ad ad

राजनीति


चीनका रक्षामन्त्री दश दिनभित्र नेपाल आउँदै

चीनका रक्षामन्त्री दश दिनभित्र नेपाल आउँदै

मणि दाहाल
मंसिर ४, २०७७ बिहिबार १५:५२,

दक्षिणी छिमेकी भारतको प्रशासनिक तथा सुरक्षा निकायका उच्च अधिकारीहरु नेपाल भ्रमणमा आउने क्रम बढेका बेला उत्तरी छिमेकी चीनले पनि उच्च राजनीतिक भ्रमण तय गरेको छ।

चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङहे नोभेम्बर महिना (१० दिन) भित्रै नेपाल भ्रमणमा आउने तय भएको छ।

चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण तय गर्ने क्रममा रक्षा वा विदेश मन्त्रीमध्ये एक जना आउने प्रस्तावमाथि छलफल हुँदा अन्ततः रक्षामन्त्री नै आउने निश्चित भएको हो।

‘चीनका रक्षामन्त्री नै नेपाल भ्रमणमा आउने अब लगभग पक्का भएको छ। औपचारिकरुपमा केही कुराहरु टुंग्याउन बाँकी छ,’ सरकारको उच्च स्रोतले नेपालखबरसँग भन्यो, ‘यहि नोभेम्बर महिनाभित्र भ्रमण गर्नेगरी कार्यक्रम तय भइरहेको छ।’

चीनका राष्ट्रपति सी चिनफिङले गत वर्ष अक्टोबर १२–१३ मा भ्रमण गरेयता स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेइ फेङहे नेपाल आउने संभवतः पहिलो उच्च चिनियाँ अधिकारी हुनेछन्।

जनरल वेइ सन् २०१८ मार्चदेखि चीनको उपप्रधानमन्त्रीपछि पहिलो नम्बरका स्टेट काउन्सिलर र रक्षामन्त्रीको जिम्मेवारीमा छन्। चिनियाँ सेना पीएलएको रकेट फोर्स कमाण्डर रहिसकेका वेइ राष्ट्रपति सी चिनफिङ अध्यक्ष रहेको केन्द्रीय सैन्य आयोगका चारमध्ये पहिलो नम्बरका सदस्य हुन्।

लद्दाखको गलवान क्षेत्रमा चीन र भारतीय सेनाबीच तनाव बढिरहेका बेला सेप्टेम्बर ३ मा रुसको राजधानी मस्कोमा चिनियाँ रक्षामन्त्री वेइले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका थिए। अहिले भारतीय सेना र सुरक्षा अधिकारीको नेपाल भ्रमण बाक्लिँदै गएका बेला बेइजिङले पनि रक्षामन्त्री वेइको भ्रमण तय गरेको हो।

एक महिनाअघि कात्तिक ५ गते भारतको बाह्य गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलले काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग राति करिब ३ घण्टा भेटवार्ता गरेका थिए। जुन भेटवार्ताले सत्तारुढ नेकपाभित्रै विवाद निम्त्याएको छ।

रअका प्रमुखसँग सरकार प्रमुखले समान हैसियतमा वार्ता गरेको भन्दै प्रधानमन्त्री ओलीको आलोचना भइरहेको छ।

गोयल फर्केपछि भारतीय स्थलसेना प्रमुख मनोजमुकुन्द नरवणेले नेपालको तीनदिने भ्रमण गरे। कात्तिक २० गते नरवणेलाई दुई पक्षीय परम्पराअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गरिएको थियो।

नरवणेले राष्ट्रपति भण्डारी, रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए।

भारतका विदेश सचिव हर्षवद्र्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि मंसिर ११ गते काठमाडौं आउने तय भएको छ। केही महिनाअघि विदेश सचिव नियुक्त भएका श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हुनेछ, जसले नेपाल र भारतबीच राजनीतिक–प्रशासनिक तहमा वार्ता सुरु हुने विश्वास गरिएको छ।

केही साताअघि भारत–अमेरिका रक्षा सम्झौता भएसँगै दक्षिण र पूर्वी एसियामा चीनविरोधी गठबन्धन बलियो हुँदै गएका बेला नेपालमा पनि दक्षिण र उत्तरका खासगरी सुरक्षा अधिकारीहरूको भ्रमण बढ्न थालेको हो।

रक्षा सम्झौता गर्ने क्रममा भारत आएका अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले श्रीलंका, माल्दिभ्स, इन्डोनेसिया र भियतनामको पनि भ्रमण गरे, जसको उद्देश्य यस क्षेत्रमा चीनको बढ्दो दबदबा रोक्नु रहेको उनले खुलाएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .