ad ad

राजनीति


राष्ट्रसंघमा पनि भिडे चिनियाँ र अमेरिकी राष्ट्रपति, ट्रम्पले भनेः चीनले विश्वलाई संक्रमित बनायो

राष्ट्रसंघमा पनि भिडे चिनियाँ र अमेरिकी राष्ट्रपति, ट्रम्पले भनेः चीनले विश्वलाई संक्रमित बनायो

नेपालखबर
असोज ७, २०७७ बुधबार ८:१७,

राष्ट्रसंघको ७५ औं स्थापना दिवसको अवसरमा महासभाको आयोजना गरिएको थियो। कोरोना प्रकोपका कारण राष्ट्रसंघको महासभा भर्चुअल सम्मेलन मार्फत आयोजना भएको थियो।

केही समययता विभिन्न विषयमा चीन र अमेरिकाबीचको विवाद चर्को रुपमा बढ्दै गएको छ। यी दुई देश बारम्बार आरोप र प्रत्यारोपमा उत्रिरहेका छन्।

यसबीचमा राष्ट्रसंघको महासभामा समेत अमेरिका र चीनबीच आरोप र प्रत्यारोप भएको हो।

राष्ट्रसंघको महासभामा बोल्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस ‘कोभिड १९’ विश्वभर फैलिनुमा चीन जिम्मेवार रहेको बताएका छन्। भिडियो सन्देशमा ट्रम्पले चीन यस विषयमा जवाफदेही हुनुपर्ने बताए।

ट्रम्पले भिडियोमा भनेका छन्,‘सुरुवाती दिनमा जब कोरोना संक्रमण फैलिरहेको थियो, चीनले घरेलु उडानमा प्रतिबन्ध लगायो तर अन्तर्राष्ट्रिय उडानलाई भने रोकेन। विमानहरु चीन बाहिर उड्दै जाँँदा विश्वभर कोरोनाको प्रकोप फैलियो। मैले चिनियाँ नागरिकमाथि अमेरिकामा भ्रमण प्रतिबन्ध लगाए तर यस विषयमा चीन र डब्लूएचओले नै खण्डन गरे। त्यसबेला चीनले आफ्नो देशमा घरेलु उडानमा प्रतिबन्ध लगाइसकेको थियो।’

ट्रम्पले कोरोना भाइरसको खतराको बारेमा चीनले सूचनाहरु लुकाएको पनि आरोप लगाए।

उनले भनेका छन्,‘चीनले चाहन्थ्यो भने महामारी नियन्त्रण गर्न सक्थ्यो।’ ट्रम्पले यी आरोपहरु पहिल्यै पनि लगाउँदै आएका थिए। आगमी नोभेम्बरमा राष्ट्रपतीय निर्वाचन हुँदैछ। निर्वाचन आउनै लाग्दा ट्रम्प चीनमाथि थप आक्रमक बन्दै गएका छन्।

चीनले के भन्यो?

महासभामा ट्रम्पको भिडियो सम्बोधन सकिनासाथ चिनियाँ राष्ट्रपति सी चिनफिङको भिडियो सम्बोधन देखाइएको थियो।

चिनयाँ राष्ट्रपति सीले सो क्रममा दुई सभ्यताबीचको टकराबले विश्वमा नकरात्मक परिणाम निम्तने चेतावनी दिएका छन्।

सीले अमेरिकासँगको विवादलाई इंगित गर्दै भनेका छन्,‘हामी छलफलमार्फत मतभेद र विवादलाई हल गर्ने काम गरिरहन्छौं। हामी आफूमात्र विकास गरौं भन्ने सोच्दैनौं साथै विवादका कारण युद्धमा जाने हाम्रो मनसाय छैन।’

सी भन्छन्,‘विश्वव्यापी मामिलामा प्रभुत्व जमाउन र अन्य देशको भाग्य निर्धारण र नियन्त्रण गर्ने अधिकार कुनैपनि देशलाई छैन। साथै विकासका अवसरहरु र फाइदाहरु आफैंलाई मात्र होस् भन्ने चाहना कसैले राख्नु हुँदैन।’

शीतयुद्धको खतरा

संयुक्त राष्ट्रसंघको महासभामा सुरुवातमा बोल्दै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले चीन र अमरिकाको नाम नै नलिई विश्वमा नयाँ शीतयुद्ध निम्तनसक्ने खतरा बढेको बताएका थिए।

गुटेरेसले भनेका छन्,‘हामी ज्यादै खराब दिशातर्फ अगाडि बढ्दै गइरहेका छौं। यो विश्वले दुई शक्तिराष्ट्रको टकराबलाई झेल्न तयार छैन। त्यसैले हामीले शीतयुद्धलाई हुन नदिने प्रयास गर्नुपर्दछ।’

फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले पनि अमेरिका र चीनबीचको विवाद अन्तराष्ट्रिय स्थिरताको लागि खतरा भएको बताएका थिए। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .