहिलो, संसदीय मध्यावधि निर्वाचन वा पुनस्थापना गरिएका दुवै अवस्थामा विद्यमान सङ्कटको समाधान हुन सक्दैन,’ उसले भनेको छ, ‘दोस्रो, देशीय प्रतिक्रियावादी शक्तिहरुबीचका अन्तर्विरोध तथा वैदेशिक चलखेल बढ्दै गएमा वा अन्य कुनै कारणले मध्यावधि चुनाव हुन नसकेमा देश पुनरुत्थानवाद वा झनै निरङ्कुशतावादको बाटोमा जान सक्तछ।’

तेस्रो, वामपन्थी, देशभक्त तथा जनवादी शक्तिहरु एकतावद्ध भई संयुक्त सङ्घर्षलाई प्रभावकारी ढङ्गले विकसित तुल्याउन सकेमा देश अग्रगामी निकास तर्फ अगाडि बढ्न सक्ने पनि सो पार्टीको ठहर छ।

‘उक्त तीन संभावनामध्ये तेस्रो संभावना तर्फ केन्द्रित हुनु पर्नेमा जोड दिइएको छ,’ उसले भनेको छ।

केन्द्रीय समितिको बैठकमा पारित राजनीतिक प्रस्तावमा वर्तमान सत्ता तथा व्यवस्थामा पैदा भएको सङ्कटको वास्तविक निकास र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरुको समाधान सङ्घीय जनगणतन्त्रको स्थापना बाटै हुने कुरा उल्लेख गर्दै त्यसका लागि देशभक्त, जनवादी तथा वामपन्थी शक्ति, समूह तथा व्यक्तित्वहरुका बीच बलियो संयुक्त मोर्चा तथा कार्यगत एकता गरी सङ्घर्षलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनु पर्ने सो पार्टीको निष्कर्ष छ।

सो पार्टीले नेपालको कृषि क्षेत्रमा विदेशी पुँजीे लगानी गर्न दिने ओली सरकारको हालैको निर्णयले नेपालका आम साना किसानको जीवन निर्वाहको बाटो नै समाप्त गरिदिने र नेपाली कृषिजन्य व्यवशायलाई समेत विस्थापित गर्ने भन्दै त्यसको विरोध गरेको छ।

उसले यो निर्णय जनघाती मात्र नभई राष्ट्रघाती समेत भएको ठहर गरी त्यसको तुरुन्त खारेजीको माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .