नेकपा (एमाले) का मुख्य सचेतक ऐनबहादुर महरले युवा अवस्था केवल उमेर समूह मात्र नभएर विचार, अनुशासन र दृष्टिकोणको सङ्गम भएको बताएका छन्।
राजनीतिक गतिविधिहरूमा युवा पुस्ताको न्यून उपस्थितिलाई लिएर उनले गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए। आइतबार मदन–आश्रित स्मृति सभालाई सम्बोधन गर्दै उनले ‘जनताको बहुदलीय जनवाद’ (जबज) ले परिकल्पना गरेको युवा उमेर र विचारको फ्युजन भएको उल्लेख गरे।
पछिल्लो समय पार्टीका कार्यक्रम र आन्दोलनहरूमा युवा सहभागिताको खाडल बढ्दै गएकोमा उनले चिन्ता व्यक्त गरे। महरले राजनीतिक दल र नेताहरूले नयाँ पुस्तासँग ‘कनेक्सन’ (सम्बन्ध) र ‘कम्युनिकेसन’ (सञ्चार) गर्न नसकेको स्वीकार गरे।
महरले भने, ‘युवा भनेको उमेर मात्र होइन, यो एउटा विचार, अनुशासन र परिवर्तनप्रतिको समर्पण पनि हो। यदि कोही युवा छ तर निष्क्रिय भएर अरूबाट मात्र अपेक्षा गर्छ भने, त्यसलाई वास्तविक युवा मान्न सकिँदैन। हाम्रा कार्यक्रमहरूमा ९० प्रतिशतभन्दा बढी सहभागीहरू ४० वर्ष माथिका देखिन्छन्। नयाँ पुस्ता अर्थात ‘जेन–जी’ को उपस्थिति नदेखिनुमा हाम्रा कमी–कमजोरीहरू कहाँ रहे, त्यसको तथ्यपूर्ण खोजी हुनुपर्छ। हामीले केवल कुराले मनाउने (कन्भिन्सिङ) कोसिस मात्र गर्यौँ, तर वास्तविक सम्बन्ध स्थापित गर्न सकेनौँ।’
नेता तथा कार्यकर्ताहरूले आफ्नै परिवार र आफन्तलाई राजनीतिबाट टाढा राख्ने प्रवृत्तिले पनि युवा सहभागितामा ह्रास आएको उनको तर्क छ।
मुख्य सचेतक महरले युवाहरूलाई राजनीतिमा आकर्षित गर्न र आन्दोलनसँग जोड्नका लागि पार्टीले आफ्नो कार्यशैली र सञ्चार पद्धतिमा सुधार गर्नुपर्नेमा जोड दिएका छन्।
Shares

प्रतिक्रिया