राजनीति


प्रचण्डको अर्को कदम हेरेर मात्रै माधव नेपालले रणनीति तय गर्ने

प्रचण्डको अर्को कदम हेरेर मात्रै माधव नेपालले रणनीति तय गर्ने

मणि दाहाल
साउन ५, २०७७ सोमबार १६:११,

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भित्री समझदारी भएको हो कि भनेर माधव नेपाल समूह सशंकित छ। त्यसैले सो समूहले अर्को बैठकमा प्रचण्डको प्रस्तुति हेरेर मात्र अबको रणनीति तय गर्ने भएको छ।

ओलीले शनिबार प्रचण्डलाई मंसिरमा पार्टीको महाधिवेसन गरेर उनलाई पार्टीको एकल नेतृत्व हस्तान्तरण गर्न आफू तयार रहेको बताएपछि नेपाल पक्ष झस्किएको हो।

सो प्रस्तावबारे सूचना बाहिरिएलगत्तै नेपालले दुई अध्यक्षबीच मात्रै कुनै सहमति गरिए त्यसविरुद्ध आफूले देशव्यापी अभियान चलाउने चेतावनी दिएका थिए।

नेपालको कडा प्रतिक्रिया आएपछि आइतबार बिहानैदेखि प्रचण्डले नेपाल समूहसँग भेटी छिटो महाधिवेसनको प्रस्ताव ओलीले गरेको तर त्यसमा आफू सहमत भइनसकेको प्रस्ट्याएका थिए।

प्रधानमन्त्री ओलीले ल्याएको प्रस्तावमा पहिले सकारात्मक देखिएका प्रचण्डले आइतबार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी कमिटीका सदस्यहरुलाई आफूले कुनै सम्झौता नगरेको बताएका थिए। तर प्रचण्डको स्पष्टीकरणबाट नेपाल पक्ष अझै आश्वस्त भएको छैन।

‘आगामी बैठकमा अध्यक्ष प्रचण्ड र उनी निकट स्थायी कमिटीका सदस्यहरु कसरी प्रस्तुत हुन्छन्, त्यो हेरेपछि मात्रै वास्तविक अवस्था बुझिने छ,’ नेपालनिकट एक स्थायी कमिटीका सदस्यले भने, ‘प्रधानमन्त्री ओलीसँग कुनै प्रकारको सहमति गरेको वा नगरेको आगामी बैठकमा स्पष्ट हुनेछ।’

लगातार आठौँ पटक स्थगित भएको स्थायी कमिटीको बैठक मंगलबार बस्ने तय भएको छ। तर बाढी पहिरोका आदिको कारण देखाएर स्थगित हुने सम्भावना रहेको ती नेताले बताए।

‘आगामी बैठकपछि नै आगामी दिनमा कसरी जाने भन्ने रणनीति तय हुन्छ। प्रस्ताव के आउँछ त्यसैअनुसार रणनीति तय हुन्छ,’ नेपालनिकट ती नेताले भने।

पूर्वप्रधानमन्त्री नेपालले दुई अध्यक्षले मात्रै सहमति गरेर पार्टी चलाउन खोजे विधि र प्रक्रियाका लागि देशव्यापी अभियान चलाउने शनिबारको बैठकमा बताएका थिए। त्यस्तो अभियानमा उनले पार्टीको मार्ग निर्देशक सिद्धान्त जनताको बहुदलीय जनवाद(जबज)लाई लिएर जाने तयारी गरेका छन्। जसको संकेत उनले आइतबार प्रचण्डलाई पनि दिइसकेका छन्।

खुमलटारमा अध्यक्ष प्रचण्डसँग भएको छलफलमा नेता नेपालले आफू ‘जनताको बहुदलीय जनवादी’ भएको बताएका थिए।

ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नुपर्ने र दुई अध्यक्षले निर्णय गरेर पार्टी सञ्चालन गर्ने प्रचलन अन्त्य गर्नुपर्ने माग नेपाल पक्षले गर्दै आएको छ।

त्यसो त महाधिवेसनको मिति तय गर्ने कुरा पनि दुई अध्यक्षबीचको सहमतिले मात्रै हुन नसक्ने र त्यसका लागि केन्द्रीय कमिटीको बैठक डाकिनुपर्ने नेपाल पक्षको माग छ।

‘दुई अध्यक्षले गरेको सहमतिको आधारमा मात्रै महाधिवेसन तोकिने सम्भावना छैन। विधानले त्यो अधिकार केन्द्रीय कमिटीलाई दिएको छ। माघमा भएको केन्द्रीय कमिटीले चैत २५ देखि ३० गते गर्ने निर्णय गरेको छ,’ स्थायी कमिटीका सदस्य रघुजी पन्तले भने, ‘मंसिरमा गर्ने हो भने पनि केन्द्रीय कमिटीको बैठक बोलाएर मिति तोक्नु पर्ने हुन्छ।’

तर महाधिवेसनअघि नै गर्नुपर्ने संगठित सदस्यता नवीकरण, तल्लो कमिटीहरुको अधिवेसनका लागि मंसिरसम्म समय अपर्याप्त हुने भन्दै छिटो महाधिवेशन गर्ने ओलीको प्रस्ताव वास्तविक नभई विषान्तर गर्ने रणनीति मात्रै भएको नेपाल पक्षको दावी छ।

मंसिरमा महाधिवेसन हुनेमा प्रचण्ड पक्ष पनि आश्वस्त हुन सकेको छैन। तर पनि पार्टी एकतालाई कायम राख्न ओली पक्षसँग सहमति गरेर अघि बढ्नु पर्ने प्रचण्डनिकटका नेताहरुले बताउने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .