राजनीति


नेकपामा बढेको हो संकट प्रतिरोधी क्षमता?

नेकपामा बढेको हो संकट प्रतिरोधी क्षमता?

मणि दाहाल
मंसिर ३, २०७७ बुधबार १७:१८,

संघीय संसदको झण्डै दुईतिहाइ बहुमत भएको पार्टी नेकपा पछिल्लो छ महिनामा दुई पटक विभाजनको संघारमा पुगेको भनी चर्चा चुलियो।

नेकपाका शीर्ष नेताहरुबीच हुने झगडाले साे पार्टीका कार्यकर्ता पंक्तिलाई पटकपटक झस्काइरहने गरेकाे छ।

यसअघि महिनौं तन्किएको विवाद विभाजनकै त्रास देखाउने बिन्दुमा पुगेर भदौको अन्तिम साता सो खतराबाट जोगिएको थियो।

तर त्यसको केहि साता नबित्दै पार्टीको शीर्ष तहबाटै पुनः विवाद सुरु भयो। यसपटकको विवाद र तिक्तता नेताहरुबीच औपचारिक आरोप प्रत्यारोपसम्म पुगेको छ।

तर, बुधबारका लागि तय भएको सचिवालय बैठक एक पक्षको रोक्नैपर्ने जोड र अर्को पक्षको गरीछाड्ने अडानका कारण पार्टी विभाजनको मोडतर्फ जाने हो की भन्ने तनाव बढेको थियो। तर अन्ततः सहमतिमा बैठक भयो। जसका कारण अहिले पनि विभाजनको खतरा टरेको आकलन गरिएको छ।

यसरी साढे तीन महिनाको अन्तरालमा सत्तारुढ नेकपाले पार्टी विभाजन निम्त्याउन सक्ने आकलन गरिएका विवादलाई तत्कालका लागि व्यवस्थापन गर्न सफल भएको नेताहरुले बताएका छन्।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवैको नेतृत्वमा रहेका दुई समानान्तर पक्षमा बाँडिएका नेताहरुबीच विवाद पटक पटक बल्झिरहेको हो।

‘अहिलेसम्म संकटहरु व्यवस्थापन हुँदै आएको छ, यसले नेकपाभित्र संकटप्रतिरोधी क्षमता बढेको देखिन्छ,’ स्थायी कमिटी सदस्य तथा कृषिमन्त्री घनश्याम भुसालले भने।

तत्कालीन नेकपा–एमाले र माओवादीबीच पार्टी एकीकरण भएको ३१ महिना पुग्दा समेत एकताका बाँकी कामहरु पुरा भएका छैनन्। एकीकृत पार्टी नेकपा वैचारिक तथा संगठनात्मकरुपमा संक्रमणकालीन अवस्थामै रहेको छ।

पूर्ववत् पार्टीमा आधारित विभाजन र गुट सक्रिय छन्। एकताको महाधिवेशनबाट संगठन र सिद्धान्तको विषयमा टुङ्गो लगाउने बताउँदै आए पनि पार्टीका गतिबिधिहरु त्यसतर्फ उन्मुख छैनन्।

ओली नेतृत्वको सरकारले गत बैशाखमा पार्टी फुटाउन सहज हुनेगरी अध्यादेश जारी गरेपछि सत्तारुढ दल नेकपाभित्र भुसको आगोजसरी गुम्सिएको विवाद छताछुल्ल भएको थियो। असारको दोस्रो साता सुरु भएको स्थायी कमिटी बैठकमा सो विवाद थप उत्कर्षमा पुगेको थियो।

‘नेकपामा संकटसँग जुघ्ने प्रतिरोधी क्षमता पर्याप्त मात्रामा छ। हल्का ढंगले टुटफुट हुने अवस्था छैन। तर समय समयमा यो अन्तरिक समस्यामा पर्दै आएको छ भने समाधान पनि गर्दै आएका छौं तर विगतको भन्दा अहिलेको समस्या अली बढी नै गम्भीर हो,’ महासचिव विष्णु पौडेलले भने, ‘यसलाई भदौको स्थायी कमिटी बैठकले पारित गरेको प्रस्तावकै सेरोफेरोमा आधारित रहेर समाधान गर्नेछाै‌ं।’

भदौ २६ को स्थायी कमिटी बैठकमा दुवै अध्यक्षले जिम्मेवारी बाँडफाँट सम्बन्धी एक संयुक्त प्रस्ताव पेस गरेका थिए। बैठकले त्यसलाई सर्वसम्मत पारित गरेको थियो।

सो प्रस्तावअनुसार ओलीले वर्तमान प्रतिनिधि सभाको कार्यकालभर सरकारको नेतृत्व गर्ने र प्रचण्डले कार्यकारी अध्यक्षको रुपमा पार्टी सञ्चालन गर्ने उल्लेख छ।

तर भदौ २६ मा स्थायी समितिले पारित गरी पछि सचिवालयले समेत अनुमोदन गरेको सो प्रस्ताव कार्यान्वयन हुन सकेको छैन।

कार्यान्वयन नहुनुमा दुई अध्यक्षले नेतृत्व गरेका पक्षहरुले एकले अर्कोलाई दोष लगाउने गरेका छन्।

तर भदौ अन्तिमको सो प्रस्तावका आधारमा नेकपाका दुई अध्यक्षबीच गरिएको युद्धविराम केहि महिना पनि टिक्न सकेन।

गत कात्तिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले एक राजनीतिक प्रस्ताव पेस गरेका थिए।

जसमा उनले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई बिभिन्न आरोप लगाएका छन्। त्यसैले ओली पक्षले सो प्रस्ताव फिर्ता नलिएसम्म बैठक नै बस्न नसक्ने दाबी गर्दै आएका थिए।

बुधबारको बैठक स्थगित गरेर बिबाद समाधानका लागि केही दिनको कुलिङ पिरियड आवश्यक रहेको ओली पक्षको जोड थियो।

तर कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालयका बहुमत सदस्यहरुले बुधबारको बैठक जसरी पनि राख्ने पक्षमा अडिग रहे।

उनीहरुले प्रधानमन्त्री ओली नआएपनि बैठक बस्ने दावी गरेका थिए।

उता प्रधानमन्त्री ओलीले सचिवालयको बैठक समय र स्थान जुधाएर बुधबार १ बजे नै मन्त्रिपरिषदको बैठक बोलाएपछि तनावपूर्ण अवस्था सिर्जना भएको थियो।

तर केहि स्थायी कमिटी सदस्यहरुको सक्रियतापछि बुधबारको संकट टरेको छ। ओलीले मन्त्रिपरिषदको बैठक एक घण्टा पर सारेर कार्यकारी अध्यक्ष प्रचण्डले प्रस्ताव फिर्ता नलिएपनि सचिवालयको बैठकमा प्रधानमन्त्री ओली उपस्थित भए।

बैठकले पनि ओलीले मागे गरेअनुरुप कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्तावको काउन्टर प्रस्ताव ल्याउनका लागि उनलाई समय दियो।

सो प्रस्ताव तयार गर्नका लागि ओलीले माग गरे जति १० दिनको समय पनि बैठकले उनलाई दिएको छ।

ओलीले प्रचण्डले पेस गरेको प्रस्तावलाई अराजनीतिक र आरोप तथा आक्षेपहरुको पत्र मात्रै भएको बताएका छन्।

त्यसो त मंसिर १३ गते अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचण्डको आरोपहरुमा उल्लेखित एक–एक शब्दको तथ्यगतरुपमा जवाफ फर्काउने बुधबारको बैठकमै घोषणा गरेका छन्।

त्यसैले ओलीको जवाफ झनै आक्रामक हुने अनुमान सहजै गर्न सकिन्छ, जसले नेताहरुबीचको विवाद झनै पेचिलो हुने संभावना पनि उत्तिकै छ।

बुधबार जेजसरी बैठक आयोजना भयो, त्यसले गम्भीर मोडमा पुगेको नेकपाको विवाद केहि दिनका लागि भए पनि व्यवस्थापन भएको देखिएको छ। यसले आमजनता र पार्टी पंक्तिलाई भने निकै निराश बनाएको छ।

आमनागरिक र कार्यकर्ताले व्यक्त गरेका निराशाजनक अभिव्यक्तिहरु सामाजिक सञ्जालमा समेत छताछुल्ल देखिन्छ जसले नेकपाका शीर्ष नेताहरुको साखलाई गिराएको छ।

मन्त्री भुसालले पनि पछिल्ला गतिबिधिका कारण शीर्ष नेताहरुको साखमा क्षयीकरण हुँदै गएको स्वीकार्छन्।

आमजनता र समग्र पार्टीपंक्तिमा मात्र नभई आफ्नै गुटभित्र समेत नेताहरुले विश्वास गुमाउँदै गएका छन्।

‘अहिले पार्टी मात्रै होइन गुटभित्र पनि नेताले भन्ने वित्तिकै आँखा चिम्लेर अघि बढ्ने अवस्था देखिदैन। यो अवस्थाले नेताहरुको अपिललाई कमजोर बनाएको छ’ भुसालले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .