राजनीति


बाइस वर्ष कांग्रेसको राजनीति गरे, रास्वपाबाट मोरङ जिल्ला सचिव निर्वाचित भए

बाइस वर्ष कांग्रेसको राजनीति गरे, रास्वपाबाट मोरङ जिल्ला सचिव निर्वाचित भए

रास्वपा मोरङको नवनिर्वाचित जिल्ला सचिव दिवस नेपाल


नेपालखबर
जेठ २६, २०८३ मंगलबार १०:४९, काठमाडौँ

नेपाली कांग्रेस विराटनगर महानगर समितिका तत्कालीन सहसचिव दिवस नेपाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको जिल्ला सचिवमा निर्वाचित भएका छन्।

नेविसंघ र काँग्रेस गरी उनले २२ वर्षसम्म मोरङ जिल्ला तहको राजनीतिमा सक्रिय रहे। २२ वर्षसम्म काँग्रेस राजनीतिमा सक्रिय उनी आफ्नो पार्टीको कार्यशैलीप्रति सन्तुष्ट थिएनन्। हुन पनि उनेपालले ​वि.सं.२०५८/५९ देखि नेपाल विद्यार्थी संघमार्फत राजनीतिक यात्रा सुरु गरे। महेन्द्र मोरङ क्याम्पस, नेविसंघको जिल्ला सहसचिव हुँदै माउ पार्टी काँग्रेसको विराटनगर महानगरपालिका नेतृत्व तहमा पुगेका थिए। यो बीचमा नेपाली राजनीतिमा भएका उतार चढाव उनले नजिकबाट देखे, हेरे।

काँग्रेसको कार्यशैली, जनभावना र दलको प्राथमिकताबीच ठुलो खाडल रहेको उनले देखे। नेताहरूले मञ्चमा चढेर सधैँ झुट बोल्नुपर्ने परिस्थिति बनेपछि उनी पदमै छँदा पनि पार्टी गतिविधि र बैठकबाट भाग्न थालेका थिए।

​काँग्रेसको विरासत छाडेर वैकल्पिक राजनीति रोज्नुमा 'जेनजी आन्दोलन'मुख्य प्रस्थान बिन्दु बनेको उनी बताउँछन्। आन्दोलनका क्रममा बालबालिकाको मृत्यु भएपछि विचलित हुँदै उनले सोही दिन सामाजिक सञ्जालमार्फत काँग्रेसको पद र साधारण सदस्यता परित्यागको घोषणा गरेका लेखेका थिए।

​रवि लामिछानेको राजनीतिक त्याग र काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) को एक्सन ओरिएन्टेड कार्यशैलीका कारण आफू रास्वपामा आकर्षित भएको उनी बताउँछन्।

कांग्रेसका स्थानीय नेताहरू उनलाई 'अवसरवादी' भन्छन्। नेपालखबरसँग कुरा गर्दै नेपालले त्यसको कडा प्रतिवाद गरे। आफूले कुनै पद वा  संसदीय टिकटको बार्गेनिङ नगरेको, बरु निर्वाचनको चुनौतीपूर्ण समयमा रास्वपाको मोरङ, सुनसरी, धनकुटा र इलामसम्म पुगेर सङ्गठन निर्माणमा खटिएको उनको भनाइ छ।

जमेर बसेको पोखरी गन्हाउने भन्दै पार्टीलाई चञ्चल बग्ने खोला बनाउन आफू लोकतान्त्रिक विधि र जिल्ला अधिवेशनमार्फत मत पाएर सचिव निर्वाचित भएको उनको जिकिर छ।

​राजनीतिक रूपान्तरणसँगै नेता नेपालको व्यावसायिक र सामाजिक आयाम पनि बलियो देखिन्छ। विभिन्न औद्योगिक प्रतिष्ठानहरूमा वरिष्ठ व्यवस्थापकीय अनुभव सँगालेका उनी हाल होटल व्यवसायी हुन्। उनी मोरङ जिल्ला तेक्वान्दो सङ्घ र लायन्स क्रिकेट एकेडेमीको अध्यक्षसमेत हुन्। दुर्गा चोकमा उनले क्रिकेट एकेडेमीमार्फत हाल २० देखि २५ प्रतिशत आर्थिक रूपमा विपन्न तर प्रतिभावान् बालबालिकाहरूलाई निःशुल्क छात्रवृत्तिमा प्रशिक्षण दिइँदै आएको छन्।

रास्वपा मोरङको प्रथम अधिवेशनबाट जिल्ला सभापतिमा भरत कँडेल निर्वाचित भएका छन्। उपसभापतिमा विमला बस्नेत निर्विरोध हुँदा सचिवमा दिवस नेपाल विजयी भए। ९५ मत प्राप्त गर्दै नेपाल सचिवमा विजयी हुँदा सचिवका अर्का उम्मेदवार कुमार खुलालले ८५ र इन्जिनियर सुरेश श्रेष्ठले ८१ मत प्राप्त गरेका थिए। सहसचिवमा सिर्जना गिरी आचार्य निर्वाचित भएकी छन् ।

जिल्ला समिति सदस्यमा भावना बस्नेत श्रेष्ठ, ओमकुमार श्रेष्ठ र लक्ष्मी श्रेष्ठ, परमेश्वर शाह निर्वाचित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad