ad ad

राजनीति


प्रदेश ५ को राजधानी भालुवाङ बनाउने पक्षमा दुई तिहाइ कति सम्भव?

प्रदेश ५ को राजधानी भालुवाङ बनाउने पक्षमा दुई तिहाइ कति सम्भव?

प्रकाश न्यौपाने
असोज १६, २०७७ शुक्रबार १६:०,

प्रदेश ५ को शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको स्थायी राजधानी दाङको भालुबाङ राख्ने निर्णय गर्‍यो।

त्यसलगत्तै बसेको प्रदेश सभा बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले सो प्रस्ताव सभामा पेश गरे।

प्रदेश सरकारले दाङ राप्ती गाउँपालिकाको भालुवाङ बजारलाई केन्द्र मानेर दाङकै गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई समेत समेटेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो। प्रदेशको नाम भने लुम्बिनी राख्ने निर्णय भएको छ।

सरकारका यी दुबै प्रस्ताव मन्त्री केसीले प्रदेश सभामा पेश गरेका छन्।

प्रदेश सभामा सरकारको तर्फबाट प्रस्ताव पेश भएसँगै बिभिन्न अड्कलबाजी सुरु भएका छन् किनभने सरकारले प्रस्ताव पेश गरे पनि दुईतिहाइ बहुमत प्रदेश सभा सदस्यले निर्णय गरे मात्रै राजधानी र नाम तोकिने हो।

प्रदेशमा नेकपाका ६१, काँग्रेसका १९, समाजवादीका ६ र जनमोर्चाका १ जना सांसद छन्।

प्रदेश राजधानी हालको अस्थायी केन्द्रबाट अन्यत्र सार्न दुईतिहाइ बहुमत चाहिन्छ र यसका लागि ६६ जना सांसदले प्रस्तावको पक्षमा मतदान गर्नुपर्छ।

प्रदेश सभामा नेकपा एक्लैको दुईतिहाइ बहुमत पुग्दैन। अन्य दलका सांसदको पनि समर्थन चाहिन्छ।

यसका लागि अन्य दलकाे समर्थन पर्याप्त हुन्छ वा हुँदैन भन्ने प्रश्न उब्जिएको छ।

नेकपाको ह्विपअनुसार सबैले भोट गरेमा पाँच जना सांसद मात्र अपुग हुनेछ भने केहि सांसद स्थानीय एजेन्डाको पक्षमा उभिएर प्रस्तावको पक्षमा मत नहालेमा वा अनुपस्थित भएमा थप सांसदको साथ चाहिने छ।

नेकपाका एक सांसदका अनुसार त्यस्तो संभावना न्यून हुन्छ तर नकार्न सकिँदैन।

त्यस्तो अवस्थामा दाङ केन्द्र बनाउन चाहने नेपाली कांग्रेस लगायतका अन्य दलका सांसदहरुको मतले त्यसको क्षतिपूर्ति गर्नुपर्नेछ।

दाङका दिल्ली चौधरी र शंकर गिरी, बाँकेका सुरेन्द्र हमाल, मोहम्मद याकुक अन्सारी, बाँकेकै समाजवादी पार्टीका विजयबहादुर यादव, कपिलवस्तुका सहसराम यादव र वीरेन्द्र कनौडिया, बर्दियाका भुवनेश्वर चौधरी, सुमन शर्मा रायमाझी, प्यूठानकी जनमोर्चा सांसद तारा जिसीलगायत दाङ, बाँके, बर्दियाका अन्य पार्टीका सांसदले भालुवाङ राजधानी बनाउने पक्षमा उभिने छन्। 

नेकपाले ह्वीप जारी गरेपछि नेकपा रुपन्देही, नवलपरासीकै सांसदहरुले पनि बाध्य भएर भालुवाङ राजधानी बनाउन मतदान गर्ने धेरैकाे अनुमान छ।

प्रदेश ३ को राजधानी र नाम प्रस्ताव गर्दा नेकपाको केन्द्रीय नेतृत्वले अत्यन्तै अपायक मानिएको हेटौंडालाई केन्द्र तोक्न निर्देशन दिएकाे थियाे। सुरुमा त्यसको चर्को विरोध गरेका सोहि पार्टीका सांसदहरुले पनि अन्ततः पार्टी निर्देशनअनुसार नै मतदान गरेका थिए।

दाङबाट निर्वाचित कांग्रेस प्रदेश सभा सदस्य डिल्ली चौधरीले सरकारले आफूहरुको मागअनुसार नै राजधानी प्रस्ताव गरेकाले जस्तोसुकै परिस्थितिमा पनि यसको समर्थन गर्ने जनाए।

‘हाम्रो माग नै दाङ राजधानी होस् भन्ने थियो, सरकारले प्रस्ताव पेश गरेको छ, यसमा हामीले सहयोग गर्छौं। पार्टीको संसदीय दलको बैठक बस्दै छ। बैठकपछि यसबारे आधिकारिक धारणा सार्वजनिक गर्ने छौं’, प्रदेश सभामा सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका चौधरीले भने।

रुपन्देही अस्थायी राजधानी तोकेपछि दाङ र बाँके क्षेत्रका काँग्रेस सांसदहरुले विरोध गर्दै आएका थिए।

Pradesh 5 GISmap 1

अस्थायी राजधानी तोक्ने बेला दाङ र बाँकेमा आन्दोलन समेत भएको थियो। दाङ राजधानी बनाउन मुख्यमन्त्री शंकर पोखरेल र आन्तरिक मामिलामन्त्री केसी एक ठाउँमा छन्। पाेखरेल पार्टीकाे साे प्रदेश इन्चार्ज समेत हुन्।

प्रदेशका केहि जिल्लाका सांसदलगायतले रुपन्देही पायक नपर्ने भन्दै दाङ राजधानी बनाउनु पर्ने माग गर्दै आएका थिए।

रुपन्देहीबाट निर्वाचित नेकपाका एक प्रदेश सभा सदस्य भन्छन्, ‘हरेक सांसदका आआफ्ना चाहना होलान् तर पार्टीले निर्णय गरेपछि मतदान गर्नु दायित्व हुन आउँछ। त्यसैले हामीले पार्टीको निर्णयअनुसारै मतदान गर्छौं।’

शुक्रबार मन्त्री केसीले राजधानी भालुवाङ बनाउन प्रस्ताव पेस गर्नासाथ विपक्षी दलका नेताहरुले विरोध जनाएपछि बैठक स्थगित भएको छ।

विपक्षीले उठेर विरोध गरेपछि सभामुख पूर्णबहादुर घर्तीले असोज १९ गते बस्ने गरी सो बैठक स्थगित गरेका छन्।

बुटवलमा विभिन्न राजनीतिक दलका विद्यार्थीले विरोधसमेत सुरु गरेका छन्।

उनीहरुले शुक्रबार बुटवलमा केहि सरकारी गाडी तोडफोड समेत गरेका थिए।

याे पनि: प्रदेश ५ को राजधानी दाङको भालुवाङ सार्ने भएपछि बुटवलमा सुरु भयो विरोध प्रदर्शन

रुपन्देही ३ (१) बाट प्रतिनिधित्व गर्ने जनता समाजवादी पार्टीका संसदीय दलका प्रमुख सचेतक सन्तोषकुमार पाण्डेयले प्रदेशको नाम लुम्बिनी राख्न प्रस्ताव गर्नु अन्यन्तै राम्रो विषय भए पनि राजधानी सार्न खोज्नु गलत भएको जनाए। उनले यस्तो महामारीका बेला राजधानी सार्ने निर्णय गरेर सरकार गैरजिम्मेवार बनेको आरोप लगाए।

‘बुटवललाई नै स्थायी राजधानी बनाइनुपर्छ। हाम्रो माग यही हो। यदि भालुवाङ लग्न खोजिन्छ भने हाम्रो विरोध रहन्छ’, उनले भने।

सबै हिसावले रुपन्देही पायक पर्ने र सुगम जिल्ला भएकाले यही नै राजधानी हुनुपर्ने पार्टीको धारणा रहेको उनले जनाए।

प्रदेश सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले भने प्रस्ताव पेश गर्दैमा राजधानी टुंगो लागिहाल्ने विषय नभएकाले यहाँ नै राजधानी हुन्छ भन्ने टुङ्गो नभएको बताए।

‘आज सरकारले आफ्नो धारणासहित प्रस्ताव पेश गरेको छ। आगामी बैठकमा यस विषयमा छलफल हुन्छ। सबै दलका नेताहरु, सदस्यहरुले आआफ्नो धारणा राख्नुहुन्छ। त्यसपछि मात्रै दुई तिहाइ बहुमत सदस्यहरुले निर्णय गरेपछि राजधानी र नाम तोकिने हो,’ मन्त्री चौधरीले भने।

प्रदेशको नाम लुम्बिनी राख्न दलहरु लगभग यसअघि नै सहमतिमै पुगे पनि बुटवललाई नै स्थायी राजधानी राख्नुपर्छ भन्ने संख्या पनि ठूलाे छ।

अर्कोतर्फ केही सांसदले कपिलवस्तुको चन्द्रौटामा स्थायी राजधानी बनाउनु पर्ने माग गरिरहेका छन्।

मन्त्री चौधरीले साेमबार बस्ने बैठकमा प्रदेश राजधानी र नामबारे छलफल हुने जनाए।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पककमल दाहाल प्रचण्डले प्रदेश राजधानी भालुवाङ राख्न निर्देशन गरेको भनिए पनि त्यसबारे आफूलाई जानकारी नभएको मन्त्री चौधरीको दाबी छ।

‘नाम र स्थायी राजधानी तोक्ने जिम्मा प्रदेश सभाको हो, केन्द्र सरकार र पार्टीले निर्देशन दिन मिल्दैन’, उनले भने, ‘दुई तिहाइ सदस्यले जहाँका लागि निर्णय गर्नुहुन्छ, त्यहीँ नै राजधानी रहन्छ। सरकारले प्रस्ताव मात्रै पेश गरेको हो।’

कहाँका सांसद कति?
साविक लुम्बिनी, राप्ती र भेरी अञ्चलका १२ जिल्ला समावेश गरी बनेको प्रदेश ५ मा ५२ जना सांसद लुम्बिनीका छन्। १७ जना भेरी र १८ जना राप्तीका छन्।

पछिल्लो जनगणनाअनुसार प्रदेश ५ अन्तर्गत साविक लुम्बिनी अञ्चलका २४ लाख ८५ हजार १ सय ११ जनसंख्यालाई रुपन्देही पायक पर्ने बताइन्छ।

राप्ती र भेरीका प्यूठान बाहेकका जिल्लाहरुको जनसंख्या १६ लाख ५७ हजार ८ सय ४८ छ।

यदि भालुवाङ राजधानी भए २ लाख १२ हजार ४ सय ८४ जनसंख्या रहेको प्यूठानको समथर्न दाङलाई नै हुनेछ।

याे पनि: 
ओली–प्रचण्डको निर्देशनमा प्रदेश ५ को नाम लुम्बिनी, राजधानी दाङको भालुवाङ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .